जनतामा व्यापक असन्तोष र निराशा छ, संसारका कैयौँ देशहरूमा त्यस प्रकारको वातावरणबाट फाइदा उठाएर प्रतिक्रियावादी शक्तिहरू सत्तामा आउने गरेका छन्। त्यही प्र्रकारको पृष्ठभूमिमा जर्मनीमा हिटलर र इटालीमा मुसोलिनीका फासिस्ट शासनहरू कायम भएका थिए। संसारका धेरै देशहरूमा त्यस्तो हुने गरेको छ, फ्रान्समा पनि गणतन्त्र पक्षधर राजनीति शक्तिहरूका गलत नीति र क्रियाकलापहरूका कारणले जनतामा उत्पन्न भएको असन्तोषबाट फाइदा उठाएर बारम्बार गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना हुने गरेको थियो, यद्यपि अन्त्यमा त्यहाँ गणतन्त्रको नै विजय भयो।
नेपालमा पनि २०१५ सालपछिको जनताको ने.का. सरकारप्रतिको असन्तोषबाट फाइदा उठाएर राजाको निरंकुश शासन र पञ्चायती तानाशाही व्यवस्था कायम भएको थियो। २०४६ सालपछि पनि त्यो बेला सत्तामा आएका बहुदल पक्षीय सरकारहरूको गलत नीति र क्रियाकलापहरूका कारण जनतामा उत्पन्न असन्तोषबाट फाइदा उठाएर निरंकुश राजतन्त्र कायम गरिएको थियो।
गणतन्त्र पक्षधर सरकारहरूका गलत नीति र क्रियाकलापहरूका कारणले पनि जनतामा धेरै नै असन्तोष र निराशा उत्पन्न भएको छ । विभिन्न प्रतिक्रियावादी शक्तिहरूले गणतान्त्रिक प्रणाली नै गलत भएको सावित गरेर देशलाई प्रतिगमनतिर लैजानका लागि योजनाबद्ध र संगठित रूपले प्रयत्न गरिरहेका छन्।
आज देशमा जुन गम्भीर स्थिति देखापरेको छ, त्यसको समाधान प्रतिगमन नभएर अग्रगमन नै हो र हामीले त्यसको लागि नै आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्छ। त्यही नै दीर्घकालीन रूपमा देश र जनताको हितमा हुनेछ। अहिले देशमा जुन विभिन्न आन्दोलन चलिरहेका छन् वा निकट भविष्यमा नै कैयौँ आन्दोलनहरू अगाडि उठ्ने कुराहरू आइरहेको छ, कथित स्वतन्त्र पार्टीले सरकारले उनीहरूका नेतालाई पूर्वाग्रह र राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरेको भनेर आन्दोलन गरिरहेको छ। आज वास्तवमा सहकारी संस्थाहरूमा जनताले जम्मा गरेको अर्बाैं रकमको अपचलन वा ठगी हुने गरेको छ। पहिले पनि त्यसप्रकारका धेरै घटनाहरू घटेका थिए र अहिले पनि त्यसप्रकारका नयाँ नयाँ घटनाहरू घटेका समाचारहरू सञ्चार माध्यमहरूले बाहिर ल्याइरहेका छन्।
अहिले सहकारी रकमको अपचलनसम्बन्धी मुद्दामा ‘स्वतन्त्र पार्टी’का नेतामाथि गरिएको कारबाहीलाई पनि हामीले सही ठान्दछौँ र त्यसलाई समर्थन गर्दछौँ । त्यसबारे उनी दोषी भएको वा नभएको कुरा पछि अदालतले गर्ने निर्णयबाट थाहा हुनेछ, तर अहिले त्यस प्रकारको कारबाही वा पुर्पक्षका लागि आधार भएको कुरामा कुनै शंका छैन। त्यही पनि कसैका विरुद्ध चलेका त्यस्ता मुद्दामा बिना कुनै पूर्वाग्रह निष्पक्षतापूर्वक छानविन र कारवाही हुनुुपर्छ भन्ने हाम्रो दृढ मत रहेको छ। निश्चय नै, सहकारी रकमको अपचलनसम्बन्धी कयाँै मुद्दाहरूमा अहिलेसम्म कुनै कारबाही नभएको कुराप्रति हाम्रो ध्यान छ र बिनाकुनै पूर्वाग्रह वा पक्षपात त्यस प्रकारका सबै मुद्दाहरूमा छानबिन गरी आवश्यकताअनुसार कारबाही हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मत रहेको छ तर त्यस प्रकारका कुनै मुद्दामा अहिलेसम्म कुनै कारबाही नगरेको कारणले ‘स्वतन्त्र पार्टी’का नेतामाथि कुनै कारबाही चलाउनु हुन्न भन्ने सोचाइलाई हाम्रो पार्टीले गलत मान्दछ र त्यसका लागि उनीहरूले चलाइरहेको आन्दोलनलाई पनि गलत मान्दछ ।
राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाको पक्षमा र धर्मनिरपक्षताको विरुद्ध छिट्टै देशव्यापी आन्दोलन गर्ने कुरा गरेका छन् । देशमा अहिले जनतामा उत्पन्न असन्तोष वा निराशाबाट फाइदा उठाएर उनीहरूले देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न गर्न थालेका छन् । देशमा नेपाली जनताले करिब ढाईसय वर्षको राजतन्त्र र करिब तीन दशक पञ्चायती शासन भोगिसकेका छन् । करिब एक शताब्दीको निरंकुश राणा शासन पनि जनताले भोगेका छन् । त्यो कालमा जनताले भोग्नुपरेका सबै प्रकारको दमन, कुशासन, राष्ट्रिय सम्पत्तिको लुट, महिलाहरू माथिका बलात्कार र हत्या, आदि कुनै लुकेका कुरा होइनन् । त्यस प्रकारको स्वर्गीय जीवन गुमेको हुनाले नै पुराना शासक वर्गले देशमा पुनः राजतन्त्रको स्थापना गर्न चाहन्छन् र त्यसका लागि उनीहरूले हिन्दू धर्मलाई हतियार बनाउँदै छन् । त्यसप्रकारको प्रतिगामी खतराको विरुद्ध जनतामा उच्च प्रकारको सतर्कता र आन्दोलन उठाउनुपर्ने आवश्यकता छ ।
देशमा गणतन्त्रको स्थापना भएपछि सत्तामा आएका विभिन्न राजनीतिक पार्टीहरूले अपनाएका गलत नीति, क्रियाकलाप, कुशासन वा भ्रष्टाचार आदिप्रति हाम्रो पार्टीको ध्यान छ । तर, त्यसको कारणले देशलाई पुनः मध्ययुगीन राजतन्त्र वा निरंकुश शासनतिर लैजानु र त्यसरी देशलाई प्रतिगमनको बाटोमा लैजानु समस्याको सही समाधान होेइन र त्यसबाट देश र जनताको कुनै हित नहुने कुरा निश्चित छ, त्यसैले देश र जनताका समस्याहरूको समाधानका लागि देशलाई अग्रगमनको दिशामा लैजान नै प्रयत्न गर्नुपर्छ र देशलाई प्रतिगामीदिशामा लैजाने प्रयत्नका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन प्रकारले संघर्ष गर्नुपर्छ ।
प्रचण्डले उनीहरूले भ्रष्टाचारका विरुद्ध कारबाही गर्न थालेको हुनाले नै उनीहरूको सरकारलाई अपदस्थ गरेको दाबी गरिरहेका छन्, तर उनीहरूको त्यो दाबीमा कुनै औचित्यता छैन । उनले सधैँ गर्वपूर्वक ‘क्रमभंगता’मा जोड दिने गरेका छन् । त्यसलाई उनले आफ्नो कार्यशैलीमा गतिशीलता भएको पनि बताउने गरेका छन्, तर त्यो उनको हददर्जाको अवसरवादी प्रवृत्ति हो । उनको सम्पूर्ण राजनीतिक लाइन, व्यवहार वा कार्यशैली त्यही अवसरवादी प्रवृत्तिद्वारा निर्देशित हुने गरेको छ ।
देशमा प्रतिगमनको खतरा बढेपछि र ओलीका तर्फबाट पनि त्यसप्रकारको खतरा देखा परेपछि प्रतिगमनका विरुद्ध भएका शक्तिहरूको गठबन्धन बनेको थियो । त्यो गठबन्धनले प्रतिगमनका विरुद्ध संघर्षमा महत्वपूर्ण सफलताहरू पनि प्राप्त गरेको थियो, तर प्रचण्डको अवसरवादी, सिद्धान्तहीन, अराजनीतिक र हददर्जाको महत्वाकांक्षाको प्रवृत्तिको कारणले प्रतिगमनका विरुद्ध बनेको त्यो गठबन्धन कायम रहन सकेन । त्यो क्रममा उनी जुन एमालेका विरुद्ध संघर्षका लागि गठबन्धन बनेको थियो, त्यसका विरुद्ध गएर एमालेसित समेत गठबन्धन गर्न पुगेका थिए । प्रचण्डले जुन प्रकारको चालबाजी गरेर गठबन्धनमा हेराफेरी गर्ने काम गरे, ओलीले पनि त्यही तरिका अपनाएर प्रचण्डको नेतृत्वको सरकारलाई अपदस्थ बनाइदिएका हुन् ।त्यस प्रकारको पृष्ठभूमिमा उनीहरूले भ्रष्टचारका विरुद्ध कदम चाल्न थालेको हुनाले नै उनीहरूको सरकारलाई अपदस्थ गराइएको भन्ने प्रचण्डको दाबीमा कुनै औचित्यता नभएको कुरा छर्लंग छ । एमाले र कांग्रेसका बीचमा गठबन्धन भएर प्रचण्डको सरकारलाई अपदस्थ गर्ने पहल सुरु भएपछि नै प्रचण्ड सरकारले आनो सरकार अपदस्थ भएको अवस्थामा आफ्नो औचित्यताको प्रदर्शन गर्न छिटोछिटो भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा पहल गर्न थालेका थिए । त्यो सन्दर्भमा उनले ‘स्वतन्त्र पार्टी’ का नेताका विरुद्ध संसद्मा सहकारी रकमको अपचलनसम्बन्धी आरोप आउँदा प्रधानमन्त्रीको हैसियतले नै पूरै निर्दोष भएको जुन स्पष्टीकरण दिएका थिए, त्यसले पनि उनको अत्यन्त निम्नस्तरको कार्यशैलीलाई नै बताउँछ ।
त्यो क्रममा र पछि पनि ‘स्वतन्त्र पार्टी’ सित जुन प्रकारको उनको गठबन्धन भयो, त्यसले गर्दा माओवादीहरूको राजनीतिक इतिहासको धेरै नै अवमूल्यन पनि हुन गएको छ । हामीलाई यो देखेर आश्चर्य र दुःख पनि लाग्छ कि लामो क्रान्तिकारी पृष्ठभूमि भएको माओवादीले प्रचण्डको त्यस प्रकारको सम्पूर्ण कार्यशैलीलाई कसरी पचाउन सकेको छ ? प्रचण्डको त्यस प्रकारको सिद्धान्तहीन अराजनीतिक कार्यशैलीका पृष्ठभूमिमा विचार गर्दा अहिले उनीहरूले गर्न थालिरहेको आन्दोलनको कुनै अर्थ र औचित्यता नभएको कुरा प्रष्ट छ ।
ओलि आफ्नो अधिनायकवादी, स्वेच्छाचारी र भ्रष्ट नीति र क्रियाकलापहरूका लागि पहिलदेखि नै बदनाम व्यक्ति हुन् । गणतन्त्र र धर्मनिरपेक्षताप्रति पनि उनको विवादास्पद दृष्टिकोण रहेको छ । गणतन्त्रको आन्दोलनको सन्दर्भमा उनले अगाडि सारेको बयलगाडाको अवधारणा आमरूपमा थाहा भएको कुरा हो । प्यालेस्टाइनको पक्षमा उनले अपनाएको तटस्थ नीतिबाट पनि उनको परराष्ट्र नीति झन् पछि झन् गलत हुँदै गएको कुरामा कुनै शंका रहन्न । संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनसम्बन्धी प्रश्नमा वर्तमान सरकारले अपनाएको नीति पूरै भारतपरस्त नीति हो ।विद्युत् महसुलको प्रश्नमा उनले लिएको अडानले पनि उनको पूरै भ्रष्ट चरित्रलाई नै बताउँछ । एमालेको पार्टी कार्यालयको निर्माणका लागि अगाडि आएको जग्गासम्बन्धी विवाद पनि उनको भ्रष्ट चरित्रको एउटा ज्वलन्त नमुना हो । त्यसरी गिरिबन्धु टि–स्टेटदेखि अहिलेसम्मको उनको चरित्रको मूल्यांकन गर्ने हो भने उनको चरित्र पूरै भ्रष्ट भएको कुरामा कुनै शंका रहन्न ।
‘स्वतन्त्र पार्टी’का विरुद्ध अहिले सरकारले गरेको कारबाही सही छ र, त्यसैले, हामीले त्यसलाई समर्थन गरेका छौँ । तर त्यो पार्टीका नेता नागरिकता वा राजनीतिक प्रकरणमा दोषी भएको कुरामा पनि ओलीले उनलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनेसम्म काम गरेका थिए र संसद्मा उनका विरुद्ध सहकारी अपचलनको कुरा उठ्दा त्यो विषयलाई दबाउने प्रयत्न गरेका थिए । पछि त्यससितको सम्बन्ध बिग्रेपछि नै उनका विरुद्ध मुद्दा चलाउने कार्य गरेका छन् । त्यसैले त्यो कारबाही प्रतिशोध र पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ, तैपनि राजनीतिमा निर्णयात्मक महत्वको कुरा नियत होइन, परिणाम नै हुन्छ ।
त्यसैले स्वतन्त्र पार्टीका नेताका विरुद्ध गलत नियतले कारबाही चलाइएको भए पनि त्यो कार्य सही र न्यायपूर्ण छ र, त्यसैले, हामीले त्यसलाई समर्थन गरेका छौँ । सरकारको त्यसप्रकारको गलत कार्यप्रणालीका कारणले देशमा सुव्यवस्था कायम हुने वा दिगो विकास हुने सम्भावना छैन, त्यसैले वर्तमान सरकारका त्यस प्रकारका नीति र क्रियाकलापहरूका विरुद्ध जनचेतना उठाउन र आन्दोलन संगठित गर्न हामीले लगातार जोड दिनुपर्ने आवश्यकता छ ।
अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ र त्यो खतरा बढ्दै गइरहेको छ । त्यसैले प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूको त्यसका विरुद्ध गठबन्धन हुनुपर्ने आवश्यकता छ । तर, स्वयं गणतन्त्रको पक्षमा भएका विभिन्न राजनीतिक शक्तिहरूका अवसरवादी र गलत नीतिका कारणले प्रतिगमनलाई एक वा अर्को प्रकारले बल पुग्ने गरेको छ । देशमा गणतन्त्र वा धर्मनिरपेक्षता ल्याउनका लागि एमालेको पनि महत्वपूर्ण भूमिका रहेको थियो । त्यसबारे ओलीको सुरुदेखि नै ढुलमुल दृष्टिकोण रहेको कुरा हामीले पहिले नै स्पष्ट गरिसकेका छौँ । गिरिजाको नेतृत्वमा नेकांको पनि गणतन्त्र र धर्मनिरपक्षेताको पक्षमा महत्वपूर्ण भूमिका रहेको थियो तर अहिले नेकाको एउटा ठुलो पंक्ति राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्रको पक्षमा उभिएको छ ।
माओवादीले कथित जनयुद्धको कालमा राजापरस्त नीति अपनाएको थियो तर चुनबाङ बैठकमा त्यसले आफ्नो त्यो नीतिमा सुधार ग¥यो र त्यसपछि देशमा गणतन्त्र र धर्मनिरपेक्षताको पक्षको आन्दोलनमा त्यसको पनि महत्वपूर्ण भूमिका रह्यो । सामान्यतः त्यसको त्यो नीति अहिले पनि कायम छ भन्न सकिन्छ । तर त्यसको सिद्धान्तहीन र अराजनीतिक कार्यशैली वा ढुलमुल अवसरवादी र चरम प्रकारको महवाकांक्षी प्रवृत्तिका कारणले प्रतिगमनका विरुद्धको गठबन्धनमा त्यसले गम्भीर प्रकारको क्षति पु¥याउने गरेको छ । त्यसबाट अलग भएर बनेको अहिलेको क्रान्तिकारी कम्युनिस्ट समूहमा पहिलेको राजापरस्त लाइनको अवशेष अहिले पनि पाइन्छ । त्यसैले अहिले पनि उनीहरूले प्रतिगमन वा राजावादी खतरा वा गणतन्त्रबारे सही दृष्टिकोण अपनाउन सकेका छैनन् ।
देशका अन्य कतिपय वामपन्थी समूहमा पनि राजावादी खतरा, प्रतिगमनमा गणतन्त्रबारे सही दृष्टिकोणको कमी पाइन्छ । यी सबै कारणले आज देशमा राजावादी खतरा वा प्रतिगमनका विरुद्ध बलियो प्रकारको गठबन्धनको निर्माण गर्न वा आन्दोलन उठाउन बाधा पुगिरहेको छ । गणतन्त्र र धर्मनिरपक्षेताको पक्षमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक शक्तिहरूमा अझै पनि त्यसप्रकारका सोचाइहरू बलियो रूपमा विद्यमान छन् भन्ने हाम्रो विश्वास छ । ती सबै सम्भावना वा आधारहरूलाई अधिकतम रूपमा उपयोग गर्दैै वा तिनीहरूसित सामञ्जस्यता कायम गर्दै जनताको आन्दोलनद्वारा प्राप्त उपलब्धिहरूको रक्षा तथा प्रतिगमनका विरुद्धको संघर्षलाई बढीभन्दा बढी सशक्त प्रकारले अगाडि बढाउने हाम्रो प्रयत्न हुनेछ ।
जनताका समस्याहरूको सामाधान र देशको दिगो विकास अहिलेको मुख्य चुनौती हो । राणशासन वा प्रञ्चायति शासनको अन्त्यपछि देशको कुनै विकास भएको छैन, भन्ने सोचाइ गलत हो । त्यस प्रकारको सोचाइका पछाडि देशलाई पुनः पञ्चायती शासन, तानाशाही शासन वा राजतन्त्रतिर लैजानुपर्छ भन्ने सोचाइले नै काम गरेको छ । अहिले देशमा धेरै नै भ्रष्टाचार भएको कुरा सत्य हो तर राजतन्त्रअन्तर्गत राष्ट्रिय सम्पत्तिको लुट र राष्ट्रिय सम्पत्तिमा राजा र राजपरिवारको वर्चश्व कैयौँ गुणा बढी थियो । राजतन्त्रअन्तर्गत ठुलो संख्यामा जनतामाथिको दमन, पोखराको कुप्रशिद्ध महिला बलात्कार र हत्याजस्ता काण्डहरू, देशव्यापी रूपमा चलेको मण्डले गुण्डातन्त्र तथा नारायणहिटीको दरबार हत्याकाण्डजस्ता घटनाहरूबाट राजतन्त्रअन्तर्गत देशको अवस्था कति धेरै नारकीय हुन्छ भन्ने कुरामा कुनै शंका रहन्न ।