इजरायलले संयुक्त राज्य अमेरिकाको बलमा इरानमाथि हमला गरेको एक हप्ता भएको छ । यसबीच दुबै देशका बीच घमासान युद्ध भइरहेको छ । दुबैै देशले आफूसँग भएका अत्याधुनिक हतियारहरू प्रयोग गरिरहेका छन् । युद्धले दुबैैतर्फ व्यापक क्षति भएको स्थिति छ । इरानको आणविक अनुसन्धान केन्द्रमा हमला गर्ने भन्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वतर्फ हतियार, बम वर्षक विमान र पाताल भेद्ने बम (बंकर ब्रस्टर बम) पठाएको खबर सञ्चार माध्यमहरूमा आइरहेको छ । डोनाल्ड ट्रम्पले सञ्चार माध्यममा दिएको “अमेरिका इजरायल इरान युद्धमा प्रत्यक्ष संलग्न हुन सक्छ, नहुन पनि सक्छ ।”, “इरानमा सत्ता परिवर्तन”, र “इरानले आत्मसमर्पण गरोस्” भन्ने अभिव्यक्तिले युद्धको आगोमा घिउ थपिएको छ ।
युक्रेन युद्ध चलिरहेको छ । इजरायलले प्यालेस्टाइनमा नर संहार जारी राखेको छ । यस्तो विषम परिस्थितिमा संयुक्त राज्य अमेरिकाको इजरायल इरान युद्धमा प्रत्यक्ष संलग्नता विश्व शान्तिका लागि ठूलो खतरा हुनेछ । हुनत, हतियार, मिसाइल, फाइटर जेट विमानहरू, विध्वंषक बमहरू तथा आणविक हतियार निर्माण गर्नेहरूले युद्धको मनशाय राखेकै हुन्छन् । देशको रक्षाकालागि भन्दै विध्वंसक हतियार र युद्ध सामग्री उत्पादन गर्ने, अनि त्यही बेचेर पैसा कमाउन पल्केका साम्राज्यवादीहरू सधै युद्धको पक्षमा हुन्छन् । शक्तिशाली देशहरूले आफूभन्दा कमजोर सम्झेका देशहरूमाथि केही न केही निहुँ बनाएर आक्रमण गर्छन् र ध्वंस गर्छन् ।
विश्वका आम जनता युद्ध होइन, शान्ति चाहन्छन् । तर साम्राज्यवादीहरू आफैले निमार्ण गरेको संयुक्त राष्ट्र संघको चार्टर विरूद्ध र मानवअधिकार सम्बन्धि घोषणापत्र विरुद्ध सर्ब साधारण जनताको ज्यू–ज्यान, आवास र सम्पत्तिमाथि क्रुरता पूर्वक आक्रमण गर्दछन् । गाजामा इजरायलले खानाको लागि एकत्रित आम जनतामाथि समेत क्रुरतापूर्वक आक्रमण गरेर मानवता विरूद्ध अपराध गरेको छ । इरानलाई आणविक शक्ति सम्पन्न देश बन्न दिनुहुँदैन भन्ने कुरा इजरायल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहोराइरहेका छन् । विश्वका आम जनतालाई सोध तिमी के चाहन्छौ ? जनताले भन्नेछन् हामी त विश्वमा युद्ध नहोस्, शान्ति होस् भन्ने चाहन्छौँ । महाशक्ति राष्ट्रहरूले निर्माण गरेको आणविक शक्तिलाई विकासकालागि प्रयोग गरुन भन्ने चाहन्छौँ । अहिले वाङ्डुङ सम्मेलन र असंलग्न आन्दोलन सक्रिय देखिएको छैन । नेपालले अहिले पनि असंलग्न प्रराष्ट्र नीति अपनाइरहेको छ, औपचारिक रूपमा । तर, व्यवहारमा लागु गरिरहेको छैन । वास्तवमा नेपाल र नेपाल जस्तै अल्प विकसित तथा विकाशोन्मुख देशहरूकालागि पञ्चशिलमा आधारित असंलग्न परराष्ट्र नीति नै ठिक छ ।
इजरायलले इरानमाथि आक्रमण गर्ने प्रमुख कारण बताइरहेको “इरान आणविक शक्ति सम्पन्न देश बन्नु हुँदैन” भन्ने कुरा सुन्दा अचम्म लाग्छ । आफूमात्र आणविक शक्ति सम्पन्न हुनुपर्ने र अरु देशहरू आणविक शक्ति सम्पन्न बन्नु हुँदैन भन्नु कत्तिको न्याय संगत हो ? के यत्ति कै आधारमा एक सार्र्वभौमसत्ता सम्पन्न देशमाथि आक्रमण गर्न मिल्छ ? अवश्य पनि मिल्दैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको सत्ता परिवर्तनको कुरा गर्दैछन् । एउटा सार्वभौम सत्ता सम्पन्न देशका आन्तरिक मामलामा यो ठाडो हस्तक्षेप भएन र ? सत्तामा कस्लाई राख्ने, कसलाई नराख्ने भन्ने विषय इरानी जनताले मतदानमार्फत् गर्ने निर्णय होइन र ?
मानवअधिकारको कुरा गरेर नथाक्नेहरू सार्वभौम सत्ता सम्पन्न देशहरूमाथि कडा कडा प्रतिवन्ध तथा नाकाबन्दीहरू लगाउँछन् । अमुक देश प्रवेशमा प्रतिबन्ध लगाउँछन् । विभिन्न देशले बैंकमा राखेको रकमसहित बैंक खाता फ्रिज गरिदिन्छन् । अनि त्यही रकम उसैको विरुद्धको युद्धमा प्रयोग गर्दछन् । अनुमति बिना अर्काको देशमा घुसेर हत्या, हिंसा र बिष्फोट गराउँछन् र अन्त्यमा हामी त आतंककारीलाई खतम गर्न यसो गर्यौं भनेर डंका पिट्छन् । दलाल पूँजिवादी र साम्राज्यवादीहरू प्रायोजित समाचार लेखाउँछन् । जनतालाई सत्य समाचार झुठ जस्तो लाग्ने, महाँझुठ सत्य जस्तो लाग्ने दुविधायुक्त मनस्थितिमा पुर्याउछन् । स्वतन्त्र र निश्पक्ष पत्रकारीतामाथि नै संकट उत्पन्न गर्दछन् ।
युद्धले कुनै पनि देश र त्यो देशका जनतालाई हानी मात्र गर्दछ । विश्वमा १ अरब भन्दाबढी जनता भोखमरीबाट पीडित छन् । तर, विश्व सामरिक शक्ति बढाउन व्यस्त छ । जनताको मानवअधिकारः खाना, आवास, शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा यिनीहरूलाई पटक्कै चिन्ता देखिदैन । अब फेरी चर्चा गरौँ, इजरायल इरान युद्ध र त्यसमा संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष प्रवेशको। यदी संयुक्त राज्य अमेरिका इजरायलको पक्षबाट इरानमाथि आक्रमणमा प्रत्यक्ष रूपमा संलग्नभयो भने नाटो समर्थक देशहरू त्यही बाटो पछ्याउन सक्छन् । विश्व इजरायल र इरानको पक्षमा विभाजित हुन सक्छ र विश्व युद्ध हुनसक्छ । वार्ता र सहमतिबाट युद्धको अन्त्य नै शान्तिको मार्ग हो ।
संयुक्त राज्य अमेरिकाको बुद्धि फिर्ला ? संयुक्त राष्ट्र संघले तत्काल युद्ध विराम गरेर युद्ध रोक्नका लागि गरेको आह्वान इजरायल, अमेरिका र इरानले सुन्लान् ? अमेरिकी जनता अमेरिकी राष्ट्रपतिको इजरायलको तर्फबाट प्रत्यक्ष युद्ध लड्ने निर्णयबाट खुशि छन् ? अनि यो युद्ध विश्व युद्धमा परिणत भयो भने आणविक हतियारको प्रयोग हुँदैन भन्ने ग्यारेन्टि छ त ? संयुक्त राज्य अमेरिका युद्धमा प्रत्यक्ष संलग्न हुने अवस्थाबाट विश्वमा प्रतिकुल प्रभाव त पर्छ नै, विश्व युद्धभयो भने पृथ्वी मातामाथि नै संकट बढ्नेछ । संयुक्त राज्य अमेरिकालाई यो युद्धले फाइदा गर्ला ? अवश्य गर्दैन । यसले उसको प्रभाव, प्रभुत्व र लोकप्रियता बढ्दैन, बरू घट्न सक्छ । विश्वमा दलाल पूँजिवाद, साम्राज्यवाद र नव उपनिवेशवादको शक्ति अब बढ्ने होइन, घढ्नेछ । सुरक्षा क्षेत्रमा लगानीको हिसाबले जति शक्तिशाली भएपनि जन समर्थन भएन भने सामरिक शक्तिले मात्र काम लाग्दैन । विश्व युद्धभयो भने विश्वको शक्ति सन्तुलन यही अवस्थामा रहन्न । मध्यपूर्वको युद्ध विश्व युद्ध नबनोस् । आम जनता युद्ध होइन, शान्ति चाहन्छन् ।