नेपालको संविधानको रक्षा, कार्यान्वयन, समानुपातिक समावेशी, आरक्षण, राजनीति, आर्थिक, साँस्कृतिक-सामाजिक तथा नीति निर्माणका एजेन्डा एवं मुद्दाहरू सशक्त रूपमा अझैँ राजनीतिक दलले उठाउन सकेको देखिदैन। उत्पीडित दलित तथा सीमान्तकृत समुदायको मुक्तिका एकीकृत आन्दोलन आवश्यक रहेको विषयक थप बुलन्द गर्नु आवश्यक छ।
सबैले दलितका हक अधिकार सुनिश्चित गर्न बोलौ, लेखौ र संघर्ष गरौँ भन्ने विषय साझा सहमति गर्नुपर्दछ। संघीय सरकार, प्रदेश र स्थानीय तहले दलितका हक अधिकार सुनिश्चित गर्न नसकेको र समयमा नै दलितमैत्री ऐन, कानून निर्माण नगरेको हुदा आगामी दिनको दलितमैत्री ऐन, कानून बनाउन आ-आफ्नो ठाउँवाट लाग्ने र दलितका मुद्दामा सबै दलितहरू एकजुट भएर लाग्ने प्रतिवद्दता जाहेर गर्नु पर्दछ।
संविधानको धारा २४, ३८, ४० र ७६ (९) अनुसार मन्त्री परिषद्मा संघीय संसद्का सदस्य मध्येबाट समावेशी सिद्धान्त बमोजिम मन्त्री रहने उल्लेख छ। धारा ४२ (१) अनुसार सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था छ। नेपालको संविधान २०७२ अनुसार राज्यको मुलप्रवाहमा महिला, दलित, जनजाति, मधेसी, मुस्लिम तथा सीमान्तकृत समुदायको हकअधिकार र प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसैले नेपालको संविधान कार्यान्वयन गर्दै दलित आन्दोलनलाई एकीकृत र साझा बनाउनु अति आवश्यक छ।
नेपाल दलित मुक्ति संगठनका राष्ट्रिय अध्यक्ष कमरेड गणेश विश्वकर्माको नेतृत्वमा हामीले १ जना दलितलाई पदाधिकारीको कोटा अनिवार्य गर्न पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपाल, महासचिव कमरेड घनश्याम भुसाललगायतका नेताहरूसंग लामो बहश र छलफल पश्चात् नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनवाट पारित पार्टीको विधानमा केन्द्रीय सचिव १ जना दलित अनिवार्य राख्ने व्यवस्था गरेका छौँ।
सोही नीतिअनुसार हाल संगठनका अध्यक्ष कमरेड गणेश विश्वकर्मा सचिवमा निर्वाचित हुनु भएको छ। त्यस्तै नेपाली काँग्रेसको विधानमा पनि सहमहामन्त्री १ जना दलित रहने व्यवस्था गरिएको छ भने अरू राजनीतिक दलको विधानमा यस्तो व्यवस्था गरिएको छैन। नेपालको जनगणना २०७८अनुसार दलितको जनसंख्या १४ प्रतिशत रहेको छ। सोहीअनुसार अब राज्यको र राजनीतिक दलको प्रमुख पदहरूमा आरक्षणको नीति लागू गर्नु आवश्यक छ। सवै भन्दा पछाडि पारिएको महिला, दलित, जनजाति, मधेसी, यूवा तथा आर्थिक रूपले विपन्न समुदायको पक्षमा नीति निर्माण गर्दै समाजवादको यात्रामा अघि वढ्न सवैमा हार्दिक अपिल गर्दछु।
लेखक विश्वकर्मा, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य हुनुहुन्छ।