दक्षिणपन्थी अवसरवादको विरोध गरौँ ! समाजवादको दिशामा अघि बढौँ !’ भन्ने मूल नाराका साथ नेकपा (एकीकृत समाजवादी) को ऐतिहासिक दसौँ राष्ट्रिय महाधिवेशन २०८१ असार (१६ देखि २१सम्म) मा भव्यतासाथ काठमाडौंमा सम्पन्न भयो । कार्लमार्क्सको चर्चित भनाइ ‘विश्वको केवल व्याख्या गर्ने विषय मात्र होइन, प्रमुख सवाल बदल्नुु हो’ भन्ने मान्यतालाई सार्थक तुल्याउने लक्ष्यसाथ नेपालको वामपन्थी आन्दोलन, कम्युनिस्ट आन्दोलन र सिंगो नेपाली राजनीतिको परिवर्तनकारी, प्रगतिशील पक्षको हिसाबले हालसम्मको कम्युनिस्ट आन्दोलनको वस्तुनिष्ठ समीक्षा गर्दै विगतका प्रयत्नको रक्षा र विकास गर्दै नेपाली विशेषताको समाजवाद नामक दूरगामी महत्वको दस्ताबेज पारित गरेको छ । दसौँ राष्ट्रिय महाधिवेशन मध्यअसारमा आयोजना गरिएको भए पनि अत्यन्तै उत्साहसाथ ७७ वटै जिल्ला र प्रवासबाट समेत गरी १८५३ प्रतिनिधि तथा पर्यवेक्षकको उत्साहपूर्ण उपस्थिति रहेको थियो । पार्टीका नेता–कार्यकर्ता, प्रतिस्पर्धी दल, निजी क्षेत्रलगायत नेपालप्रति चासो राख्ने मित्रराष्ट्र एवं विश्वका क्रियाशील समाजवादी राजनीतिक संगठनलाई साक्षी राखेर नेपाली विशेषताको समाजवादी कार्यक्रम पारित गरिएको छ, जसले भविष्यमा नेपालको कम्युनिस्ट आन्दोलनलाई निर्देशित गर्नेछ । यस अर्थमा पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा विशिष्ट परिघटना बन्न पुगेको छ ।
१. भव्य र्याली, सभ्य उद्घाटन र अग्रजहरूको सम्मान : देशभरिका प्रतिनिधि तथा पर्यवेक्षकहरू विशेषगरी काठमाडौं उपत्यकाका पार्टी कार्यकर्ता तथा शुभचिन्तकको सहभागिता रहेको हजारौँको भव्य र्याली तत्कालीन नेकपा (एमाले) को नवाँै महाधिवेशन सम्पन्न भएको स्थल भृकुटी मण्डपबाट सुरु भई विभिन्न झाँकीसहित सहिद गेट, रत्नपार्क र जमल हुँदै प्रज्ञा प्रतिष्ठानको भवनमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि जनताको अधिकार स्थापित गर्न आत्मविश्वाससाथ पार्टीलाई जनताको जनजीविकाको मुद्दामा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताले महाधिवेशनको सफलताका लागि शुभकामना दिँदै राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादी तथा यसका नेताहरूले खेलेको भूमिका उल्लेख्य रहेकोमा प्रशंसा गर्नुभयो । महाधिवेशनलाई ४० भन्दा बढी देशका कम्युनिस्ट तथा समाजवादी पार्टीबाट शुभकामना पत्र प्राप्त भएका थिए । राष्ट्रिय महाधिवेशनको अवसरमा नेपालको कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान गर्नुहुने अग्रज नेताहरू सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला, गोपीरमण उपाध्याय, रामऔतार पासवानलगायत १० जनालाई भव्य सम्मान गरिएको थियो ।
२. विद्रोह, विचार र नेतृत्वको अनुमोदन : नेकपा (एकीकृत समाजवादी) ले दसौँ राष्ट्रिय महाधिवेशनमार्फत राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, सांगठनात्मक प्रस्ताव र विधानसहित चारवटा ऐतिहासिक दस्ताबेज पारित गरेको छ । केवल दस्ताबेज मात्र होइन, विद्रोह, विचार र नेतृत्वको समेत अनुमोदन गरेको छ । मार्क्सवाद र लेनिनवादलाई सैद्धान्तिक मार्गदर्शक सिद्धान्त, जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक पद्धतिलाई संगठनात्मक सिद्धान्त र नेपाली विशेषताको समाजवादलाई तत्कालीन साझा कार्यक्रमका रूपमा अवलम्बन गर्ने विषय यस महाधिवेशनले एक स्वरमा अनुमोदन गरेको छ ।
३. समानुपातिक तथा समावेशीकरणको वैधानिक व्यवस्था : नेपाली राजनीतिमा युवा नेतृत्वको माग बढिरहेको सन्दर्भमा पार्टी विधानमा नै ‘थ्री–इन–वान’को सिद्धान्तलाई आत्मसात् गर्दै युवा, प्रौढ र वृद्धहरूको सहभागितालाई सुनिश्चित गरिएको छ । हरेक तहको कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी र बढीमा २ कार्यकाल मात्र कार्यकारी प्रमुख रहने विधानको अपरिवर्तनीय धाराका रूपमा व्यवस्था गरेको छ । विधानमा भूगोल, खुला र समावेशी क्षेत्रमा समावेशिताको अनुपात र संख्या निर्धारण गरिएको छ । समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेशी २०, थारू नौ, मुस्लिम ६, अल्पसंख्यक तीन र अपांगता भएका व्यक्ति दुई प्रतिशत हुने गरी प्रतिनिधित्वको सुनिश्चितता गरिएको थियो । जसमा समावेशीकरणभित्र समावेशीकरणको सिद्धान्तअनुसार समावेशी महिला र समावेशी खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको थियो । यस्तो व्यवस्था भूगोल तथा खुलातर्फ समेत व्यवस्था गरिएको थियो । समग्रमा कम्तीमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व विधानतः नै सुनिश्चित गरिएको थियो । यसरी पार्टी केन्द्रीय कमिटीमा चयन हुने व्यक्ति कुनै समुदाय, लिंग वा उमेर समूहको भएर मात्र पुग्दैन, केन्द्रीय सदस्य हुनका लागि विधानले तोकेको योग्यता पूरा भएको, विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीच क्रियाशीलतासहित अपिल गर्न सक्नेजस्ता मापदण्ड तय गरिएको थियो ।
४. सहमतीय सर्वसम्मत नेतृत्व : महाधिवेशनले पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । यसरी विचार र नेतृत्व सर्वसम्मत पारित गरेर महाधिवेशनले पार्टी विद्रोह र पार्टी पुनगर्ठनको औचित्यसमेत अनुमोदन गरेको छ । विधानबमोजिम २९९ जनाको केन्द्रीय कमिटीलाई पूर्णता दिने अधिकार सोही कमिटीलाई प्रत्यायोजन गरेर महाधिवेशनको पूर्वसन्ध्यामा फैलाइएका विभिन्न भ्रम तथा चलाइएका हल्लालाई झुटा साबित गर्दै असाधारण एकताको सन्देशसमेत महाधिवेशनले दिएको छ । साथै, पार्टी विधान र कम्युनिस्ट पार्टीको प्रचलनअनुसार अध्यक्ष र महासचिव हलबाट चुन्ने र अन्य पदाधिकारी केन्द्रीय कमिटीबाट चुन्दा सम्भावित स्थायी गुटबन्दीलाई निरुत्साहित गर्न सकिन्छ भन्ने मान्यताका आधारमा केन्द्रीय कमिटीलाई अख्तियारी दिइएको हो । कतिपयलाई केन्द्रीय कमिटीको पूर्णताविना महाधिवेशन सम्पन्न भएको छैन भन्ने लागेको भए पनि महाधिवेशन त त्यसवेला सम्पन्न हुुनेछ, जुन वेला महाधिवेशनले पारित गरेका दस्ताबेज मुलुक र जनताको पक्षमा प्रभावकारी कार्यान्वयन हुनेछन् ।
५. राष्ट्रिय राजनीतिमा आएको फेरबदल र आगामी यात्रा : नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन भएको दोस्रो दिन असार १७ गते नेपाली राजनीतिले नयाँ मोड लिएको छ । संसद्मा भएका सबैभन्दा ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ गठबन्धनबाट नेकपा एमालेका संसदीय दलका नेता केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो गठबन्धन अस्वाभाविक, अप्राकृतिक र चालू व्यवस्थाको प्रतिकूल हुनेछ भने बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष भन्ने एमालेजनको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) विरोधी हुनेछ । विशेषगरी संविधान संशोधन गर्दै ०६२/६३ को जनक्रान्तिको जनादेशविपरीत संघीयता, समानुपातिक समावेशीकरण र धर्मनिरपेक्षताको व्यवस्थामा संशोधन गर्ने सहमति भएको कुरा बाहिर आएको छ । राप्रपालगायत पार्टी उत्साही हुनु यसको प्रमाण पनि हो ।
नयाँ राजनीतिक मोडले नेकपा (एकीकृत समाजवादी) लाई सत्तामा होइन, नेपाली विशेषताको समाजवादी कार्यक्रम लिएर जनतामाझ जाऊ भन्ने निर्देशन गरेको छ । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको पुनगर्ठनसहितको मुद्दालाई नेपाली जनतामा स्थापित गर्नु पार्टी नेतृत्वको कार्यभार बनेको छ । नेपाली विशेषताको समाजवादको कार्यान्वयन गर्न तीनवटा पक्षमा ध्यान दिनुपर्नेछ । पहिलो, नेपाल कृषिप्रधान देश हो । ठूला कलकारखाना र श्रम मात्र बेचेर बाँच्नुपर्ने सामूहिक रूपमा काम गर्ने श्रमिकको संख्या ज्यादै न्यून छ । राष्ट्रिय पुँजीवादको विकासमा सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवादको अवरोध यथावत् छ ।
दोस्रो, नेपालमा धेरै जातजाति छन्, तर कुनै एक जातजाति बिल्कुलै बहुसंख्यामा छैन । ती उत्पीडित जाति र समुदायका आफ्नै मनोविज्ञान प्रखर रूपमा क्रियाशील छ । र, तेस्रो, हाम्रो देश बाहिरबाट हेर्दा स्वतन्त्र भए पनि पाइला–पाइलामा नेपाली राष्ट्रिय जीवनमाथि साम्राज्यवाद, नवऔपनिवेशिकवाद र विस्तारवादको शोषण, उत्पीडन र थिचोमिचो सहनुपर्ने बाध्यता छ । विशेषगरी यही कारणले नेपाली विशेषताको समाजवाद अन्य देशको समाजवादभन्दा भिन्न र अलग हुनेछ । मार्क्स र लेनिनले मजदुरलाई केन्द्रमा राखेर समाजवादको डिजाइन गर्नुभयो । माओको डिजाइनमा किसान केन्द्रमा थियो । नेपाली समाजवादको डिजाइन गर्दा मजदुर, किसान र उत्पीडित जातजाति (महिला, दलित, आदिवासी जनजाति, मधेशी र खस आर्य) लाई केन्द्रमा राख्नु अनिवार्य हुनेछ ।
निश्चित रूपमा कार्यकर्ताको समाजवादी चेतना, निष्ठा र दृढ निश्चयता कम्युनिस्ट पार्टीका लागि महत्वपूर्ण मापदण्ड हुन् । विचार, लक्ष्य र कार्यदिशामा समानता हुँदाहुँदै पनि मुद्दा र व्यक्तित्वले पार्टीमा द्वन्द्व र मतान्तर ल्याउँछ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई जोगाउँदै राष्ट्रलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक हिसाबले नेतृत्व गर्ने असाध्यै ठूलो ऐतिहासिक कार्यभार दसौँ राष्ट्रिय महाधिवेशनले नेकपा (एकीकृत समाजवादी) को काँधमा सुम्पेको छ ।
(विश्वकर्मा नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित केन्द्रीय कमिटी सदस्य तथा दसौँ महाधिवेशन दस्ताबेज कमिटीका सदस्य हुन्)
साभारः नयाँ पत्रिका