‘जुन घरमा नारीको सम्मान हुन्छ, त्यो घरमा इश्वरको बास हुन्छ ।’ यो मान्यता हो, पूर्वीय दर्शनको । तर, यहि मान्यताको हिमायती समाजबाट महिलामाथि विगतमा भएका, वर्तमानमा भइरहेका र भविष्यमा हुन सक्ने हिंसाका रूप र दृष्यहरू कम्ता विरहले भरिएका छैनन् । महिलाहरूले विगतदेखि वर्तमानसम्म र वर्तमानदेखि भविष्यसम्म खेपेको, खेपिरहेको र सम्भावित खेप्नुपर्ने अनुमानित हिंसाभित्र लुकेको कुरताको बारेमा शब्दमा ब्याख्या गर्न निक्कै गाह्रो छ । नारीलाई पूजा गर्नुपर्छ पनि भन्ने अर्कातर्फ दास बनाउने, उपभोग्य साधान बनाउने र जनावरलाई जसरी किनबेच गर्ने समाज पनि यहि हो ।
खैर, आधा धर्ती, आधा आकाशका मालिक महिलाहरूले विगतमा भोग्नु परेको नारकीय जिन्दगी, बिताउनु परेको जीवन र भोग्नु परेको दुःख, कष्टबारे आजका दिनमा सबैले ब्याख्या र विश्लेषण गर्छन् । तर, महिलाहरूले भोग्नु परिरहेको अमानविय हिंसा अन्त्यका निम्ति प्रभावकारी कानून र चाल्नुपर्ने कदमका बारेमा भने कोही पनि जिम्मेवार देखिदैनन् । आजको सत्य यहि हो ।
विगत
माथि भनिएझै नारीलाई इश्वरको माने दिएपनि व्यवहारमा अन्धविश्वास, कुरिती र विसंगतीको सिकार महिलाले भइरहनु परेको छ । धार्मिक मान्यताअनुसार पनि नारीहरू देवीको रूपमा र नामले पुज्य छन् । पूर्वीय दर्शनका आदिम पुस्तकहरू, पौराणीक कथाहरू, भजनहरूमा पनि नारीको स्थान उच्च छ । दुःखको कुरा सम्मान र उच्चभावका आवरणभित्र जघन्य अपराध लुकेका छन् । महिलाहरूले मानव उत्पत्तिदेखि आजको प्रगतिशील समयसम्म आइपुग्दा पनि सुनौलो जिन्दगी बाँच्न पाएका छैनन् । महिलाहरूले हिजोका दिनमा भोगेको दुःख र अत्याचार शब्दमा पोख्न सकिने कुरा होइन । एकातिर देवी पनि भन्ने, अर्कोतिर देवीमाथि दानवीय व्यवहार गर्ने नीच कार्य हिजोका दिनमा भएका देखिन्छन् । देविको दर्जा दिएको समाजबाट महिलाहरूले सर्वश्व गुमाउनु परेको थियो । शोषण, दमन, शरिरीक मानसिक यातना भोग्नु परेको विगत छ । यतिसम्म कि यौन सन्तुष्टि दिन नसकेको देखि सन्तानको जन्म नदिएको आरोपमा महिलाले लिला त्याग्नु परेका तमाम घटना छन् ।
महिलाहरूले हिजो शारिरीक र मानसिक पीडा मात्रै होइन, श्रीमानको मृत्युसँगै चितामा जल्नुपर्ने अवस्था थियो । त्यो कुर अपराधलाई आजभन्दा १०३ वर्षपहिले अर्थात वि.स.१९७७ असार २५ गते श्रीमानको मृत्युमा सति जाने प्रथाको अन्त्य भएको थियो । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमरेशले सति प्रथाको उन्मुलन गरेका थिए । यसरी हेर्दा विगतमा महिलाहिंसा अन्त्यका निम्ति केही राम्रा प्रयास नभएका भने होइनन् । तर, ति प्रयासहरू पूर्ण भएनन्÷थिएनन् । जसका कारण आजका दिनमा पनि हिंसाहरू जारी छन् ।
वर्तमान
सतिप्रथा अन्त्य भएको एक शताब्दि पार गर्दा पनि महिलालाई हेर्ने पुरुषवादी चेत र दृष्टिकोण बदलिएको छैन । महिलाले पुरूषका निम्ति बाँच्नुपर्ने, श्रीमानका निम्ति मर्नुपर्ने खालको चेतनाका अवशेषहरू आजपनि जीवित छन् । महिलाले पुरुषको सेवक बन्नुपर्ने, पुरुषले महिलाको मालिक दरिनुपर्ने अवस्था छ । आजका दिनमा पनि अधिकांश महिलाहरूले प्रेमपूर्ण जीवन बाँच्न पाएका छैनन् । एकातिर शारिरीक पीडा र अर्कोतिर मानसिक टचरको भारी बोकेर बाँच्न विवस महिलाहरूको विरक्त लाग्दो वर्तमान छ । आज मुलुक समाजवादी शासन व्यवस्थाको अभ्यासमा छ । तर, समाजवादको बहसमा महिलाअधिकार समाहित भएको देखिदैन । आजको विश्व दुनियाँले उठाउनै पर्ने दुईवटा मुद्धा महिला अधिकार र वातावरण परिवर्तन हो । आजको दिनमा पनि शरिरको अधिकारलाई लिएर महिलाहरूले हामी जिउँदा मान्छे हौं भन्नुपर्ने अवस्था छ । छाउपडी प्रथा, दाईजो प्रथाका नाममा महिलाहरूले जल्नुपर्ने र मर्नुपर्ने अवस्था जीवित छ । दाईजो नदिएको नाममा नारीलाई पेट्रोल खन्याएर जलाइएका घटना गनि साध्य छैनन् ।
समाजलाई बुहारी चाहिन्छ । तर, छोरी चाहिँदैन । छोरीलाई छानिछानी गर्भमै हत्या गर्ने अपराध आजको कुरूप वर्तमान हो । छोरीलाई गर्भमै हत्या गर्न पाउने कानून छ । जसको खारेजी आजको आवश्यकता हो । अपवाद बाहेक छोरी÷छोरा कुन जन्माउने ? त्यसको भागिदार र जिम्मेवार पुरूष हुन्छ भन्ने कुरा स्वास्थ्य विज्ञानले पुष्टि गरेको कुरा हो । आज पनि छोरा जन्मे घुमधाम, छोरी जन्मे गुम्नामको अवस्था छ । आजको दिनमा यो समाजले छोरीलाई मान्छेको दर्जा दिन चाहिरहेको छैन । छोरीलाई छोरी बन्ने तालिम दिइरहेको छ । नारकीय जीवन जिउन बाध्य आमाले छोरी जन्माएको दिन खेप्नु परेको प्रसव पीडाभन्दा छोरीलाई जन्माएको पीडाले दुःख दिन्छ । आजको हाम्रो असलियत यो हो । तुलनात्मक रूपमा पहिलेको भन्दा केही कम भएपनि व्यवहारत समाजलाई छोरा चाहिन्छ । सद्गद गर्ने, पैत्रिक सम्पत्तिको मालिक हुने योग्यता छोरीमा देख्ने समाज विकसित भइसकेको छैन ।
समाजमा रहेका एकल महिला, युवती, महिला कलाकार, पति विदेश गएका महिलामाथि हेर्ने सामाजिक दृष्टिकोण कति घटिया छ, जसको बारेमा आम मानिस जानकार छन् । राम्रो फूल त फूल्नै नहुने । राम्रो रूप र शरिरमाथि गिद्धे नजर गढिहाल्ने, कसरी हुन्छ, फसाई हाल्ने, आरोपमा मुछिहाल्ने, फलानोको हलानो ट्याग भिराइहाल्ने, संस्कृति विकृत छ । खासगरी राजनीतिमा लागेका महिला नेताहरू आफ्नो खुट्टामा उभिन सक्नुपर्छ । आफ्नो क्षमताको आधारमा हासिल गरेको पदलाई सार्थक सम्झिनुपर्छ । खासगरी २००४ सालदेखि नेपाली महिलाहरू राजनीतिमा सहभागि भएको देखिन्छ । त्यसयताका हरेक जस्तो परिवर्तकारी आन्दोलन र जनयुद्धमा उल्लेख संख्यामा सहभागिता सहादत भएका छन् । जो नारी आन्दोलनका निम्ति विरासत पनि हो ।
हिजो बाल विवाह हुन्थ्यो । न उमेर पुगेको हुन्थ्यो, न चेतना । १२÷१३ वर्षको उमेरको बालबालिकाले आमा बन्नुपर्ने अवस्था थियो । आज विहेबारीः २० वर्ष पारी भन्ने धारणा अघि सारिएको छ । तैपनि बालविवाह तुलनात्मक रूपमा केही कम भएपनि सरकारी नाराले सार्थकता पाउन सकिरहेको छैन । महिलाहरू हिजो कोही चुल्हो चौकोमा सिमित बने, कोही पुरूषको उपभोग्य साधन र सेवक बने, कोही सस्तो श्रम बेच्न बाध्य बने । आजपनि महिला श्रमिकहरूले पुरूष बराबर ज्याला पाउँदैनन् । हालै नेपाल क्रिकेट संघ (क्यान) ले निधारण गरेको क्रीकेटरहरूको पारिश्रमिक यसको ज्वलन्त उदाहरण हो ।
आदिम साम्यवादी युगदेखि पूँजिवादी युगसम्म महिलाहरू पुरुषको उपभोग्य साधान बने । म जोड दिएर भन्छु, उप्रान्त पूर्ण स्वतन्त्रता र पूर्ण जनवादसहितको प्रेम हुनुपर्छ । यस्तो दिन उदाएपछि मात्रै महिला र पुरूषबीचको दुरी घट्नेछ । बुर्जुवा समाजले काचुली फेर्नेछ । श्रम विभाजन समान हुनेछ । आज हामीले उठाउनुपर्ने सवाल यहि हो । महिलाले आफ्नो शरिरको अधिकार आफ्नो ठेक्का हो भन्नुपर्छ । प्राकृतिक रूपमै महिला र पुरूषबीचको भिन्नता छ भन्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन । प्राकृतिक भाष्यमा यौनिकता र सामाजिक रूपमा लैङ्गिकता हाम्रो भिन्नता हो । महिला र पुरूषबीचको जैविक भिन्नता पनि छ । श्रीमान उठेर किताब पढ्ने, कम्प्युटरमा बस्ने र महिला उठेर चिया बनाउन भान्छामा छिर्ने सामाजिक चेतनाको उपज हो । यो प्राकृतिक भिन्न्ता होइन । आज आफ्नो श्रीमतिको लुगा फाटो म धुन्छु, आज खाना म बनाउछु, म भान्छा सफा गछु, म भाडा धुन्छु भनेर कति जना श्रीमानले भन्छन् होला ? यि सवाल सामाजिक चेतनासँग जोडिएका छन् । यी सवालहरूको जवाफ खोज्नुपर्ने दायित्व पनि हाम्रै हो । यसरी हेर्दा भोलिका दिनमा पनि महिलाहरूले प्राकृतिक र सामाजिक रूपमा हिंसा बेहोर्नु पर्ने सहज आकंलन गर्न सकिन्छ ।
भविष्य
कनै पनि कुराको भविष्यमा हुनेसक्ने अवस्थाको पूर्वानुमान गर्ने वा सम्भावित अवस्थाबारे अहिले ठोकुवा गर्नु सान्दर्भिक त हुँदैन । तर, समाज विज्ञानलाई र समाज विकासको क्रमलाई हेर्दा कार्ल माक्र्सले गरेको इतिहासको ऐतिहासिक भौतिकवादी ब्याख्यालाई आधार मान्दा बाँकी दुनियाँमा पनि महिलामाथि शारिरीक तथा मानसिक तनावहरूले छोड्छन् भन्ने लाग्दैन । अन्य धेरै समानता हासिल हुँदै जालान्, तर, भोलिका दिनमा पनि यौनजन्य प्राकृतिक हिंसा, पीडा, दुःख र विरह कायम रहन्छन् भन्ने लाग्छ ।
खासगरी माथि चर्चा गरिएझैंँ महिलामाथि हुने हिंसाका रूप, स्वरूप र प्रारूपहरू बदलिदै जाने देखिन्छन् । किन भने, हिजो जसरी महिलामाथि हिंसा हुन्थ्यो, आज त्यो रूप बदलिएको छ । आज विवाह गरेर बेचबिखन गर्नेसम्मका घटना भइरहेका छन् । जसरी कोरोना भाइरसले भेरियन्ट बदलिरहेको छ, त्यसैगरी आज महिलामाथि हुने गरेका हिंसाका रूपहरू पनि बदली रहेका छन् ।
अन्त्यमा, विश्वमै पुरूषवादी सत्ता नेतृत्व भएकाले महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप देखा परिरहेका छन् । सत्ता, शक्ति र सम्पत्तिमा समान अधिकार हुँदैन, जबसम्म महिलाले भोग्नुपरेका नारकिय आख्यान छापिने छन् । गीत र कविता लेखिने छन् । महिलाहिंसा अन्त्य आजको समाज र विश्वकै आवश्यकता हो । महिलाहिंसा स्वयं त्यो नारीलाई मात्रै पीडा, दुःख र अशान्ति दिने विषय होइन, मातृदरमा पनि त्यसको प्रभावपर्छ । यसको अन्त्य गर्नका निम्ति प्रतिबद्धतासहितको प्रण गरौँ ।
महिलाहिंसा अन्त्य गर्न राजनीतिक प्रतिबद्धता पहिलो सर्त हो। कठोर काननू निमार्ण र कार्यान्वयन दोस्रो सर्त हो । राज्य सत्तामा समान सहभागितासहितको राजनीतिक व्यवस्था तेस्रो सर्त हो। यसको अलवा महिलाहरूले पनि केवल महिला हौं भन्ने चेतनाभन्दा माथि उठेर आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न सक्नुपर्छ । आजका महिलाहरूले आफूलाई विकास, समृद्धि र समाजवादको कित्तामा उभ्याउन सक्नुपर्छ । महिला सहभागिता बिना विकास, समृद्धि र समाजवाद सम्भव छैन भन्ने कुरालाई जोडदार ढंगले उठाउनुपर्छ। विद्यामान राजनीतिक व्यवस्था प्राप्तिका निम्ति महिलाहरूको ठूलो बलिदान भएको छ । उक्त बलिदानीलाई स्मरण गर्दै राज्यका तहमा महिलाको ५० प्रतिशत सहभागिताका निम्ति आवश्यक आन्दोलन आवश्यक छ । बुर्जुवा सामाजिक संचरना र सुतेको सामाजिक चेतना जगाउने काममा आफूलाई क्रियाशिल बनाउनुपर्छ । यति नगरेसम्म हिजो र आज महिलाहरूले भोग्नु परेका हिंसा भोलिका दिनमा पनि भोग्नुपर्नेछ ।
लेखक भुुसाल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य तथा अनेमसंघ (समाजवादी) लुम्बिनीको अध्यक्ष हुनुहुन्छ।