- गणेश विश्वकर्मा
पत्रकारिता राजनीतिक आन्दोलनको अभिन्न अंग भएकाले यसको राजनीतिक दृष्टिकोणमा पनि त्यसैअनुरुप संगठनको आवश्यकता परेको हो । त्यसैले, सबैखाले सर्वसत्तावादविरुद्ध उभिँदै जनताका पक्षमा र पुँजीवादी राज्यसत्ताविरुद्ध सशक्त विचार प्रवाह गर्नसक्ने विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता आजको आवश्यकता हो । समाजवादी मिडियाले वर्गीय विभेदको अन्त्यसँगै सुसूचित, सचेत, समान र स्वतन्त्र नागरिकको नयाँ नेपाल बनाउनु अहिलेको नेपाली समाजवादी आन्दोलनको सपना हो ।
नेपाल समाजवादको उर्वर भूमि :
नब्बेको दशकमा विश्वमा एकपछि अर्को देशमा समाजवाद ढल्दै थियो तर नेपालमा चाहिँ वैज्ञानिक समाजवादी सोच राख्ने कम्युनिष्ट पार्टीहरू झनै लोकप्रिय हुँदै राष्ट्रिय राजनीतिको मुख्य शक्ति बनेर उदाएका थिए । सोभियत संघको विघटनसँगै विश्वमा कम्युनिस्ट पार्टी र जनवादी सत्ताहरू पनि भत्किन पुगे भने कतिपय राष्ट्रमा कम्युनिस्ट आन्दोलनले सही नेतृत्व र विचारको विकास गर्न नसक्दा कम्युनिस्ट आदर्शबाट च्युत हुन पुगे । सोभियतकालीन समयमा नै कम्युनिष्ट सत्ता स्थापना भएको चीन आज विश्व राजनीतिको एक प्रमुख खेलाडीका रुपमा रहेको छ । सोभियत संघमा समाजवाद ढलेको पाँचवर्ष नबित्दै नेपालमा इतिहासमै पहिलोपटक संसदीय चुनावमा श्रेष्ठता हासिल गर्दै कम्युनिष्ट पार्टीको सरकार निर्माण भई इतिहासमै समाजवादी विशेषताका प्रगतिशील कार्यक्रम सञ्चालन गरेको थियो । नेपालमा समाजवादी यसरी सरकार निर्माणको तहमा पुग्नुका दुईवटा आधारभूत कारण थिए । पहिलो, नेपालको आमजनसंख्याको ठूलो हिस्सा वर्गीय संरचनामा थियो भने अर्को कारणमा नेपालका समाजवादीले दिइरहेको नारा, कार्यक्रम र योगदान नै थियो । । यी दुई वटा कारण आजपर्यन्त विद्यमान रहेकाले नेपालमा समाजवादी आन्दोलनको भविष्य उज्ज्वल छ ।
समाजवादीका मूल नारा सामाजिक समानता, न्याय, समतामूलक आर्थिक वितरण, धर्मनिरपेक्षता, राजनीतिक र सामाजिक वर्ग संरचनामा आमूल वा प्रगतिशील हेरफेर गर्नु हो । नेपालमा जनसंख्याको अधिकांश हिस्सा अर्थात झन्डै ७५ देखि ८० प्रतिशत हिस्सा निम्न, मध्यम, गरिब र श्रमिक वर्गकोे छ । राजनीतिमा सबैभन्दा निर्णायक हिस्सा पनि यही वर्ग भएकाले यही वर्गको राजनीतिक समर्थन जसले पाउँछ, नेपालको राजनीतिमा उही हाबी हुन्छ । यो वर्ग अरू कुनै वर्गभन्दा ज्यादा देशभक्त पनि हुने गर्छ किनकि विदेशीको कुनै पनि खालको हस्तक्षेपमा निकै चाँडै बर्बाद हुने वर्ग पनि यही हो । यो वर्ग कुनै पनि क्षेत्रमा प्रगतिशील सुधार वा आमूल परिवर्तनको नाराबाट वा राष्ट्रवादी नाराबाट सबैभन्दा ज्यादा आकर्षित र प्रभावित हुन्छ । नेपालको ‘कम्युनिस्ट’ अर्थात समाजवादीले आफ्नो राजनीतिक गतिविधिको मुख्य क्षेत्र यही निम्न तथा मध्यम वर्गलाई बनाउँदै आएको छ । उदाहरणका लागि कम्युनिष्टले अहिलेसम्म जसको जोत उसको पोत, क्रान्तिकारी भूमिसुधार, कृषिक्रान्ति, औद्योगिक क्रान्ति, सस्तो ब्याजदरमा राज्यबाट पुँजीगत ऋण, कृषि सामग्रीमा राज्यबाट अनुदान, देशभरि पाँचदेखि दश वर्षमा सिँचाइ सुविधा, बिजुली र सडक सुविधा उपलब्ध गराउने जस्तो नारा र कार्यक्रम अघि सार्दै आएको छ । यी सबै विषय अब केबल नेपाली समाजवादीको सडक आन्दोलनको मागका रूपमा मात्र रहेनन्, संविधानसभामार्फत नेपालको संविधानमै मौलिक हकका रूपमा संस्थागत भइसकेको अवस्था छ । महिलाका लागि सम्पत्ति र राजनीतिक प्रतिनिधित्वलगायत हरेक क्षेत्रमा समान अधिकार तथा ३३ प्रतिशत प्रतिनिधित्व र दलित, जनजाति, मधेशी, मुस्लिम तथा अल्पसंख्यकका लागि राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा समानुपातिक समावेशिताको नारा र सोच समाजवादीकै कार्यक्रम भएकाले यसको व्यहारिक कार्यान्वयन नै समाजवादको आधार हो । नेपाली समाजमा यिनै वर्गको बाहुल्य र चुनावमा यिनैको समर्थनका कारण नेपालमा समाजवादी सोच राख्ने वामपन्थ यति धेरै मौलाएको हो ।
समाजवादी मिडियाको वर्गीय पक्षधरताः
विश्व कम्युनिस्ट आन्दोलनका महान नेता एवम् पत्रकार लेनिनले सञ्चारमाध्यमले प्रचारकर्ता, आन्दोलनकर्ता र संगठनकर्ताको भूमिका खेल्नुपर्दछ भन्नुभएको छ । नेपालको मिडियाको महत्व रहेकै कारण मिडिया राज्यसत्ताको चौथो अंग मानिँदै आएको छ । समाजवादी आन्दोलनले मिडियालाई समाज र राज्यको जनमुखी लोकतान्त्रिक रूपान्तरणका माध्यम बनाउन प्रयासरत रहनुपर्दछ । माक्र्सवादीले मिडियाको वर्गचरित्रमा विश्वास गर्दछन् । वर्ग विषमतामा आधारित समाजमा हरेक चिज वर्गीय भएजस्तै मिडिया पनि वर्गीय पक्षधर हुन्छ । समाजमा मूलतः शोषक र शोषित, उत्पीडक र उत्पीडित, हुने खाने र हुँदा खाने, श्रमचोर र श्रमजीवी अर्थात पुँजीवादी र समाजवादी सोच, चिन्तन र स्वार्थ बोक्ने वर्ग हुन्छन् । यहाँ मूलतः दलाल तथा नोकरशाही पुँजीवादीवर्ग र श्रमजीवि वर्ग छन् । यी दुई विपरीत वर्गका बीच समाजमा निरन्तर संघर्ष चलिरहेको छ । जसलाई वर्गसंघर्ष भनिन्छ । चालु वर्गसंघर्षलाई नै समाजको चालक शक्ति मानिन्छ । समाजमा वर्ग रहेसम्म विभिन्नरुपमा वर्गसंघर्ष निरन्तर चलिरहन्छ । वर्गसंघर्षकै बीचबाट मिडियाको विकास भएको हुँदा मिडिया राजनीति निरपेक्ष हुनसक्दैन । त्यसैले, आजका दलालपुँजीवादका अगाडि उभिएर सञ्चारक्षेत्रका समग्र समस्याको पहिचान गरी त्यसको समाधानको स्पष्ट मार्गचित्रसहित श्रमजीवी, शोषित, उत्पीडित र उपेक्षित वर्गको हित रक्षामा मिडियाको पक्षधरताको रणनीति बनाइनुपर्दछ । समाजवादी यात्राका क्रान्तिकारी मिडियाले मुलुकका अन्य सञ्चारकर्मीभन्दा फरक र मौलिक पहिचान बनाउन जरुरी छ । आज अधिकांश राजनीतिक दलहरुले जनताका जीविकोपार्जनका मुद्दामाथि बेवास्ता गर्दै गएको सन्दर्भमा समाजवादको यात्रा तय गरेका राजनीतिक दल तथा मिडिया संगठनले संरचनागत परिवर्तनका पक्षमा उभिनुपर्दछ । ऐतिहासिक जनआन्दोलन २०४६ र जनक्रान्ति २०६२/६३ को परिवर्तनलाई संस्थागत गर्न सबैभन्दा बाधक क्षेत्र नेपालको न्यायक्षेत्र, कर्मचारीतन्त्र र सुरक्षा क्षेत्रको लोकतान्त्रिकरण हुन नसक्नु हो भन्ने कुरामा हेक्का राख्नैपर्दछ । पछिल्लो समयमा मिडिया क्षेत्रमा ठूला व्यापारिक घरानाको पकड र प्रभाव जम्दै जानुले समाजवादविरोधी जनमत निर्माणमा निकै ठूलो भूमिका खेलेको पाइन्छ । दुई तिहाइ बहुमतप्राप्त वामपन्थ सरकारलाई पनि ठूला मिडियाले सिर्जना गरेको जनमतमार्फत आफ्ना धेरै जनपक्षीय निर्णय फिर्ता गराउनसक्ने हैसियतमा नेपालका मिडिया हाउस पुगेका छन् । त्यसतर्फ ध्यान दिन आवश्यक छ ।
नेपालमा हजारौँको संख्यामा छापा, अनलाइन, टेलिभिजन, रेडियोलगायतका मिडिया सञ्चालित छन् । तीमध्ये एकाध मिडियाको मात्र मिडिया बजारमा एकाधिकार स्थापित छ । बिग मिडिया हाउस कर्पोरेट हाउसको क्लचमा छन्् अर्थात दलाल तथा नोकरशाही पुँजीपति वर्गका हातमा छन् । ती मिडियाले विभिन्न रुप र रंगमा त्यही वर्गको स्वार्थरक्षाको वकालत गरिरहेको छ । मूलधारका भनिएका बिग मिडिया हाउसले आफ्नो वर्गको राजनीतिक प्रतिनिधि पार्टी वा व्यक्तिका पक्षमा वकालत गरिरहेको छन् । यसअर्थमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पनि सापेक्षित हुनजान्छ । जसको अभ्यास नेपाली पत्रकारितामा पनि देख्न सकिन्छ । मिडियाका कन्टेन्ट योजनावद्ध सेट गरिएका हुन्छन् । त्यो उनीहरुको वर्गस्वार्थबाट अभिप्रेरित हुने गरेको देखिन्छ । सूचना प्रविधिका पछिल्ला आयामको कुशलतापूर्वक उच्चतम प्रयोग गरी प्रभावकारीरुपमा जनपक्षीय मिडियाको सञ्चालनमा जोड दिनुपर्ने देखिन्छ । सामाजिक सञ्जालदेखि छापा, अनलाइन, रेडियो हुँदै टेलिभिजनसम्मको जनपक्षीय मिडिया नेटवर्क र त्यसको श्रमजीवी, शोषित, उत्पीडित उपेक्षित वर्गको राजनीतिक स्वार्थ रक्षार्थ प्रभावकारी परिचालन नेपाली नयाँ जनवादी क्रान्तिका लागि अत्यावश्यक साधन बन्न गएको छ । कम्युनिष्ट क्रान्तिकारीले यसको गहिरो बोध गर्न जरुरी छ । नेपालमा भएका मिडियाको वर्गीकरण गरी दलाल तथा नोकरशाही पुँजीपति वर्गले चलाएको मिडिया, राष्ट्रिय पुँजीपति वर्गले चलाएको मिडिया र साना लगानीमा सञ्चालित मिडिया छुट्याउनु पर्दछ । राष्ट्रिय पुँजीपति वर्गको र साना लगानीका मिडियाहरुसँग सम्पर्क र सम्बन्ध बढाउँदै दलाल मिडियासँग त्यही किसिमको रणनीति अपनाउन जरुरी छ । क्रान्तिकारीले मिडियालाई हेर्ने निरपेक्ष दृष्टिकोण सच्याउन आवश्यक छ । र, श्रमजीवी पत्रकारसँग आत्मीयतापूर्ण सम्बन्ध विकासमा ध्यान दिन जरुरी छ ।
नयाँ युगको नयाँ मिडियाः
आजको सञ्चार तथा प्रविधि विकासले सूचना पोखिने, विचार निर्माण गर्ने, निर्भिक बुद्धिजीवीलाई सामाजिक सञ्जाल, अनलाइन पोर्टल, ब्लगले सेन्सरहीन माध्यम पैदा भएको छ । राजनीतिक सीमारहित वैश्विक समाजमा भिसारहित सहजता उपलब्ध भएको बेला समाजवादको लक्षमा कुनै सम्झौता गर्नु हुँदैन । नयाँ मिडियाको उदयले संसारभरका मानिस र इन्टरनेटबीचको सञ्चार तीब्ररुपमा अघि बढेको छ । यसले मानिसलाई ब्लग, वेबसाइट, भिडियो, तस्बिर र अन्य प्रयोगकर्ता मिडियामार्फत व्यक्त गर्न अनुमति दिएको छ । पेगासेस इजरायलको एनएसए कम्पनीको एउटा जासुसी एप्स सफ्टवेयर हो । यदि यो एपलाई कुनै पनि स्मार्टफोनमा ह्याकरले घुसाइदियो भने फोनको माइक्रोफोन, क्यामेरा, अडियो, टेक्स्ट मेसेज, इमेल र लोकेसनसम्म जानकारी हासिल गर्दै त्यो डिभाइसको सबै डाटा अर्को पक्षकोमा पुग्नसक्छ । फोन बन्द गरे पनि माइक्रोफोन र क्यामेरा चलिरहन्छ । विशेषज्ञका अनुसार ‘सहज तरिकाले ह्वाट्स एप वा मिस कलमार्फत तीव्र तरिकाले लक्षित फोनमा एप्स इन्स्टल हुन्छ र डिलिट गर्दा पनि हटाउन सकिँदैन ।’ संसारको राजनीति र कर्पाेरेट घरानामा तहल्का मच्चाउने पानामा पेपर प्रकाशन गर्ने विश्वका ७६ देशका झन्डै एक सय सात मिडिया संस्था सम्वद्ध पत्रकारको सहकार्यमा एक करोड १५ लाखभन्दा बढी कागजात अध्ययन गरेर सेता कपडामा रहेका काला कर्तुत छर्लङ्ग पारेका थिए । यस्तो अवस्थामा एकातिर मिडिया साक्षरताको आवश्यकता छ भने अर्कातिर मिडियाका सबै सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको पेशागत सुरक्षाको विषयलाई सधैँ प्राथमिकतामा राख्नुपर्दछ । ठूला मिडिया हाउसमा भइरहेको पत्रकारको श्रम शोषण र सम्पादकीय स्वतन्त्रता हनन्को अन्त्य गरिनुपर्दछ । समाजवादी मिडिया व्यवसाय र पेशा होइनन् अथवा हुनुहुँदैन । हामीले सञ्चालन गरेका मिडिया प्रगतिशील सामाजिक परिवर्तनका लागि शक्ति बन्न सक्नुुपर्दछ । अहिले सूचना तथा सञ्चारको विश्वव्यापी हस्तक्षेपकारी भूमिकाले समाजवादी आन्दोलनलाई चुनौतिको चौतारीमा उभ्याएको छ ।
अहिले सूचना प्रविधि तथा जैविक प्रविधिको एकीकरण र नियन्त्रण बढेको छ, कृत्रिम बौद्धिकता पैदा गरिएको छ । डिजिटल एकीकरणले निम्त्याउने समस्यालाई थेग्न नसक्ने अवस्थामा पु¥याएको छ । विशेषगरी फेसबुक, गुगल, ट्विटर, व्हाट्सेप र अन्य सामाजिक सञ्जाल कम्पनीको वर्चश्वको लडाइँ चलेको छ । तर, ती सबैले साना तथा सामरिक रुपमा कमजोर देशका संस्कृति, सभ्यता, लोकतन्त्र तथा समाजवादी आन्दोलनलाई कमजोर बनाइरहेका छन्् । विश्वलाई औद्योगिक औपनिवेशिक युगबाट अब दिमागलाई प्रविधिबाट कन्ट्रोल गरी डिजिटलको औपनिवेशिक युगतिर डो¥याउँदै छ । यो मिडिया तथा प्रविधिको एकीकरणले समाजवादी आन्दोलनलाई तीव्ररूपमा क्षयीकरण गरिरहेको छ । सूचनाको स्वतन्त्र छनैट र विश्लेषणको स्तरमा हाम्रा समाजवादी मिडियाले जनतालाई नलैजाँदा ठूल्ठूला राजनीतिक दुर्घटनामा पर्ने खतरा हुन्छ । मिडियामा उदारीकरणले साना लगानीका कतिपय मिडियाहरू समेत अस्तित्व धान्न अभिजात वर्गलाई सशक्तिकरण गर्ने माध्यम बन्न बाध्य भइरहेका हुनेछन् । त्यसैले आजको समाजवादी मिडियाले जनतालाई विचारले लैस गर्दै साम्राज्यवादी र विकृत मिडिया लहर उत्पीडित वर्ग न्यायका लागि सचेततापूर्वक समाजवादको योजना, कार्यक्रम र बहसका लागि सूचनाको महासागरबाट सही सूचना छनौट र स्वतन्त्र विश्लेषण गर्ने त्यसलाई विश्लेषण गर्ने सामन्तवाद, साम्राज्याद र दलाल पुँजीवादको विरोध गर्दै सत्यतथ्य कुरा उजागर गर्ने जनपक्षीय मिडिया निर्माण गर्न सक्नुपर्दछ ।
समाजवादी आन्दोलनका सारथि मिडियाः
समाजमा चल्ने कुनै पनि अग्रगामी र परिवर्तनकारी आन्दोलनलाई साथ र सहयोग गर्दै जनताका अधिकारको पूर्ण ग्यारेन्टी गर्ने व्यवस्था निर्माण गर्ने राजनीतिक भूमिका समेतको मिडिया हुनुपर्दछ । समाजवाद निर्माणका लागि उत्पीडित वर्ग एवम् समुदायको संगठित शक्ति तयार पार्दै राजनीतिक संघर्ष, उत्पादन संघर्ष र वैज्ञानिक प्रयोगका लागि गरिने न्यायपूर्ण संघर्षलाई व्यावहारिक जीवनमा उतार्न क्रान्तिकारी मिडियाको विशिष्ट भूमिका हुन्छ । दलाल नोकरशाही पुँजीवाद, प्रतिकृयावादी वैदेशिक हस्तक्षेपविरुद्ध संघर्षका लागि जनताको श्रम, सीप र पुँजीलाई संगठित गर्ने अभियानमा आइपर्ने अवरोधविरुद्धको संघर्ष नै सुदृढ समाजवाद निर्माणको आधार हो भन्ने मान्यतालाई जनपक्षीय मिडियाले स्थापित गर्न सक्छ । निरन्तर क्रान्तिको रणनीतिअन्तर्गत श्रमजीवि वर्गको नेतृत्वमा जनाधारसहितको सुदृढ संगठनको निर्माणले नै क्रान्तिको ढोका खोल्न सक्छ । तसर्थ नयाँ संविधान कार्यान्वयन र समृद्धिको नारा नै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्न विचार, कार्यदिशा र संगठन तथा कार्यक्रमको आलोकबाट प्रचार कार्यलाई अघि बढाउनु क्रान्तिकारी मिडियाको आजको कार्यभार हो । नेपाली समाजमा श्रमजीवी, शोषित, उत्पीडित तथा उपेक्षित वर्गको साँचो अर्थमा प्रतिनिधित्व गर्ने समाजवादका पक्षधरलाई नेपाली समाज सुहाउँदो समाजवादको आधार निर्माण गर्न नेपालको राजनीतिमा विचारधारात्मक तथा राजनीतिक हिसाबले क्रान्तिकारी धारको नेतृत्व गर्ने शक्ति समाजवादीहरुले नेपालमा दलाल तथा नोकरशाही पुँजीवादमा आधारित वर्तमान राज्यव्यवस्थाको अन्त्य गरी त्यसको ठाउँमा समाजवादी राज्यव्यवस्थाको स्थापना गर्न चाहन्छ । तसर्थ, नेपाली सर्वहारावर्गको अग्रदस्ताको रुपमा रहेको समाजवादी आन्दोलनलाई जनतासम्म पु¥याउन वैचारिक मिडिया आवश्यक पर्न गएको हो ।
नेपालको सन्दर्भमा २००७ सालयता जेजति साना ठूला सामन्तवादविरोधी आन्दोलन भए, ती सबैको अगुवाइ समाजवादीले गर्दै आएको छ । यिनको नारा र कार्यक्रम तथा सामन्तवादविरोधी आन्दोलनमा मिडियाले खेलेको भूमिकाले सबैभन्दा ज्यादा महत्वपूर्ण रहँदै आएको छ । अहिले नेपालको वर्ग संरचना बदलिँदैछ । मध्यमवर्गको अनुपात र घेरो बढ्दै छ । मध्यमवर्गको उदयमा सबैभन्दा ठूलो कारक रेमिट्यान्स बन्दैछ । भाडा व्यवसाय, सट्टा व्यवसाय र बिचौलिया व्यवसायले पनि मध्यमवर्गको शीघ्र उदयलाई सघाउँदै छ । नेपालका मिडियाले आफू, सत्ता र स्रोतको केन्द्रमा पुगेपछि नेपालको समाजवादी आन्दोलनका नेता र उनका कार्यकर्ताको रातारात नयाँ धनाढ्य तथा कुलीन वर्गमा रूपान्तरित हुने प्रक्रियामाथि अंकुश लगाउन जरुरी छ । नेकपा (एकीकृत समाजवादी) का महासचिव कमरेड घनश्याम भुसालको भनाइमा राजनीतिक दलको नेतृत्व वर्गले साँझ–बिहानै दलाल पुँजी, डन र ठेकेदारसित बाक्लो भेटघाट गर्नुपर्ने बाध्यताका कारण त्यसले सरकारमा गएपछि नेपालको निम्न र मध्यम वर्गीय किसान र श्रमिक वर्गलाई बिर्सन थालेको छ । औद्योगिक क्रान्ति, कृषि क्रान्ति र क्रान्तिकारी भूमिसुधारको नारा दिएको कम्युनिष्टहरु दुईतिहाईको सरकार हुँदा दक्षिणपन्थी अवसरवाद र दलाल नोकरशाहको दलदलमा फसेर आफूले नेतृत्व गरेको सरकारलाई उद्यमशील, रोजगारमूलक तथा समाजवादमुखी बनाउन नसकेको स्पष्ट छ । नेपालमा अपनाइएको निर्वाचन प्रणालीमा पुँजीवादी प्रवृत्ति भएका कारण निम्न, मध्यम तथा श्रमिक वर्गले आफ्नै खर्चमा निर्वाचन लड्न सक्ने अवस्था छैन । सारमा नेपालको निर्वाचन प्रणाली पुँजीवादी र व्यक्ति भ्रष्ट बनाउने चरित्रको छ । समाजवादी शक्ति स्वयम्ले श्रमिक वर्गलाई धोका दियो भने लामो समय त्यो वर्गले स्वयम् समाजवादलाई विश्वास गर्न गाह्रो हुने स्थिति पैदा हुन्छ । जुन दुभाग्र्यपूर्ण हुनेछ । शक्ति र पैसाले सबै थोक किन्न सकिने अवस्थाको अन्त्य गर्न मिडियाले समाजवादको लागि स्थानीय वर्ग संर्घर्षलाई मलजल गर्नुपर्नेछ । जसरी मिडियाले २००७ सालमा राणाशासन अन्त्य, २०३६ सालको जनमत संग्रह, २०४६ सालको आन्दोलन र बहुदल स्थापना, २०५२ सालदेखिको जनयुद्ध, २०६२/६३ सालको जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा झैँ अझ वैचारिकरुपमा अघि बढेर सामाजवादको आन्दोलनमा मिडियाले रक्षा कबचको भूमिकासाथ समाजवादी आन्दोलनको अभिन्न अंग अर्थात सारथिको रुपमा भूमिका निर्वाह गर्नुपर्दछ ।
निष्कर्ष :
सबै राजनीतिक घटना तथा आन्दोलनमा जनपक्षीय पत्रकारिता निरकुंशताविरुद्ध अग्रगमनका पक्षमा खडा हुँदै आएको प्रति हामी सबै गौरवको महसुस गरिरहेकै छौँ । यही आवश्यकतालाई पूर्ति गर्न नेपालमा कम्युनिष्टले पत्रकारका वैचारिक जनसंगठन बनाउनु परेको हो । पत्रकारिता राजनीतिक आन्दोलनको अभिन्न अंग भएकाले यसको राजनीतिक दृष्टिकोणमा पनि त्यसैअनुरुप संगठनको आवश्यकता परेको हो । त्यसैले, सबैखाले सर्वसत्तावादविरुद्ध उभिँदै जनताका पक्षमा र पुँजीवादी राज्यसत्ताविरुद्ध सशक्त विचार प्रवाह गर्नसक्ने विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता आजको आवश्यकता हो । समाजवादी मिडियाले वर्गीय विभेदको अन्त्यसँगै सुसूचित, सचेत, समान र स्वतन्त्र नागरिकको नयाँ नेपाल बनाउनु अहिलेको नेपाली समाजवादी आन्दोलनको सपना हो । हर्मन र चोम्स्कीले भनेझैँ जनतालाई लोकतान्त्रिक अभ्यासबाट टाढा राख्न अनि राज्यलाई सीमित व्यक्ति र ठूला कर्पोरेट शक्तिको हातमा राख्न मिडियाको प्रचारबाजी अनिवार्य हुनजान्छ । प्रजातन्त्रबाट लोकतन्त्रतिर, लोकतन्त्रबाट पनि लोकतान्त्रिक गणतन्त्र र लोकतान्त्रिक गणतन्त्रबाट समाजवादतिर फड्को मार्दै गरेको राजनीतिक व्यवस्थालाई मिडियाको महत्वपूर्ण भूमिका हुन्छ ।
समाजवादलाई राजनीतिक ढाँचाका रुपमा मात्रै बुझ्ने-बुझाउने र आर्थिक-सांस्कृतिक रुपान्तरणलाई बेवास्ता नै गर्ने कार्यले हाम्रो समाजलाई सार्थक परिणाम दिनसकेको छैन । जनताले आफूले चाहेको विचार राख्न, आफूले रोजेको माध्यमबाट विचार अभिव्यक्त गर्न ‘हामी यस्तो युगमा प्रवेश गरिसकेका छौँ जहाँ कुनै न कुनै खालका सञ्चारमाध्यम प्रयोग गरेर संसारको जनुसुकै भागमा पनि सूचना प्राप्त गर्नसक्छौँ । कुनै देशको मडिया कति स्वतन्त्र छ भन्ने आधारमा नै त्यो देश कति लोकतान्त्रिक छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यसैले स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र समाजवाद एउटै सिक्काका दुई पाटा हुन् । एउटाको अभावमा अर्कोको अस्तित्व सम्भव छैन । त्यसैले कुनै पनि दर्शन, सिद्धान्त वा प्रणालीको कसी व्यवहार हुन्छ । समाजमा नयाँ परिस्थिति आउँछ । त्यसैले हाम्रा विचार र सिद्धान्तले हरेक घटना र परिस्थितिमा आफ्नो औचित्य बारम्बार सावित गर्न सक्नुपर्दछ । विचारलाई व्यवहारमा उतार्न मिडियाको प्रमुख भूमिका हुन्छ ।
(विक, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा स्कूल विभाग सदस्य हुनुहुन्छ )
समाजवादी प्रेसबाट