कृष्ण चौहान
नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भर्खरै गरेको युरोप भ्रमणका बारेमा धेरै नै टिका टिप्पणीहरू भए। नेता नेपाललाई कसैले त देशै छोडेर भागेको आरोप लगाउन समेत भ्याए। मिडिया प्रोपोगण्डा यति धेरै गरियो कि नेता नेपालले भ्रमण बीचैमा छोट्याएर स्वदेश फर्किनु पर्यो। नेता नेपालको युरोप भ्रमणमा म पनि नजिकबाटै संलग्न रहेको कारण केहि सत्य तथ्य कुराहरू बाहिर ल्याउने जमर्को गरेको छु।
नेता नेपालको युरोप भ्रमण करिब ४ महिना अगाडि नै तय भएको थियो भने त्यसको योजना र मुख्य संयोजन प्रवासी नेपाली एकता मञ्चका युरोप इन्चार्ज सुवास पोखरेलजीले गर्नु भएको थियो। युरोपका विभिन्न देशका विभिन्न क्षेत्रमा उच्च अध्ययन, अनुसन्धान र काम गरिरहेका नेपाली युवाहरूले प्राइमिनिस्टर- इन- वेटिगं भनिएका नेता नेपाललाई आफ्नो क्षेत्रका बारेमा प्रिजेन्टेशन दिने र भविष्यमा देश निर्माणमा कसरी जोडिन सकिन्छ भनेर परामर्श गर्ने भ्रमणको मुख्य एजेण्डा थियो। भ्रमणको उद्देश्य राजनैतिक भन्दा वढी प्राविधिक थियो भने ललिता निवास काण्डसँग त त्यसको कुनै साइनो नै थिएन।
नेता नेपालको युरोप भ्रमणमा म सुरुवात देखि नै सहभागी थिएँ। स्विट्जरल्यान्ड र स्पेनको भ्रमणमा विशेष रूपमा प्राविधिक अध्ययन गरिएको थियो जसमा ETH विश्वविद्यालयको हाइड्रोलिक, हाइड्रोलोजी, र ग्लेशियोलोजीको प्रयोगशालामा भ्रमण, दुवै देशको यातायात प्रबन्ध प्रणालीको अध्ययन, पर्यटक गन्तव्यहरूको प्रबन्धन र प्रमोशनको अध्ययन, र नेपालमा गर्न सकिने योजनाहरूको बारे छलफल गरिएको थियो। क्रोशिया र युकेमा पनि विभिन्न विज्ञहरुले आआफ्नो क्षेत्रका प्रिजेन्टेशनहरु तयार पारेर बस्नुभएको थियो भने लण्डनका मेयर लगाएत केहि सरकारी अधिकारीहरू पनि भेट्ने तैयारी थियो।
नेता नेपालको भ्रमणका पछाडि यो बाहेक अन्य दुराशय केहि थिएन। अब हुने भनिएका प्रधानमन्त्रीलाई विदेशमा अध्ययन, अनुसन्धान र काम गरिरहेका नेपाली युवासँग जोड्नु र मुलुकको फाइदाका निम्ति उनीहरूको पनि सहभागिता होस् भन्ने हेतुले आफूले यो भ्रमणको खाका कोरेको भ्रमणका क्रममा सुभास पोखरेलजीले पटक पटक भन्नुभयो।
यति राम्रो तैयारी र योजना हुँदा हुदै पनि दुर्भाग्यवस Croatia र UK को भ्रमण क्यान्सिल गर्नु पर्यो। कारण थियो- ललिता निवास प्रकरण र भ्रमण को विषयमा अनावश्यक टिका टिप्पणी। अबस्य पनी कसैले गल्ति गर्छ भने सजाय पाउनै पर्छ - यो सबैको माग हो। तर सत्य तथ्य नबुझी गरिने हावादारी प्रचार र हौवाले कसैको हित गर्दैन। सबै कुरा भनेर, प्रष्ट पारेर हिँड्दा पनि नेता नेपाललाई कसै कसैले त देश छोडेर भागेको, स्विस बैंकमा पैसा लुकाउन गएको भन्न समेत भ्याए।
पूर्व प्रधानमन्त्री नेपालसंग करिव १ हप्ता समय बिताउने अवसर मलाई पनि प्राप्त भयो। मैले मेरो अध्ययन अनुसन्धानमा आधारित रहेर विभिन्न ब्रिफिगं र प्रिजेन्टेशनहरु दिएँ। भ्रमणको क्रममा वहाँ एकदम सरल, सहज तथा अरुको कुरा सुन्ने, अरुको बिचारलाई सम्मान गर्ने र हामी जस्ता युवाहरुलाई उत्प्रेरणा दिने मान्छे लाग्यो। मिडियाले बनाइदिएका त वहाँका पनि धेरै इमेजहरू छन्, तर पनि वहाँमा क्रिटिकल थिकिगं र विषयमा आधारित क्रश प्रश्नहरु गर्ने बानी पनि रहेछ। उखान टुक्का सुनाउने, एकछिन रमाइलो गराउने र सबै मैलाई थाहा छ भन्ने शैली चै मैले नेता नेपालमा देखिन। हुनत अनुसन्धान हुँदैछ, तर नेता नेपालको यस्तो सरल शैली र पारिवारिक पृष्ठभूमि बुझेर हेर्दा ललिता निवास काण्ड राजनीतिक प्रतिसोध हो भन्ने अनुमान अनुमान लगाउन मलाई चाहिँ गारो परेन।
PhD candidate
Aalto University School of Engineering
Department of Civil Engineering