सन्जिप राई
नेपालको राजनीतिक परिवर्तनका आन्दोलनमा युवाहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । निरङ्कुश राणा शासनविरुद्ध, पञ्चायत र राजतन्त्रविरुद्ध युवाले खेलेको भूमिका जति बखान गरे पनि कम हुन्छ ।
नेपालको प्रगतिशील युवा आन्दोलनले सामन्तवादलाई तोडेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो । यसमा युवाहरूले शान्तिपूर्ण आन्दोलन र सशस्त्र द्वन्द्वका माध्यमबाट महत्त्वपूर्ण भूमिका निभाएका छन् । देशभक्त प्रगतिशील युवाले नै सामन्ती उत्पादन सम्बन्ध, उत्पादन पद्धति र त्यसले खडा गरेका अवरोधलाई पन्छाएर यो व्यवस्था स्थापित गरेको हो । यो युवा आन्दोलनको गर्विलो विगत हो ।
नेपाली समाज पुँजीवादी चरणमा रहेको छ । तर दलाल चरित्र छ । नेपाली उत्पादनले अर्थतन्त्र थेग्न सक्दैन । ठुला ठुला उद्योग कलकारखाना छैनन् । राष्ट्रिय औद्योगिक क्रान्ति सम्भव छैन । नेपाली कृषि उत्पादनको बजार छैन । विदेशी उत्पादन निश्चित नाफामा नेपालीले नेपालीलाई बिक्री गरिरहेका छन् । उद्योग, पर्यटन, ऊर्जा, यातायात, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि लगायतका क्षेत्र सुदृढ छैनन् । देश निर्माण गर्ने युवा शक्ति विदेश पलायन भइरहेका छन् । बेरोजगारी समस्या चरम छ । नेपाली अर्थतन्त्र परनिर्भर रहेको छ । कुनै पनि देशको अर्थिक अवस्था परनिर्भर रह्यो भने जतिसुकै क्रान्तिकारी रहे पनि राष्ट्रियतामाथि प्रहार हुने रहेछ । देशको सिमाना मिचिइरहेको छ । साम्राज्यवादी- विस्तारवादीहरूको आन्तरिक तथा बाह्य हस्तक्षेप चरम रूपमा रहेको नेपाली जनताले अनुभूति गरिरहेका छन् । हाम्रो राज्य व्यवस्था दलाल पुँजीपति वर्गको नियन्त्रणमा छ । देशको राजनीति दल र नेताहरू दलाल पुँजीपति वर्गले घेरेका छन् । आजको युवा आन्दोलनको मुख्य कार्यभार दलाल नोकरशाही पुँजीवादलाई उन्मूलन गरी राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादमा पुग्नु हो ।
हामी युवा सङ्घ नेपालका नेता-कार्यकर्ता हौँ । हाम्रो माउ पार्टी नेकपा (एकीकृत समाजवादी) हो । मुख्यतः हामी माक्सवाद–लेनिनवादको जगमा उभिएका छौँ । युवा सङ्घ नेपाल देशभक्त प्रगतिशील, लोकतान्त्रिक र समाजवादी सङ्गठन हो । यो सङ्गठन नेपाली युवाहरूको हकहित र अधिकारका निम्ति पक्षपोषण गर्ने साझा र सामुदायिक सङ्गठन हो । युवा सङ्घ नेपालले बेरोजगार, अशिक्षा, कालोबजारी, अनियमिता भ्रष्टाचार र देशद्रोहीविरुद्ध आवज बुलन्द गर्दै आइरहेको छ । हाम्रो समाजमा विद्यमान रहेको कुरीति, कुसंस्कार, जातीय तथा लैङ्िगक विभेदविरुद्ध अभियानहरू सञ्चालन गर्दै आइरहेको छ । यी हाम्रा कार्यनीतिहरूले समाजलाई अग्रगतितर्फ धकेल्न विशेष भूमिका खेलेको छ ।
हाम्रो मुलुकलाई समाजवादको लक्ष्यमा पुर्याउन नेकपा (एकीकृत समाजवादी) लाई बलशाली बनाउनुपर्छ । त्यसैले समाजवादी आन्दोलन अगाडि बढाउनु वाम प्रगतिशील युवाको प्रमुख दायित्व हो । त्यसका लागि जुझारु र क्रान्तिकारी सङ्गठन आवश्यक पर्छ । तर युवा सङ्घ नै अराजक र अराजनीतिक भयो भने नेकपा (एकीकृत समाजवादी) को राजनीतिक चरित्र माथि प्रश्न उठ्न सक्ने कुरा स्वाभाविक रहन्छ । हाम्रो मुलुक, नेकपा (एकीकृत समाजवादी) र नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा अरूबाट सम्भव छैन । त्यस कारण राजनीतिक युवा सङ्घ नेपाल भविष्यका कर्णधार र अराजनीतिक युवा सङ्घ नेकपा (एकीकृत समाजवादी) को गलगाँडभन्दा अरू केही हुन सक्दैन ।
आजको साझा सवाल समाजवाद हो । हाम्रो मुलुकको लक्ष्य वैज्ञानिक समाजवाद हो । समाजवादी क्रान्तिलाई अगाडि बढाउन व्यपकतम संयुक्त वाम मोर्चा आजको आवश्यकता हो । हाम्रो पार्टीसहित चार वाम कम्युनिस्ट पार्टीले असार ६ गते ‘समाजवादी मोर्चा नेपाल’ घोषणा गरेको छ । मोर्चाले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु प्रमुख उद्देश्य रहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्दै विकृत राजनीतिलाई सुदृढीकरण गर्ने अवसर सिर्जना भएको छ । देशभरका न्यायप्रेमी नेपालीहरूमा आशाका दीपहरू बालेका छन् ।
समाजवादी मोर्चाका उद्देश्य तथा नीतिगत १५ बुँदे प्रतिबद्धताहरू-
१. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने ।
२. नेपालमा सदियौँदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने । त्यसका लागि निरन्तर जनपहल र जनदवाव सिर्जना गर्ने । मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सेती–महाकाली लगायत पिछडिएको क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने ।
३. राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारू, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्गलगायतका सीमान्तकृत समुदायको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने ।
४. जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसङ्गत र समावेशी समाजको निर्माण गर्ने ।
५. वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने । प्रगतिशील कर प्रणाली लागू गर्ने । देशको अर्थव्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने ।
६. आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने । गरिबी उन्मूलन र रोजगार प्रवद्र्धनका क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने ।
७. वैज्ञानिक भू–उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगीकरण, व्यावसायीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, ऊर्जा, जलस्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचना प्रविधि, भौतिक पूर्वाधार, यातायातलगायत क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रूपमा विकास गर्ने ।
८. शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने । सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने । शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने ।
९. जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने ।
१०. गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने । अनुगमन र मूल्याङ्कनका परिपाटी स्थापित गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखा परेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिसनतन्त्र जस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने ।
११. सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबिचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्व तथा स्रोतसाधन सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने । राज्यकातर्फबाट प्रदान गरिने सेवा सुविधा जनतामा पुर्याउन प्रदेश तथा स्थानीय तहलाई सक्षम बनाउँदै सङ्घीय समाजवादी प्रणालीलाई समृद्ध गर्ने ।
१२. देशको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधार मानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने ।
१३. विभिन्न कालखण्डमा भएका आन्दोलनहरूका कारण विभिन्न दलका नेता कार्यकर्तामाथि लगाइएका मुद्दाको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने । विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने ।
१४. समाजको विविधतायुक्त चरित्रअनुरूप राष्ट्रिय, लोकतान्त्रिक र वैज्ञानिक संस्कृति प्रवर्धन गर्ने । जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावहरूको अन्त्य गरी राष्ट्रिय एकता प्रवर्धन गर्ने । प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने ।
१५. समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने । श्रम–संस्कृतिलाई प्रोत्साहित गर्ने । श्रमजीवी जनताको पहलकदमीमा आर्थिक समृद्धिको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने ।
यो एतिहासिक घडीमा उल्लेखित बुँदाहरूले प्रगतिशील युवा आन्दोलनलाई थप आकर्षित तुल्याएको छ । फलस्वरूप युवा सङ्घ नेपाल, वाइसिएल नेपाल, युवा सङ्गठन नेपाल र समाजवादी युवा सङ्घले उत्साहका साथ स्वागत गरको छ । यो युवा आन्दोलनको महत्त्वपूर्ण आयम हो । यो संयुक्त वाम– युवा मोर्चा, सङ्गठन एकता वा विलयको निम्ति होइन । त्यस्तो धारणा सिर्जित हुन्छ भने त्यो चरम सङ्कीर्णता हो । यी प्रगतिशील चार सङ्गठनहरूले कार्यगत एकतामार्फत समाजवादी आन्दोलनलाई प्रभावकारी बनाउनु पर्छ ।
यो युवा मोर्चाले वाम युवा शक्तिहरूलाई गोलबन्द गर्दै राष्ट्रियताका लागि देशभक्तिपूर्ण आन्दोलन, जनजीविका सन्दर्भका विषय साथै आम युवाका मुद्दामा न्यूनतम साझा आवज मुखारित गर्नुपर्छ ।
नेपाली युवा मेहनत र उत्पादनले बाँच्न सक्ने बन्नु हो । मागी खाने वा लुटी खाने युवाहरूको जमातले होइन, गरी खाने युवाहरूको हातबाट मात्र समाजवादी क्रान्ति सम्भव रहन्छ । हामीसँग भएका युवालाई सीपसँग र सीप भएका युवालाई उत्पादन वा उधमशीलता जोड्दै राष्ट्रिय पुँजीको विकास गरी समाजवाद निर्माण गर्नुपर्छ ।
राई युवा सङ्घ नेपालका उपमहासचिव तथा प्रवक्ता हुनुहुन्छ ।