काठमाडौँ असोज ७
राष्ट्रिय जनसाँस्कृतिक महासंघ समाजवादीको अयोजनामा जनसंगीत मञ्च केन्द्रीय समितिको मुख्य प्रस्तुति सहित समाजवादी सांस्कृतिक साँझ सम्पन्न भएको छ । बुधबार नेकपा ( एकीकृत समाजवादी ) का वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका उपाध्यक्ष जयन्ति राई ,महासचिव वेदुराम भुसाल सहित नेताहरु र विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
समारोहमा चर्चित कलाकारहरुबाट सातै प्रदेशको प्रतिनिधित्व एवं संस्कृति झल्कने खालको सांस्कृतिक प्रस्तुति दिइएको थियो ।
कार्यक्रम लेऊ खुकुरी लेऊ जनता लेऊ खुकुरी लेऊ‘ भ्रस्टाचारीजतिलाई पुर्याइदिऊँ छेउ, पर्यो देशलाई चोट संविधान मास्नेलाई किन दिन्छौ भोट, कलम हो चुनाव चिन्ह कलमबाहेक अरुलाई भोट दिन्नँ, जागौँ है नेपाली आफ्नो पहिचान जोगाउन लागौँ है नेपाली, जाग लम्क चम्क हे नौ जवान हो, आयो आयो समाजवादी आयो लगायत गीतको प्रस्तुतिका साथै नृत्य प्रस्तुत गरिएको थियो ।
सो अवसरमा महासंघका उपाध्यक्ष एवं जनसाहित्यिक मञ्चका अध्यक्ष डा. पुरस्कारराज भट्टले पनि आफ्नो संगठनको तर्फबाट रचना वाचनसहितको प्रस्तुति दिनुभयो । सो अन्तरगत मञ्चका सचिवालय सदस्य दीपसागर पन्तले कवि राजेन्द्र राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ कृतिबाट कविता वाचन गरेर सुनाउनु भयो भने रघुनाथ कडरियाले गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा सामाजिक सांस्कृतिक अध्ययन मञ्चका अध्यक्ष डा. बालचन्द्र मिश्रले समेत आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघमा रहेर उल्लेखनीय योगदान पुर्याएका कलाकार समाजसेवीहरुलाई सम्मान समेत गरिएको थियो । प्रमुख अतिथि खनालको हातबाट कलाकारहरु नवीन पौडेल, ताज मोहम्मद मियाँ, दिनेश लम्साल, मिनाश्री लुङ्गेली मगर, रमेश कार्की, रन्जना भुजेल, रोजि कुँवर, कविता मगर, सिम्रन दुलाल, निशा खड्का, सन्जय डिम्पल, कमला न्यौपाने, कृष्ण केसी, कृष्ण आँसुलगायतलाई सम्मानित गरिएको थियो ।
कार्यक्रम मा महासंघका अन्य घटक संगठनहरु सामाजिक साँस्कृतिक अध्ययन मञ्च, जनपक्षीय चलचित्रकर्मी मञ्च, सामाजिक सांस्कृतिक अध्ययन मञ्च र ललितकला मञ्चका आआफ्नै छुट्टाछुट्टै प्रस्तुति रहेका थिए ।