काठमाडौं फाल्गुन ३०
नेकपा (एकीकृत समाजवादी) निकट मानिएको नेपाल दलित मुक्ति संगठनले स्थानीय निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज वा प्रदेश अध्यक्षलाई प्रमुख अतिथी बनाएर संगठनले ‘दलित बस्तीमा जाऔँ, नेकपा एसको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नाराका साथ चैत ५ गते कर्णाली प्रदेशको सुर्खेतबाट सो जागरण अभियानको प्रारम्भ गर्न लागेको हो ।
सो संगठनले चैत ७ गते सुदूरपश्चिमको धनगढी, चैत ११ गते लुम्बिनीको बुटवल, १३ गते गण्डकीको पोखरा, १५ गते मधेश प्रदेशको जनकपुर, १७ गते प्रदेश १ को इटहरी र चैत १९ गते वाग्मति प्रदेशको काठमाडौंमा स्थानीय निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्न लागेको संगठनका अध्यक्ष गणेश विश्वकर्माले बताउनु भयो ।
सो अभियानमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलित बस्तीमा पुग्ने र नेकपा एकीकृत समाजवादीको पक्षमा जनलहर सिर्जना गरिनेछ ।
साथै संगठनले प्रदेशहरुमा गरिने सो अभियानका क्रममा स्थानीय निर्वाचनमा दलित समुदायका सम्भावित उम्मेदवारहरुको सुची तयार पार्ने र पार्टीलाई बुझाउने छ ।
संगठनले सो अभियानसँगै गठन गर्न बाँकी रहेका जिल्लाहरुमा संगठन बिस्तार गर्ने, आगामी निर्वाचनमा जतिसक्दो दलित समुदायका उम्मेदवार उठाउने र विजयी बनाउन पहल गर्ने जनाएको छ ।