दिनेश खरेल
काभ्रे, भदौ ६
नेकपा ( एकीकृतसमाजवादी ) का केन्द्रीय सदस्य विदुर सापकोटाले आगामी सङ्घ र प्रदेशको चुनावमा गठबन्धन हुने बताउनुभएको छ । बनेपामा नेकपा ( एकिकृतसमाजवादी ) काभ्रेको एक कार्यक्रममा सम्बोधन गर्दै नेता सापकोटाले ओलीको प्रतिगमन , संबिधान र संघीयता बिरोधी गतिविधिलाई परास्त गर्नका लागि पनि आफूहरूले आगामी निर्वाचनमा गठबन्धन गर्नुपरेको बताउनु भयो ।
नेकपा एमाले संघीयता र धर्मनिरपेक्षताको विरोधी भएको उहाँको तर्क थियो । एमाले नेता गोकुल बाँस्कोटालाई लक्षित गर्दै एमालेका केही नेताहरू संघीयताको विरोधमा बोल्दै हिँडेका छन । संघीयता र धर्मनिरपेक्षता भारी भयो भन्ने तर्कले केही अर्थ राख्दैन । परिवारका सदस्य धेरै भए भने आय आर्जनको नयाँ बाटो खोज्ने कि ? यिनीहरू बोझ हुन भनेर घर नै भत्काइदिऊँ भन्ने ? यो पनि कुनै राजनीतिक तर्क हो ? भनी प्रश्न गर्नुभयो।
जनताका अधिकारहरू खोस्न विरोधी तत्त्वहरू लागिपरेका हुनाले, अबका दिनमा अस्तित्व जोगाउनका लागि गठबन्धन आवश्यक रहेको भन्दै गठबन्धनको मर्मअनुसार संघ र प्रदेशको चुनावमा सक्रिय भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। आगामी सङ्घ र प्रदेशको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले सम्मानजनक सिट संख्याहरु पाउने ठोकुवा गर्दै कार्यकर्तालाई आफ्नो पार्टीको हैसियत बढाउन र संगठन विस्तार गर्न निर्देशन दिनुभयो। हामीले हाम्रो पार्टीको सङ्गठनलाई जतिसक्दो ठुलो बनाउन सक्यौँ भने हामी मजबुत हुनेछौं ।
त्यसपछि हामीलाई हकदाबी गर्न सजिलो हुनेछ। गठबन्धन हुन्छ भन्दैमा हामीले अरु पार्टीको भर पर्न नहुने, र सचेत हुँदै अगाडि बढ्नु पर्छ। किनभने स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले धोका दिएको बिर्सन नहुने पनि स्मरण गराउनुभयो ।
काभ्रेमा एकीकृत समाजवादीलाई एक्लो बनाएर, पाखा लगाएर, होच्याएर कसैले चुनाव जित्छु भन्ने नसोचे हुन्छ । उहाँको भनाइ थियो हामीलाई अपमान गरिए काभ्रेमा गठबन्धनको कसैले चुनाव जित्न सक्दैन ।एकीकृत समाजवादी काभ्रेमा कमजोर छैन गठबन्धनका साथीहरुले बुझ्नु जरुरी छ। देशका अन्य भागमा भन्दा काभ्रेमा समाजवादीको संगठन राम्रो छ।
नेता सापकोटाले दोधारमा परेर कहिले पनि गन्तव्यमा पुग्न नसकिने बताउनुभयो । त्यसैले पार्टी सङ्गठनमा सबै सङ्गठित भएर अगाडि बढ्नु पर्छ , बैठकहरू बस्नु पर्यो , कार्यक्रमहरु बनाउनुपर्यो । द्वन्दकालिनअवस्थामा पार्टी सञ्चालन गर्न गाह्रो थियो , तर अहिले अवस्था सहज छ । अहिले एकीकृत समाजवादीको संक्रमणकालीन अवस्था रहेकोले एकजुट हुन जरुरी छ। साथै आगामी निर्वाचनलाई मध्यनजर गर्दै सम्पूर्ण पार्टीपंक्तिका नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो।