रौतहट, साउन १७
नेकपा (एकीकृतसमाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता बारम्बार ठगीमा पर्ने गरेको बताउनु भएको छ । रौतहटका विभिन्न नगरपालिकाहरूमा निर्माण हुने महत्वपूर्ण सहरी पूर्वाधारहरूको शिलान्यासका क्रममा रौतहट पुगेका नेपालले गौरमा आयोजित समारोहमा सो धारणा राख्नुभएको हो ।
उहाँले जनताको नाममा छुट्टिएको रकमको सही सदुपयोग हुनुपर्नेमा जोड दिँदै आफ्ना क्षेत्रमा भएका विकास निर्माणका कामको अनुगमन स्वयं स्थानीय नागरिकले पनि गर्नुपर्ने धारणा राख्नुभयो ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास भएका सबै योजनाहरू समयमै सकिने धारणा राख्नुभएको थियो ।
सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक विकास कार्यक्रम अनुसार विनियोजित सहरी पूर्वाधार निर्माण अन्तर्गत गौर नगरपालिका -२ मा सभाहल, राजदेवी र गौर नगरपालिकाका विभिन्न सडक कालोपत्रे तथा खसानसम्मकायोजनाहरू रहेका छन् ।
गौरमा बन्ने सभाहलको अनुमानित लागत २० करोड रहेको छ । ५ सय सिट क्षमताको सभा हल करिब ६ कट्ठा क्षेत्रफलमा बन्ने छ । वातानुकुलित , अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी, आपतकालीन द्वारहरु , वाटर फाउन्टेन सहित सुन्दर पार्क समेत रहने छ भने २४ महिना भित्र निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ ।
त्यसैगरी गौर नपा -४ टिकुलिया मठदेखि गठबन्धनसम्म र ट्रान्सफर्मर चोकदेखि मुडवलवा सम्म सडक कालो पत्रे तथा सडक ढलान गर्न १२ करोड, रामजानकी विवाह मण्डप निर्माणका लागि करिब ८ करोडका योजना रहेका छन् भने राजदेवी नगरपालिका १ देखि ९ सम्मका विभिन्न स्थानका सडक कालोपत्रे तथा ढलानका लागि ५ करोड छुट्याइएको छ ।
शिलान्यास समारोहमा संघीय सांसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्का, संघीय सांसद सरला यादव, मधेस प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरूको विशेष उपस्थिति थियो ।