झापा चैत्र १८
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) झापा चुनावी गतिविधीमा सक्रिय भएको छ । पार्टीले झापामा एक हजार एक सय सदस्य रहेको चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।
एकीकृत समाजवादी ले झापामा संगठन सुदृढीकरणसँगै आगामी स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । ओली गुटलाई परास्त गर्ने गरी झापामा सम्मानजनक उपस्थितिमा पार्टीलाई ल्याउने दावी एकीकृत समाजवादीले गरेको छ ।
बिर्तामोडमा शुक्रबार पत्रकार भेटघाट आयोजना गरी पार्टीले २ सय ५१ सदस्यीय झापा जिल्ला कमिटीमा बाँकी रहेका पदाधिकारीहरुलाई पूर्णता दिनुका साथै कार्यालय कमिटी र सचिवालय चयन गरेको जानकारी दिएको छ ।
पार्टीले जिल्लाका १५ वटै पालिकामा इन्चार्ज, भातृ संगठन, मोर्चाका इन्चार्ज, संघीय इकाई र प्रदेश इकाईका संयोजक र सचिव तोकेको जनाएको हो । झापाको ९० वटा वडामा कमिटी गठन गरेको बताउँदै ७ हजार ४६ जना संगठित सदस्य रहेको कार्यक्रममा जानकारी दिएको छ ।
नेकपा एकिकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीले ओली गुटलाई निमिट्यान्न पार्न चाहेको बताउनु भएको छ । यदि त्यसो भएमात्र नेपालको कम्युनिष्ट आन्दोलन ठीक दिशाामा अघि बढ्ने रेग्मीको भनाई छ ।
रेग्मीले पार्टीको केन्द्र तथा प्रदेशको कार्ययोजना अनुरुप संगठन सुदृढीकरण तथा निर्वाचनको अभियानको तयारीका लागि सबै शक्ति केन्द्रित गर्दै जाने, चुनावका लागि आवश्यक वार्ता, संवाद, तालमेल, गठबन्धन गर्ने र गठबन्धनमा रहेका दलहरुबीचको साझा सहमति कायम गर्नका लागि आफ्नो संयोजकत्वमा समिति गठन गरेको जानकारी दिनुभयो । पार्टीले समन्यायका आधारमा गठबन्धन भित्र जिल्लाका सबै पालिका र वडामा उम्मेवारी दिने बताइएको छ ।
पार्टीले झापामा आफ्नो उपस्थितिलाई बलियो र सशक्त पार्दै लगेपछि धेरै एमाले भित्रका इमानदार र प्रस्ट सोच भएका कार्यकर्ता पार्टीमा लामबद्ध भएको अध्यक्ष बेदराज रेग्मीले बताउनु भएको छ ।
पार्टीको केन्द्र तथा प्रदेशको कार्ययोजना अनुरुप संगठन सुदृढिकरण तथा निर्वाचनको अभियानको तयारीका लागि सबै शक्ति केन्द्रित गर्दै जाने, चुनावका लागि आवश्यक वार्ता, संवाद, तालमेल, गठबन्धन गर्ने र गठबन्धनमा रहेका दहरुबीचको साझा सहमति कायम गर्नका लागि जिल्ला अध्यक्ष वेदराज रेग्मीको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिएको छ ।
समितिले केन्द्रीय स्तरमा हाल कायम रहेको गठबन्धनलाई जिल्ला, पालिका र वडास्तरसम्म कायम राखेर लैजान छलफल र संवाद थालेको छ । पार्टीले जिल्लामा एक्लै चुनावी मैदानमा जान सक्ने सामाथ्य राखे पनि आजको आवश्यकता, उपस्थिति र समन्यायका आधारमा र समुचित सहभागितामूलक तालमेलको पक्षमा रहेको अध्यक्ष रेग्मीले स्पष्ट पार्नुभएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा झापा जिल्ला प्रचार विभाग प्रमुख तीथ सिग्देल, उपसचिव बिपी भट्टराई, जिल्ला सदस्य सानुकुमार लामालगायतको उपस्थिति रहेको थियो ।