काठमाडौँ। नकपा (एकीकृत समाजवादी) का युवा नेता पुष्पक केसीले देशको हालको राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सत्तामा रहेका नेताहरूको व्यवहारप्रति कडा आलोचना गर्नुभएको छ।
काठमाडौँमा आयोजित हिजो एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले सत्ता स्वार्थको माध्यम बन्न थालेकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘जब देशका अगुवाहरू आफूलाई राष्ट्रभन्दा ठूलो ठान्छन्, र सत्तामा रहेका नेताहरूले देशलाई आफ्ना व्यक्तिगत स्वार्थको औजार बनाउँछन्, त्यस्तो बेला बेइमानीहरू शासकका रूपमा उदाउँछन्।’
उनका अनुसार देशको राजनीतिमा अहिले नीति होइन, नियतमा समस्या देखिएको छ। ‘राजनीति जनताको सेवामा होइन, व्यक्तिगत लाभको साधन बन्ने क्रम बढ्दो छ,’ भन्दै उनले सत्ता–केन्द्रित सोच, गुटबन्दी प्रवृत्ति र संस्थागत भ्रष्टाचारप्रति तीव्र असन्तोष व्यक्त गरे।
जनताको मौनता दुर्घटनाको संकेत के?
नेता केसीले सचेत नागरिक चेतनाको खाँचो औंल्याउँदै भने, 'यदि जनता मौन रहन्छन् भने, त्यो मौनता नै भविष्यको भयावह राजनीतिक दुर्घटनाको संकेत बन्न सक्छ। उनका अनुसार लोकतन्त्रको रक्षा केवल मत खसालेर सकिँदैन। नागरिकको निरन्तर निगरानी, आलोचनात्मक चेतना र समयमै प्रतिरोध आवश्यक छ। देश संकटमा हुँदा मौन रहनु देशप्रेम होइन, जिम्मेवारीबाट पलायन हो,ू उनको तर्क थियो।
सत्ता भनेको सेवा हो, स्वार्थ होइन र?
नेता केसीले सत्तालाई जनताको सेवा गर्ने माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए। ‘सत्ता भनेको सेवा हो, स्वार्थ होइन। देशको नीति, स्रोत र शक्ति जनताको लागि प्रयोग हुनु पर्छ, नेताहरूको सत्ताको संरक्षणका लागि होइन,’ उनले स्पष्ट पारे।
नेतृत्वको नैतिक हैसियतबारे प्रश्न के हो ?
केसीले नाम नलिए पनि सत्तामा रहेका नेताहरूको कार्यशैलीप्रति प्रत्यक्ष संकेत गर्दै भने,‘जनताको आवाज सुन्न नसक्नेहरूलाई नेतृत्वमा रहने नैतिक हैसियत हुँदैन।’ उनको अभिव्यक्तिले हालको सत्ता व्यवस्थामा असन्तुष्टि मात्र होइन, चेतावनीसमेत समेटेको देखिन्छ। राजनीतिक विश्लेषकहरूले नेता केसीको भनाइलाई वर्तमान सत्ताधारी शक्तिप्रति जनआक्रोशको प्रतिविम्बका रूपमा अर्थ्याएका छन्।
युवा पुस्ताको प्रतिनिधि स्वर
पुष्पक केसी नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका नेता हुन्। पछिल्लो समय उनी जनपक्षीय धारणा, निर्भीक वक्तव्य र विवेकशील राजनीतिका लागि परिचित हुँदै गएका छन्। विश्लेषकहरूका अनुसार “नेता केसीजस्ता नयाँ पुस्ताका नेताहरूको प्रस्ट र सशक्त आवाजले देशमा नयाँ राजनीतिक चेतनाको सम्भावना देखिएको छ।’