काठमाण्डौ २९ फाल्गुन
पेशागत महासंघ नेपालमा आवध्द घटक राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा भएको सहकारी कर्मचारीहरुको बृहत भेलाले श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।
नवगठित समितिका उपाध्यक्षहरुमा धनबहादुर खत्री,राधा कडरिया र प्रशान्त जिसी चयन भएका छन् । महासचिवमा गंगाप्रसाद रिजाल, उपमहासचिवमा पुरुषोत्तम श्रेष्ठ, सचिवमा मनिषा लम्साल र कोषाध्यक्षमा तुलसीराम थापा छन् ।
त्यसअघि उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पेशागत महासंघ नेपालका संयोजक प्रेमलकुमार खनालले सहकारीहरुलाई सुशासनयुक्त संस्थाको रुपमा विकास गर्दै उत्पादनमुखी क्रियाकलापमा लैजानु पर्नेमा जोड दिनुभएको थियो ।
मुलुकमा ३४ हजारको हाराहारीमा रहेका सहकारी संस्थामा एक लाख ५० हजार कर्मचारी आवध्द रहेको प्रसंग निकाल्दै उहाँले एकताले ताकत निर्माण गर्ने भएकाले सहकारीहरुले सामूहिक सोच र योगदानमा आधारित काममा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य गोपाल बराल,केन्द्रीय सदस्य तथा जिल्ला कमिटी काठमाडौंका अध्यक्ष कुसुमकुमार कार्की,पेशागत महासंघका महासचिव रामप्रसाद रिमाल,सहकारीकर्मी राधा कडरिया, सेवानिवृत्त कर्मचारी संगठनका वेदनिधी निरालालगायतका वक्ताहरुले राष्ट्र निर्माणमा सहकारीले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो ।
पेशागत महासंघ नेपालका सचिवालय सदस्य तथा सहकारी इञ्चार्ज धरणीधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमले तीन बुँदे प्रस्तावसमेत पारित गरेको छ ।
भेलाले सरकारलाई राष्ट्रिय श्रम आयोग गठन गर्न जोडदार माग गरेको छ । भेलाले सहकारी क्षेत्रका श्रमिकहरुका आर्थिक तथा समाजिक सवालहरु सम्बोधन गर्न छ महिनाभित्र प्रदेश तथा जिल्ला समितिहरु गठन गरी राष्ट्रिय भेला गर्ने प्रस्ताव पारित गरेको छ ।