कुनै समय थियो जुनबेला नेपाली विद्यार्थी परिवर्तनका सम्वाहक थिए । अहिले यो कुरा एकादेशको कथा जस्तो भएको छ । अहिलेका विद्यार्थीलाई विद्यार्थी आन्दोलन र विद्यार्थी सङ्ठन पनि थाहा छैन । थाहा पनि किनहोस् ? कक्षा १० पास गरेपछी के गर्ने, के पढ्ने, के पढ्दा भविष्य सुनिश्चित हुन्छ अथवा कुन देश जाने के पढ्ने, त्यो देश जाने प्रक्रिया के-के हुन् जस्ता कुराले पिरोलिरहेको हुन्छ । त्यो हुनुपनि स्वभाविक हो । यो विश्वव्यापीकरणको प्रभाव मान्न सकिन्छ । महत्वपूर्ण कुरा त हाम्रो देशको परिस्थिति पनि हो । छुटाउनै नहुने कुरा त दिनैपिछे पशुपतिको मृगस्थलीमा राखिएका मृग जस्तो वा त्यही वरिपरी कुद्ने अलिअलि मान्छेले छरेको चारो लुच्छाचुडी गरेर खाने बाँदर जस्ता नेताको अनुहार र तिनीहरूको उपद्रो दिनैपिच्छे देख्नु परेर, तिनीहरूको आस्वासन सुन्न परेर पनि हो । यो विद्यार्थीहरूको मौन आन्दोलन पनि हो । विकल्प खोज्नुको विकल्प नै नरहेपछि विदेसिनुको अलावा देशमा विकल्प छैन । दलाली गर्नेको मात्र राम्रो भविष्य छ । उद्योगधन्दा कल–कारखाना स्थापनाको त देशमा सम्भावना नै छैन । कृषि प्रधान देशमा उत्पादनको अवस्था हेर्ने हो भने दयनीय छ । २०७८ को कृषि गणनाको तथ्याङ्कलाई हेर्ने हो भने ३९ लाख ९९ हजार परिवारले खेतिपाती गरेको र १ लाख ३२ हजार परिवारले पशुपन्छी मात्र पालेको पाईन्छ । जब कि २०७८ को जनगणनाअनुसार देशको कुलपरिवार संख्या ६६ लाख ६६ हजार ३७ छ । अघिल्लो गणनाको तथ्याङ्कभन्दा केही बढेको पाइएपनि सन्तोषजनक परिणाम देखिँदैन ।
यसरी बढ्दै गरेको कृषि परिवारलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने, तिनीहरुलाई अझ बढाउने कार्य गर्नुपर्ने, भूगोल र नेपालीको अवस्था हेरेर नीति बनाउनुपर्नेमा पनि सरकारको ध्यान देखिँदैन, यसमा विद्यार्थी संगठनको धारणा के छ ? आधुनिक कृषि प्रणालीमा हालका युवालाई जोड्न त्यस किसिमको पाठ्यक्रम विकास गर्न र ब्यवहारिक रूपमा प्रयोग गर्नमा सरकारलाई दबाब सिर्जना गर्नमा विद्यार्थी आन्दोलन चुकिरहेको छ । भविष्यका कर्णधार भनिएका विद्यार्थी युवाहरू एकपछि अर्को गर्दै विदेशपलायन भैरहेका छन् । तिनीहरूलाई नेपालमै केहीगर्ने वातावरण हुनुपर्ने हो त्यतातिर पनि सरकार मुकदर्शक बनेको छ । नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्ष २००÷१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रूपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब १ करोड विदेशिएको थियो । यता सरकारले शिक्षामा आर्थिक वर्ष २००÷८१ लाई ९७ अर्व २९ करोड रूपैयाँ बिनियोजन गरेको छ । यस आर्थिक बर्षमा शिक्षा मा छुट्याइएको बजेट र ५ महिनामै पढ्न विदेशिएका विद्यार्थीले लगेको पैसाको अवस्थालाई तुलना गर्ने हो भने झण्डै उस्तै छ । यद्यपि अध्ययनको क्रममा विदेशिएका विद्यार्थीले लगेको पैसाको तथ्याङ्क ५ महिनाको मात्र हो । यसै अनुपातमा बिदेशिने पैसा बढ्ने हो भने पुरै आर्थिक वर्ष सकिम्दासम्मको विदेशिने पैसा र यसै आर्थिक वर्षमा शिक्षा क्षेत्रमा बिनियोजन गरिएको पैसा उस्तै हुन आउँछ । अझ् विनियोजन गरेजति खर्च हुनसक्दैन ।
अतः शिक्षामा छुट्याइएको बजेट पनि आन्तरिक र बाह्य ऋणबाट बजेट निर्माण गरी विनियोजन गरिएको हो । यसरी देश खोक्रो बनिरहेको छ । देश जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यता देशभित्रका शैक्षिक क्षेत्र विद्यालय, विश्वविद्यालयभित्र माफियाको चलखेल अत्याधिक छ । निजी विद्यालयले त झन् छाता संगठन बनाएर नै ब्रम्हलुट गरिरहेका छन् । दलाली गर्नेहरुको संगठन मजबुत बनिरहेको छ । संगठनभित्र पनि दलालि गर्ने अवसरवादिहरू यत्रतत्र छन् । निजी विद्यालयले मनपरी विद्यार्थीलाई पैसा असुलेर पढाएको पाइन्छ । सरकारी विद्यालयमा पढाउने शिक्षककै निजीमा बिद्यालयमा लगानी हुन्छ । ती सरकारी विद्यालयका शिक्षक राजनीतिक पार्टीसँग आवद्ध हुन्छन् । पढाउनुभन्दा बढी विद्यालयमा राजनीति गर्छन् । सरकारले समयमा शैक्षिक संस्थामा पाठ्यपुस्तक पु¥याउन सक्तैन । सरकारी र सामुदायिक विद्यालयमा राजनीतिक भागबण्डामा नियुक्त भएका शिक्षकले न राम्रो पढाउछन् न सरकारले नियमन गर्छ । यसरी विद्यार्थी र अविभावक बिचलित बनेर बाध्य हुन्छन् निजि विद्यालयमा भर्नागर्न । अनि निजी विद्यालयको मोलमोलाइ धन्दा सुरू हुन्छ । यहाँ अर्थशास्त्रको नियमलाइ राख्न जरूरी छ । मूल्यको नियम अर्थात माग बढ्दा मूल्य बढ्ने माग घट्दा मूल्य घट्ने यस्तै निजि विद्यालयको बाध्यकारी माग बढ्दा तिनीहरूमा पढ्दा लाग्ने खर्च पनि बढेको छ । विद्यार्थी विचलित बनेको छ सरकारी विद्यालयमा भर्ना हुन मान्दैनन् शिक्षाको गुणस्तरलाई कारण देखाउँछन् अनि कारण देखाउछन राजनीतिभित्रको चरम अराजनीतिक क्रियाकलापलाई । विद्यार्थीले कक्षा ८ पास गर्दा बाटै विदेशिने सोच बनाउछ अनि त्यतातर्फ लाग्छ । पढने खेल्ने उमेरमा भविश्यको चिन्ता लिन थालेपछि विद्यार्थीको मानसिक स्वास्थ्य पनि बिग्रिन्छ ।
यस्तो अवस्थामा विद्यार्थीको हक र हितका निम्ति भनेर जन्मिएका विद्यार्थी सङठन कानमा तेल हालेर बसेका छन् । प्रक्रिया पूरागर्न अथवा यसो देखाउनलाई भए पनि विज्ञप्ति बुझाएझैँ गर्छन् आन्दोलन गरेझैँ गर्छन् र प्रचारबाजी गर्छन् । प्रत्येक राजनीतिक पार्टी निकट विद्यार्थी सङठन छन् तिनीहरूको काम नै पार्टीले उठ भने उठ्ने, बस भने बस्ने भएको छ । यतिबेला विद्यार्थी आन्दोलन जाग्नुपर्ने हो । एकजुट भएर लड्नुपर्ने हो तर त्यसो देखिँदैन । कुनै समय पञ्चायत फ्याक्न सक्ने ल्याकत राख्ने विद्यार्थी आन्दोलन आजको दिनमा आउँदा दलाल पूँजिपतिको चौघेरामा फस्न पुगेको छ । अनि दबिन्छन् आवाज उठन नपाउँदै यसरी विद्यार्थी आन्दोलनलाई दबाइएको छ । अर्को शब्दमा भन्नुपर्दा दबिएको छ । हिजो यिनै विद्यार्थी संगठन हुन् विद्यार्थीलाई सार्वजनिक यतायातमा ४५% छुट गराउन आन्दोलन गर्ने । देशका प्रमुख परिवर्तनको आन्दोलनमा अग्रभागमा उभिएर काम गरेका विद्यार्थी संगठन आज कर्मकाण्डी कार्यमै व्यस्त छन् । न विद्यार्थीको समस्या थाहा छ न चासो नै राक्छन् ।
त्रिभुवन विश्वविद्यालय जस्तो देशकै ठूलो विश्वविद्यालयमा चरम राजनीतिक दलालीकरणको कारण लाखांै विद्यार्थीको भविस्य अन्योलमा छ । ४ वर्षे कोर्सलाई ७ वर्षलगाएर पढ्नु परेको छ । न समयमा रिजल्ट हुन्छ न समयमा परिक्षा । यस्तो लथालिङ्ग अवस्थामा रहेको विश्वविद्यालयमा स्ववियू पनि छ । तर, निकम्मा स्ववियु देखाउन आन्दोलन गरेजसो गर्छ र भित्रभित्रै मौन बस्छ । यस्तो अवस्थामा अन्य विद्यार्थी संगठन पनि चुपचाप छन् । भविष्यका कर्णाधार भनिएका विद्यार्थी र विद्यार्थीका संगठन आज छैनन् भन्दापनि फरक नपर्ला । यी आफ्ना पार्टीका शीर्ष नेताको आसेपासे मात्र भएको देखिन्छ । विद्यार्थी संगठन शीर्ष नेतामाथी कसैले केही भन्यो भने आन्दोलन गर्ने संगठन विद्यार्थीका तमाम समस्यामा मौन छन् ।
यी तमाम समस्याहरू छन् । तर, समस्या छन् भनेर आतिनु हुँदैन । विद्यार्थी संगठनहरूले यस्तो समयमा एकजुट भएर विद्यार्थीका समस्या माथी छलफल र त्यसको निष्कर्षतर्फ जोड दिनुपर्ने देखिन्छ । नेपालमा पढाई हुने विषयहरू नेपालको माटो सुहाउँदो नेपालको आवश्यकता अनुरूप बनाउनतर्फ विद्यार्थी आन्दोलनले बहस छेड्नुपर्ने देखिन्छ । उत्पादन र रोजगारीमा जोड्ने खालको शिक्षालाई ब्यवहारिक रूपमा लागू गर्न विद्यार्थी आन्दोलन जाग्नुपर्ने देखिन्छ । माध्यमिक शिक्षा निःशुल्क र गुणस्तरयुक्त बनाउन अबको विद्यार्थी आन्दोलन केन्द्रित हुनपर्ने देखिन्छ । दिनानुदिन विदेशीरहेका विद्यार्थीको निम्ति छलफल बहस गरेर सकेसम्म देशमै बस्ने वातावरण निर्माणमा जोड दिनुपर्ने देखिन्छ । विदेशमा गएर पढिरहेका विद्यार्थी जो अध्ययन सकेपछि दक्ष जनसक्ति नेपालमा आएर स्थापित गराउने वातावरण निर्मामा ध्यान दिन जरुरी देखिन्छ ।
देशमा व्याप्त भ्रस्टाचार देख्दादेख्दै सुन्दासुन्दै युवामा निरासा पैदा भएको छ । आफूले मिहेनत गरेर कमाएको पैसाले तिरेको करको दुरुपयोग हुदा, त्यसबापतको सेवा सुबिधा नपाउदा आम जनतामा निरासा आउनु स्वभाविक हो । यस्तो अवस्थामा परिवर्तनको मूलधार भनिएका विद्यार्थी संगठन मौन बसेका छन । पञ्चायतकालीन अवस्थामा तात्कालिन राजनीतिक दलहरु प्रतिबन्ध रहेको बेला जनताको सारा अधिकार कुण्ठित भएको बेला २०३५ साल २१ गते शुक्रबार पाकिस्तानका प्रधानमन्त्री जुल्पिकर अलिभुट्टोलाई फाँसी दिएको कारण वा त्यसैको निहुमा सडकमा उत्रिएको विद्यार्थी आन्दोलनले तत्कालीन पञ्चायत सरकारलाई घुडा टेकाइ जनमत संग्रह गर्न बाध्य पारेको थियो । बालिग मताधिकार प्रत्याभूति गराउन पञ्चायत सरकालाई बाध्य पारेको इतिहास हामीसामु छ । त्यस्तो देशलाई नै एउटा परिवर्तनको मोडमा पु¥याउने विद्यार्थी आन्दोलन हाल त्यसैको ब्याज मात्र खाएको जस्तो देखिन्छ । विद्यार्थी आन्दोलन अहिले आएर निस्तेज हुदा देश नै दलालहरूको साम्राज्य बनेको छ । यत्रतत्र तमाम समस्या हुँदा विद्यार्थी संगठनहरूले देशब्यापी बहस चलाउनुपर्ने हो । अतिरिक्त कृयाकलाप गराएर विद्यार्थीहरुलाई सचेत बनाउनुपर्ने हो । तर, त्यतातर्फ कुनैपनि विद्यार्थी सङ्गठनको ध्यान गएको देखिँदैन । विश्वव्यापीकरणले यहाँ नभए त्यहाँ भन्ने संस्कृति सिर्जना गरेको कारण पनि देशमाभन्दा विदेशमा जाने संस्कृतिको बढी विकास भएको हुनसक्छ । विद्यार्थीले नै अग्रमोर्चामा लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था हामीसामु छ । उत्कृष्ट संविधान पनि हामीसामु छ । तर, कार्यान्वयन पक्ष फित्तलो भएका कारण जनताले, विद्यार्थीले सास्ती पाएका छन् । यस्तो अवस्था देखेर पनि विद्यार्थी संगठनहरु टुलुटुलु हेरेर बसेका छन् । विदेश जाने विद्यार्थी त विदेश जान्छन् आफ्नो भविष्य सुनुस्चित गर्छन् । विदेश जान नपाएका वा नसकेका विद्यार्थीहरू मानसिक रुपमा प्रताडित हुँदै बेरोजगार बस्नुपर्ने अवस्था छ । देशमा रोजगारीका क्षेत्र जस्तै सरकारी क्षेत्र, संथान, गैरसरकारी क्षेत्रका लागि पनि १ जनाको कोटामा हजारौंको संख्यामा भिडेको पाइन्छ । बेरोजगारी बढेको छ विश्वविद्यालयहरु खाली हुँदै गएका छन् । यस्तो बेलामा सचेत भनिएका भोलिको उज्याको भविश्य भनिएका कर्णधार भनिएका विद्यार्थी सङठनलाई यस बिषयमा संगठित भएर लड्ने परिस्थितिको सिर्जना गर्न के ले रोक्यो ? किन मौन छ विद्यार्थी आन्दोलन ? निजि विद्यालयहरुको अथवा निजि छेत्रको पकेट्मा कैलेसम्म बस्ने विद्यार्थी आन्दोलन ?
यदि परिवर्तन चाहाने हो भने पर्वाह नगरि व्यापक रूपमा विद्यार्थी आन्दोलनलाई सतहमा ल्याउन जरुरी छ । बहस र छलफल गरि रणनीतिक योजना बनाइ त्यसअनुरूप कार्यगर्न जरुरी छ । संविधानमा लेखिएको समाजवाद जस्तो गरिमामय ब्यवस्थालाई समाजमा ल्याउन र संस्थागत गर्न अवको विद्यार्थी आन्दोलन जरुरी छ । सार्वजनिक स्वार्थका निम्ति विद्यार्थी वर्गको स्वार्थका निम्ति अबको आन्दोलन, अबको बहस अवको व्यवहार त्यतातर्फ मोड्न जरूरी छ । विद्यार्थी परिवर्तनको सम्वाहक हुन्छन भन्ने भनाइलाइ व्यवहारिक रुपमा फेरिपनि पुष्टि गर्न जरूरी छ । हालको अवस्थाको गम्भीर चिन्तन मनन गरेर योजनावद्ध ढङ्गले अबको विद्यार्थी आन्दोलनको कार्यक्रम बनाउन जरूरी छ । सामाजिक सञ्जाल रङ्याउन, देखाउनका निमित्त मात्र गरेजसो गर्ने हो भने त्यस्तो भ्रमको खेती बन्द गर्दा पनि फरक पर्दैन । तर, विद्यार्थीको गरिमालाई उच्च पार्न तत्कालीन समस्यासग जुध्न विद्यार्थी संगठन तयार हुनपर्ने देखिन्छ । विद्यार्थी र समाजका सम्पूर्ण समस्याका समाधान खोज्नु नै विद्यार्थी आन्दोलनको मूल कर्तव्य हो । यो कर्तव्य हो भने हाल विद्यार्थी आन्दोलन कर्तव्यच्युत भएर मृतप्रायः बनेको छ । यस कुरालाई मध्यनजर गर्दै अबको विद्यार्थी आन्दोलनलाई सक्रिय गराउने बहस सतहमा ल्याउन जरूरी छ ।