काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ), गोरखा-काठमाडौँ सम्पर्क मञ्चले २०८० सालको शुभ दीपावलीका अवसरमा देउसी भैलो खेलेर २ लाख ५० हजार रकम संकलन गरेको छ भने केही रकम प्रतिबद्धताका रुपमा प्राप्त भएको छ ।
पार्टी सङ्गठनको सुदृढीकरणका निम्ति आर्थिक जोहो गर्ने उद्देश्यले खेलिएको देउसी भैलो कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी ) का उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डे हुनुहुन्थ्यो भने पार्टीका स्थायी कमिटी सदस्य आलोक रायमाझी, पोलिटब्युरो सदस्य दिलकुमारी पन्त, केन्द्रीय सदस्यहरु लगायत नेकपा एकीकृत समाजवादीका सयौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सम्पर्क मञ्चका उपाध्यक्ष कृष्णप्रसाद शर्माले कम्युनिस्ट पार्टी स्थापना र सङ्घर्षका समयको आफ्नो अनुभव बताउँदै उपस्थित सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो । देउसी भैलो कार्यक्रममा सहभागी हुँदै प्रमुख अतिथि पाण्डेले कम्युनिस्ट आन्दोलनलाई बचाउन नेकपा एकीकृत समाजवादीले मात्र सक्ने बताउँदै कम्युनिष्ट भड्काउका विरुद्ध जुट्न र देउसी भैलो जस्ता रचनात्मक कार्यक्रम आयोजना गरी संगठनलाई आत्मनिर्भर बनाउनुका साथै प्रताडित जनसमुदायलाई सहयोग गर्न सक्षम हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य आलोक रायमाझी, पोलिटब्युरो सदस्य दिलकुमारी पन्त, गोरखा जिल्ला पार्टी अध्यक्ष यादव बस्नेतलगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । देउसी भैलोमा २ लाख ५० हजार रकम केही रकम नगदै र केही रकम प्रतिबद्धताका रुपमा प्राप्त भएको नेकपा एकीकृत समाजवादीका गोरखा- काठमाडौँ सम्पर्क मञ्चका आर्थिक विभाग प्रमुख रञ्जन घिमिरेले जानकारी गराउनुभयो ।
कार्यक्रममा संयोजक तथा सम्पर्क मञ्चका उपाध्यक्ष सुजन सापकोटाले गोरखा- काठमाडौँ सम्पर्क मञ्च आफ्नो सांगठनिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गतको गतिविधिलाई सक्रियतापूर्वक अगाडि बढाइरहेको जानकारी गराउनुभएको थियो । सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सम्पर्क मञ्चमा सचिव आकाश अर्यालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँले यस्ता अतिरिक्त क्रियाकलाप र मनोरञ्जनात्मक कार्यक्रमले सम्पर्क मञ्चलाई सांगठानिक रुपमा विस्तारित हुन सहयोग पुर्याउने बताउनुभयो ।