काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले केराको पानामा ओइलाउने रोग ( टि.आर.-४ ) समयमै पत्ता लाग्दा जोखिमबाट केरा खेतीलाई बचाउँन सफल रहेको बताउनु भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) द्वारा आयोजित केराको पानामा ओइलाउने रोग ( टि.आर.–४) को निदान विषयक तीन दिने प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा सहभागि मन्त्री भुसालले यो रोगको पहिचान र समस्या समाधानमा मन्त्रालय सुरु देखी नै गम्भिर रुपमा लिएर अगाडि बढेको बताउनु भयो । उहाँले देशका बिभिन्न क्षेत्रमा कृषि क्षेत्रमा देखिएको रोग एवं समस्या पहिचान र त्यसको समाधानका लागि जुटन निर्देशन समेत दिनुभयो ।
‘यो प्रशिक्षणले प्राविधिकहरुको क्षमता बढाउँने काम गरेको छ । हामी सुरु देखी नै यसलाई गम्भिर रुपमा लिएर त्यसको अनुसन्धानमा जुटेकाले केरा खेतीलाई बचाउँन सफल भयौं’ मन्त्री भुसालले भन्नुभयो , ‘अब हामीले यहाँ सिकेका कुरा वास्तविक रुपमा प्रयोगमा ल्याउने छौं ।
किसानको समस्या र कृषिका रोगको पहिचान र त्यसको समाधान गरेर कृषि क्रान्तिलाई अगाडि बढाउँन यहाँका वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिकहरू सक्षम रहेको प्रमाणित भएको छ ।’ केरामा आयात हुने रोगको अवस्था बुझ्न जरुरी रहेको बताउँदै उहाँले तालिमबाट प्राप्त ज्ञान एवं सीप तत्कालै फिल्डमा गएर लागू गर्नुपर्ने भन्दै युवा वैज्ञानिकहरूले अरुभन्दा बढी अनुसन्धानमा विशेष मेहनत गर्नुपर्ने मन्त्री भुसालको भनाई थियो ।
कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले केरा खेतीमा देखिएको रोग पत्ता लगाउँने देखी त्यसको समाधानका लागि मन्त्रालय शुरु देखी नै गम्भिर रुपमा लागेको भन्दै कृषि क्षेत्रका समस्या एवं रोगहरू पत्ता लगाउँने र त्यसको समाधान गर्दै अगाडि बढने वैज्ञानिकहरूको साथमा मन्त्रालय रहेको बताउनु भयो ।
नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले सहकार्य, समन्वय गर्दै कृषि क्षेत्रमा देखिएका रोग एवं समस्या पहिचान गर्दै त्यसको समाधान गर्दै अगाडि बढेको बताउनु भयो । सामान्यतया पानामा रोगले स्थानीय मालभोग केरालाई क्षति पुर्याउने गरेको तर टि.आर.-४ प्रजातिको प्रवेश पछि नेपालको केरा उद्योगमा ठुलो क्षति पुग्ने आँकलन गरि त्यो क्षतिबाट समयमै केरा जोगाउन अपनाइएका बिभिन्न उपायहरु मध्ये यो तालिमले कृषि प्राविधिकहरूलाई कृषक स्तरमा टि.आर.-४ रेस पत्ता लगाउने तरिका र तिनको व्यवस्थापनका उपलब्ध उपायहरू बारे विस्तृत प्रशिक्षण दिइएको थियो ।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, बाली क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको संयुक्त आयोजना र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो ।