काठमाडौँ। राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको मतभार कायम गरेको छ।
आयोगले राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ दोस्रो साता निर्वाचन गर्ने तयारी गरेको छ। २०७८ को जनगणनाको तथ्यांकअनुसार मतदाताको मतभार पनि कायम गरेको छ। आयोगको बुधबारको बैठकले राष्ट्रिय सभाका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको मतभार कायम गरेको हो।
प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ। २०७८ को मतगणनाको प्रतिवेदन आउनुअघि राष्ट्रिय सभा निर्वाचक मण्डलका सदस्यहरू प्रदेश सांसदको मतभार ४८ थियो भने गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ थियो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि २०८० फागुन २० मा समाप्त हुन लागेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पदावधि सकिनु ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। फागुन २० मा पदावधि समाप्त हुनेमा एमालेका ७ सांसद छन्।
पदावधि सकिन लागेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना २०७४ मा एमालेबाट निर्वाचित भएका थिए। त्यसबाहेक इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राईको पनि पदावधि सकिन लागेको हो। राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिन लागेको छ। त्यसमा अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डे रहेका छन्।
माओवादीका तीन जनाको पनि पदावधि सकिन लागेको छ। जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन्। एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिन लागेको छ भने जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिन लागेको छ।
त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिन लागेको छ। राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ। पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनीत हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन हुन लागेको हो।