काठमाडौँ। नेपालको एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि दशरथ रंगशाला काठमाडौँमा सुरू हुँदैछ।
शुक्रबार साँझ ६ बजेदेखि सुरू हुने प्रतियोगितामा साविक विजेता काठमाडौँ रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग प्रतिस्पर्धा गर्दैछ। काठमाडौँको मार्कीमा राष्ट्रिय टिमका युवा स्ट्राइकर हिसुब थपलिया छन्। मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन्।
यस्तै पहिलो सिजन काठमाडौँ च्याम्पियन बन्दा मार्की र कप्तान रहेका गोलकिपर विकेश कुथु यस पटक इलामको मार्की छन्। इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन्। केसी पहिलो सिजन एफसी चितवनका प्रशिक्षक थिए।
काठमाडौँको टिममा यसपटक पहिलो संस्करणको उपाधि जित्दाका डिफेण्डर अन्जन राई मात्र टिममा छन्। उता इलाममा भने काठमाडौँबाट पहिलो सिजन उपाधि जितेका कप्तान विकेशसहित डिफेण्डरद्वय विमल पाण्डे, आशिष गुरुङ र आशिष राई छन्।
काठमाडौँमा कप्तानसहित युवा खेलाडीहरुको बाहुल्य छ भने इलाममा राष्ट्रिय टिमबाट खेलेका अनुभवी खेलाडीहरु छन्। गत सिजन चितवनका मार्की रहेका फरवार्ड भरत खवास पनि यस पटक इलाममा छन्। यस्तै राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि इलामकै टिममा छन्।
काठमाडौँ र इलामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन समारोह हुनेछ। जहाँ विभिन्न सांगीत प्रस्तुति हुनेछन्।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार उद्घाटन समारोहमा गायकद्वय सुशान्त केसी र वाङ्गदेन शेर्पा तथा ट्वीनी गर्ल्स (प्रिन्सी र प्रिज्मा खतिवडा) को प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ।
कोभिड महामारीका कारण पहिलो संस्करण विना दर्शक आयोजना हादा दर्शकहरुले घरमै बसेर टेलिभिजनमा हेरेका थिए। यसपटक दर्शकसहितको एनएसएल हुँदा आयोजक, सहभागी क्लब र खेलाडी सबै उत्साहित छन्।
यस्तै आयोजकले डिजे, चियरलिडरदेखि फुड स्टल समेत राख्ने जनाएको छ। मैदानमा एलइडी विज्ञापन बोर्ड पनि राख्ने आयोजकले जनाएको छ। एनएसएल मार्फत नेपाली फुटबलको स्तर विकास गर्ने र संस्कार फर्काउने प्रयास रहेको आयोजकले जनाएको छ।
यस्तो छ खेल तालिका
यसपटक तीन नयाँ टोलीसहित कुल ९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा साविक विजेता काठमाडौँ रेजर्स एफसी, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी यथावत छन् भने पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसी यस पटक सहभागि छैन।
यस्तै नयाँ टोलीमा झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड थपिएका छन्। प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ।
सिंगल राउण्ड रोविनमा हुने लिगमा लिगमा कूल ४० खेल हुनेछ। जसमा लिग चरणमा हरेक टोद्यीले एक आपसमा खेल्नेछन् र ३६ खेल हुनेछ। त्यसपछि प्लेअफमा चार खेल हुनेछ। जहाँ शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् र विजेता फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् र यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ।
६ दिन दुई दुई खेल हुनेछ। जसमा पहिलो पहिलो दिउँसो १ बजे सुरु हुनेछ र साँझको खेल साढे ५ बजे सुरु हुनेछ। दिउँसो जम्मा ६ खेल मात्र हुनेछ। बाँकी सबै खेल साँझ हुनेछ।