दोलखा । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल दोलखा आउनुभएको छ । सुरक्षित आप्रवासन स्रोत केन्द्र स्थापना तथा सञ्चालनको विषयमा छलफल गर्नका लागि मन्त्री लम्साल आज दोलखा आउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखामा बिहीबार भएको छलफलमा प्रशासन कार्यालयमा आप्रवासन स्रोत केन्द्र स्थापना गर्ने, भीमेश्वर नगरपालिकाले परामर्शकर्ताको व्यवस्था गर्ने, आप्रवासी स्रोत केन्द्र स्थापना र सञ्चालनका लागि प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भीमेश्वर नगरपालिकाको खातामा रकम पठाउने प्राविधिक सहयोग हेल्भेटास नेपालले गर्ने गरि बैठकमा सहमति भएको छ ।
बागमती प्रदेश सरकारका श्रम, रोगजार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले दोलखाको जिल्ला समन्वय समिति , खेलकुद विकास समिति दोलखा अनुगमन र जिल्ला प्रशासन कार्यालयमा रोजगारीको सिलसिला विदेश जान चाहाने दोलखाली युवायुवतीलाई सुरक्षित आप्रवासन (सामी) परियोजना सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सम्बन्धी छलफल भएको छ । सहमतिका आधारमा सम्झौता गरी तत्काल सुरक्षित आप्रवासन स्रोत केन्द्र स्थापना र सञ्चालन हुने बताइएको छ ।
सो केन्द्रले जिल्ला प्रशासन कार्यालय दोलखामा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन आएकाहरुलाई परामर्श दिनेछ । विदेशिने नेपालीको संख्या बढ्न थालेपछि बागमती प्रदेश सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाईकाउन्सेलिङ गर्न जिल्ला प्रशासन कार्यालयमै सुरक्षित आप्रवासन स्रोत केन्द्र स्थापना गर्ने भएको हो ।
दोलखा आउनु भएका मन्त्री लम्साललाई नेकपा एकीकृत समाजवादी दोलखाले पार्टी कार्यालयमा स्वागत गरेको थियो । उहाँलाई नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य गोपाल न्यौपाने, जिल्ला कमिटी सदस्य कल्याण दहाल,दिपकधनुके ,पुष्पक केसी , लगायतले स्वागत गर्नुभएको थियो । मन्त्री लम्साल भोली पनि दोलखामै रहेर विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य पुष्पक केसीले जानकारी दिनुभयो ।