अशेष घिमिरे
सत्ता पाउन वा जोगाउन समाजवादी आकांक्षा समेतलाई असम्भव, अव्यवहारिक भनेर उल्याइरहने पल्टन निर्माण गर्छन् । यस्तो पल्टन, तर्क, विवेक र ज्ञानबाट मूर्च्छित भएको अन्धभक्तको वफादार फौज शिवाय अरु केही हुन्न । तिनले साँचो र झुठो, के गर्ने के नगर्ने, के कुरा क्रान्ति हो के कुरा होइन, केही बुझ्ने सामथ्र्य राख्दैनन् । त्यही ढंगले तिनीहरुलाई हुर्काइन्छ । समाजवादी ज्ञान र चेतनाबाट तिनलाई योजनाबद्ध अलगथलग गराइन्छ । निश्चित व्यक्ति र गुटप्रतिको तिनको इमान्दारिता वास्तवमा हेर्न लायक हुन्छ ।
आज हामी पुँजीवादी विश्व व्यवस्थामा छौँ र यो व्यवस्थाले साम्राज्यवादी रूप धारण गरेको छ । हामी देखिरहेका छौँ, नवउदारवादको घोडा चढेर आजको साम्राज्यवाद झन् प्रतिक्रियावादी बनेको छ । यसले हिजोभन्दा ज्यादा दक्षिणपन्थको, उग्र राष्ट्रवादको, गहिरो जातिवादको, लिङ्गभेदको, असमानता र विभेदको ढोका खोलेको छ । नव उदारवाद मार्फत सीमित मानिसको नाफाका लागि मानवसमाजमा हुने मानवीय एकता, श्रमजीवी वर्ग बीचको ऐक्यबद्धता माथि हमला गर्दै यसले मानवसमाजमा, खासगरी श्रमजीवी जनताका बीचमा झन् ठूलो र गहिरो विभाजनको प्रयत्न गरिरहेको छ । साम्राज्यवाद विरुद्धको सङ्घर्षमा श्रमजीवी जनता सङ्गठित र एकत्रित भएर लड्ने प्रयत्नलाई कसरी छेक्न सकिन्छ, कसरी त्यो एकता खण्डित गर्न सकिन्छ भनेर विभिन्न हतकण्डा अपनाउनु उसको प्राथमिक चासो हो । यसका लागि जात, धर्म, लिङ्ग, भाषा, क्षेत्रका मुद्दालाई, यी नाममा देखिने विभेदलाई, पुँजीवादको शोषणबाट पिल्सिएका मानिसकै माझ विभाजन ल्याउन बडो सुझ बुझपूर्ण ढंगले उसले प्रयोग गरिरहेको छ । यी मुद्दाको समाधानसँग उसको कुनै चासो छैन । बरु यी बिभेदलाई विभिन्नरुपमा कायम राखेर, श्रमजीवी वर्ग एकसाथ पुँजीवाद विरुद्ध खडा हुनसक्ने सम्भावनालाई निस्तेज पार्न, एकअर्काविरुद्ध यिनै मुद्दाको विभिन्न रुपमा प्रयोग गरिरहेको छ ।
यो सब गर्नुका पछाडिको मूल मक्सद ‘नाफा’ हो । नाफालाई दोब्बरतेब्बर हुँदै उन्मुक्त ढंगले विस्तार गर्न नवउदारवादले अनियन्त्रित निजीकरणको जुन बाटो समात्यो, त्यसले उत्पादनको सामूहिक पद्धति र नाफाको निजी स्वामित्वको प्रक्रियालाई बलियो राजकीय संरक्षण दियो र थप विस्तार ग¥यो । फलस्वरुप, नाफाका अगाडि मान्छेको कुनै मूल्य रहेन । आफ्नो नाफाका लागि यसले मानिसलाई, तँ ठूलो कि म ठूलो ? तेरो प्रगति ज्यादा कि मेरो प्रगति ? तँ सफल कि म सफल ? जस्ता सुख र प्रतिष्ठाकोे,इश्या र लोभको घातक प्रतिष्पर्धामा होम्यो । र, आज पनि निरन्तर होमिरहेकै छ । एकातिर सानो घर, कमसल जागिर, थोरै पैसाबाट माथि फड्को हान्ने तृष्णा; अनि अरुको स्वामित्वमा रहेको गाडी, जमिन वा लवाइखवाइका विभिन्न वस्तुसँग आफ्नो वस्तु तुलना गर्दा हुने तनाव । समाजका हरेक सदस्यमा यी र यस्ता अनेक वस्तुप्रति पुँजीवादले निर्माण गरेको व्यग्र आशक्ति, त्यसले सिर्जना गरेको सामाजिक मनोविज्ञान । अर्कोतिर जागिर जान्छ कि ? घर हुन्न कि ? खान पाइन्न कि ? भन्ने डर । रोजगारी, सुरक्षित थातथलो र सहज जीवनयापनका न्यूनतम आवश्यकता नै पूरा नभएकाको मनोदशा, निराशा । यी सबैको परिणाम स्वरुप मानिसभित्र पैदा भएको अनिश्चितता, भय, असुरक्षा, तनाव र निराशाले मानवसमाजलाई अझ डरलाग्दो दक्षिणपन्थ वा अझ अमानवीय फाँसिवादतर्फडोर्याउन सक्छ, डोर्याइरहेका पनि छ ।
नवउदारवादले मानिसलाई ‘मानिस’ कम, नाफाका लागि आवश्यक उसले उत्पादन गरेको सामग्रीको ‘उपभोक्ता’ ज्यादा बनाएको छ । यस अर्थमा मान्छेको अमानवीकरणको प्रक्रिया चलेको छ । नाफाकै लागि प्रकृतिको अनियन्त्रित दोहनको विकराल श्रृंखला चलेको छ । नाफाकै लागि देश-देश बीचमा आतङ्कपूर्ण युद्ध चलेका छन् । यसका लागि मान्छेको खाना, छाना र नानाका लागि भन्दा धेरै ज्यादा, सैनिकीकरण र हतियारमा खर्च भइरहेको छ ।
यसरी नवउदारवादको निर्बाध यात्राले मानवसमाज, प्रकृति र सिंगो विश्वको अस्तित्वमाथि नै खतरा निम्त्याएको छ । यसको अर्थ हो, साम्राज्यवादले मानव समाजमा डरलाग्दा संकट सिर्जना गरेको छ । योसँगै समाजलाई अझ मानवीय, लोकतान्त्रिक, समानतायुक्त बनाउने प्रयत्न माथि, समाजवादी कोसिस माथि ठूलो अवरोध सिर्जना गरेको छ । यस्ता प्रयत्न निस्तेज बनाउन सम्भव सबै उपाय प्रयोग गरिरहेको छ । यसर्थ समाजवादीका लागि आजको समय हिजोभन्दा धेरै संवेदनशील छ । र, यसको सामना गर्न आज अझ बढी सामूहिक प्रतिबद्धता, पहलकदमी र बुद्धिमता खाँचो छ ।
नवउदारवादका हमलाहरु
मानवसमाजमा नवउदारवादले पछिल्लो पचास वर्षमा गरेको मुख्य हमला सामुहिकता माथि हो । समाज भन्ने कुनै तत्व हुँदैन भन्ने मार्गरेट थ्याचरकोे राजनीतिक अभिव्यक्तिबाट मुखरित भएको नवउदारवादले, व्यक्तिगत स्वतन्त्रताको नाराको आवरणमा सबै सामाजिक तथा सामूहिक प्रयत्नलाई यसरी हमला ग¥योे कि, आज मानवसमाजमा आइलाग्ने कुनै पनि संकट सामना गर्ने सामाजिक तथा सामूहिक सामथ्र्यसंकुचनमा परेको छ ।
नवउदारवादले प्रयोग गरेको ‘व्यक्तिगत स्वतन्त्रता’को विचारधाराले, व्यक्तिको सफलता र असफलता स्वयम् उसको उद्यमशीलताको ज्ञान, सीप र क्षमतामा भर पर्ने कुरा बताउँछ । त्यस्ता सीमित सफलताका कथाको ज्यादा प्रचारप्रसार गर्छ जुन वस्तुतः अपवाद हुन्छन्, आमरुपमा लागू नै हुँदैनन् । अकुत सम्पत्ति निर्माण प्रक्रियामा निकै थोरैको हातमा दौलत थुप्रिँदा, कसरी धेरै मानिसचाहिँ यो सम्पत्तिबाट, उनीहरूले गरिरहेको कामधन्दाबाट नै हात धुन पुग्छन्, कसरी आम मानिसका सानातिना उद्यमशील प्रयत्न टुसा नपलाउँदै निमोठिन्छन् ? यतापट्टि सोच्न नवउदारवादले प्रेरित नै गर्दैन । एकैपटक हजारौँ÷लाखौँलाई आफ्नो भूमिबाट गलहत्याएर पुँजीवादी श्रमबजारको ‘रिजर्भ’ फोर्सको रुपमा तयार गर्नेे पुँजीवादको संरचनात्मक विभेद र शोषणको प्रक्रियालाई यसले नजरअन्दाज गर्छ । नजरअन्दाज गर्ने बनाउँछ ।
राजनीतिक नेतृत्व निर्माणमा पुँजीवाद
वर्गचेतनाका हिसाबले सामुहिकताको विचार श्रमजीवी वर्गको मुक्तिको अनिवार्य चेतना हो भने, व्यक्तिगत नाफाघाटा वा लाभहानीको विचार पुँजीवाद प्रवद्र्धनको रक्षाकवच हो । यस कुरालाई बुझेर कम्युनिष्ट पार्टी र समाजवादी लक्ष्य बनाएको पार्टीहरुमासामुहिकतामा संकुचन ल्याउन निकै मेहनत गर्ने गर्दछ । यस्ता पार्टीहरुमा एकातिर सामूहिक विचारलाई निस्तेज गर्न, यसको वर्गपक्षधरतामा हमला गर्न नेतृत्वको हिस्सालाई बडो सुझबुझपूर्ण तरिकाबाट प्रयोग गरिन्छ । खासगरी नेताहरुको निर्माणदेखि नै विविधखाले लगानी गरेर पार्टीको नीति र उद्देश्य एकातिर, नेतृत्व र यसका प्राथमिकता अर्कोतिर बनाउने काममा पुँजीवादले विभिन्न संयन्त्रमार्फत प्रयत्न गरिरहेको हुन्छ । यदि यी खाले पुँजीवादी प्रयत्न कायम भए भने कम्युनिष्ट पार्टीहरुलाई, यसले प्राप्त गरेको विश्वास र जनमतलाई निश्चित मानिसको सत्तास्वार्थ र महत्वकांक्षामा सीमित गराउँछ । र, अन्ततः नेतृत्वको केही हिस्साको सत्तास्वार्थसँग पुँजीपति वर्गले आफ्नो वर्गस्वार्थको सम्झौता गर्छ । यसले क्रान्ति र परिवर्तनपछि पनि पुँजीपति वर्ग नै शासकका रुपमा, नीतिनिर्माताका रुपमा राज्यमा उपस्थित हुन्छ र उसले आफ्ना राष्ट्रिय अन्तराष्ट्रिय निकायमार्फत आफ्नो हित रक्षाका लागि आवश्यक सामाजिक तथा राजकीय संरचनालाई अरु मजबुत बनाउन लागि पर्छ ।
यसका लागि शासकीय महत्वकांक्षा मात्र भएका, सत्ताका सौदागरहरुलाई नेतृत्वका रुपमा पुँजीवादले हुर्काउने गर्दछ । सामाजिक, आर्थिक रुपान्तरणको मर्मलाई कुल्चिएर सत्ताका सौदागरका हातमा राजनीतिक नेतृत्व पुगेपछि, क्रान्ति र वर्गपक्षधरता होइन, षड्यन्त्र र दाउपेच राजनीतिको केन्द्र बन्छ । लोकतन्त्र, मूल्यमान्यता सबै अनुकुलतामा अलाप्ने राग बन्छन् । मिटिङ, बैठक तथा भेला या त निस्तेज हुन्छन्, या त थप्पडी बजाउने समारोहमा परिणत हुन्छन् ।
लोकतन्त्र खुम्च्याउनु पुँजीवादका लागि अनिवार्य
लोकतन्त्रको अनुपस्थितिमा मात्र, षड्यन्त्र र दाउपेचले मलिलो भूमि प्राप्त गर्छ । यसर्थ, पुँजीवादको विस्तारको लागि लोकतन्त्र खुम्चिनु, खुम्च्याइनु पनि उत्तिकै अनिवार्य हुन्छ । यसको बदलामा समाजवादी राजनीतिले पारदर्शीता र लोकतन्त्रको वकालत गर्छ । तर समाजवादी आन्दोलन जब पुँजीवादको हमलाबाट उत्पन्न भएको वा पुँजीपति वर्गको कब्जामा परेको नेतृत्वको हातमा पुग्छ, समाज रुपान्तरण, लोकतन्त्र वा मानवीय मुक्तिको प्रयत्न ओझेलमा पर्छन् । सत्ता, सत्ता र केबल सत्ता मात्र उनीहरुको उद्देश्य बन्न पुग्छ ।
उनीहरुले सत्ता पाउन वा जोगाउन समाजवादी आकांक्षासमेतलाई असम्भव, अव्यवहारिक भनेर उल्याइरहने पल्टन निर्माण गर्छन् । यस्तो पल्टन, तर्क, विवेक र ज्ञानबाट मूर्च्छित भएको अन्धभक्तको वफादार फौजशिवाय अरु केही हुन्न । तिनले साँचो र झुठो, के गर्ने के नगर्ने, के कुरा क्रान्ति हो के कुरा होइन, केही बुझ्ने सामथ्र्य राख्दैनन् । त्यही ढंगले तिनीहरुलाई हुर्काइन्छ । समाजवादी ज्ञान र चेतनाबाट तिनलाई योजनाबद्ध अलगथलग गराइन्छ । निश्चित व्यक्ति र गुट प्रतिको तिनको इमान्दारिता वास्तवमा हेर्न लायक हुन्छ । र, तिनको इमान्दारिताको दुरुपयोगबाट क्रान्तिकारी वर्ग र पार्टीको ध्यान मूल विषयभन्दा अन्यत्र मोड्न भरपूर प्रयत्न गरिन्छ । क्रान्तिकारी पार्टीको सामूहिकता र लोकतन्त्रलाई, पारदर्शिता र उद्देश्य प्रतिको दृढतालाई निस्तेज बनाइन्छ । यी सबै प्रक्रियाबाट पुँजीपति वर्ग नै बलियो बन्ने र श्रमजीवी वर्ग कमजोर बनाउने नवउदारवादी प्रपञ्चलाई बलियो बनाइन्छ । र, अन्ततः यो र यस्तै प्रक्रियाको चपेटामा परेर क्रान्तिकारी पार्टी आफ्नो वर्गबाट, घोषित उद्देश्य र लक्ष्यबाट टाढा हुन पुग्छ । यही कारण क्रान्ति असफल मात्र हुँदैन, क्रान्ति स्वयम् धोखा र जालसाझीका रुपमा बदनामसमेतहुनपुग्छ । क्रान्तिलाई जति बदनाम गर्यौ , यसप्रति जति अविश्वास पैदा ग¥यो, श्रमजीवी वर्गलाई सङ्घर्षबाट जति पलायन गर्यौ , पुँजीवादको उद्देश्यलाई यसले त्यति नै मलजल गर्छ । हाम्रा सन्दर्भमा पुँजीवादको यो खाले हमला बडो प्रष्टसँग देखिन्छ ।
सामूहिक प्रयत्नबाट समाजवाद
इतिहासले आजको मान्छेलाई, क्रान्तिकारी वर्गलाई वा पार्टीलाई यस्तो कुनै सफल मार्गचित्र दिएको छैन जुन सरासर समाजवादी गन्तव्यमा पुगोस् । आजको पुँजीवाद, यसले मानवसमाजमा निम्त्याएको संकट र यो आफैँभित्रको संकटलाई राम्ररी पहिल्याएर, यसको बाटो आजकै क्रान्तिकारी पार्टी, आजकै क्रान्तिकारी वर्गले तयार पार्नुपर्नेछ । र, यति गर्दागर्दै पनि आजका सङ्कटबाट उत्पन्न संघर्ष, प्रतिक्रिया र तिनका अन्तरक्रियाले समाजवादी दिशामा नै मानवसमाजलाई लैजान्छ भन्ने सुनिश्चितता छैन । किनकी माथि काफी चर्चा गरिएजस्तो साम्राज्यवाद, नवउदारवाद वा पुँजीवादले आफू बलियो बनाएर समाजवादी आन्दोलनलाई कमजोर पार्ने प्रयत्न पनि सँगसँगै समानान्तर रुपमा चलाइरहेको हुन्छ जसले समाजवादी आन्दोलनको भविष्यलाई एकप्रकारको अनिश्चितता प्रदान गरिरहेकै हुन्छ । यो अनिश्चितताको सामना गर्न समाजवादी ज्ञान र विचारमा आधारित श्रमजीवी वर्गको विशाल संगठन र त्यस्तो संगठनले अवलम्बन गर्ने लोकतान्त्रिक अभ्यासले मात्र सम्भव छ । यो नै पर्याप्त भने चाहिँ हैन ।
वर्ग, पार्टी र सामाजिक रुपान्तरणलाई एकाकार गर्न लोकतन्त्रलाई बलियो गरी आत्मसात् गर्ने र विचलनबाट जोगाउने सामुहिकताको सिद्धान्त बाहेक हामीसँग अर्को उपाय छैन । आजको साम्राज्यवादसँग लड्न र समाजवाद साकार पार्न पनि सामूहिकता अनिवार्य शर्त हो । र, यही सामुहिकताको प्रयोगबाट नै हजारौँ जीवनको मृत्यु, उकुसमुकुस र अफ्ठ्यारोमा खडा भएको समाजवादको आकांक्षालाई यस धर्तीमा यथार्थ बनाउने, यसविरुद्ध आइलागेका सबैखाले अफ्ठ्यारोकोसुझबुझपूर्ण ढंगले सामना र आफ्नो बाटो आफैँ तर मिलेर तय गर्नुपर्ने युगीन दायित्व, आज हरेक समाजवादी माथि छ ।
( घिमिरे, नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रीय कमिटी सदस्य एवम् केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् )
समाजवादी प्रेसबाट