दामोदर अर्याल
आमसञ्चारले सम्प्रेषणका लागि निर्माण गर्ने विषयवस्तु एक प्रकारको उत्पादन नै हो । पुँजीवादी समाजमा यसको स्वामित्व मालिक वर्गसँग नै हुन्छ । जहाँ मालिक हुन्छ, त्यहाँ कामदार हुन्छ । मालिक र कामदार भएको संस्थामा पुँजी हुन्छ, श्रम हुन्छ र नाफा हुन्छ र शोषण पनि हुन्छ । मिडिया हाउस समाजसेवाका लागि खोलिएका होइन । नाफा र आर्जन यसको उद्देश्य हो । श्रमको खरिद बिक्री हुने ठाउँमा वर्ग दृष्टिकोण र संघर्ष पनि हुन्छ । त्यसकारण श्रमजीवी पत्रकारले आफ्नो वर्ग दृष्टिकोण अनुरुप त्यहाँ संघर्ष गर्न जरुरी हुन्छ ।
आमसञ्चार त्यस्ता साधन हुन्, जसका माध्यमद्वारा छोटो समयमै अधिकांश जनतालाई समाचार र विचार पुर्याउन सकिन्छ । त्यस्ता साधनमा पत्रपत्रिका, रेडियो, म्यागेजिन, सामाजिक सञ्जाल, टेलिभिजन र इन्टरनेट पर्दछन् । आमसञ्चारले समाजमा राम्रो र नराम्रो दुवै प्रभाव पार्दछ । एकातिर यसले सामाजिक जागरण र परिवर्तनका लागि मान्छेलाई तयार पर्दछ भने अर्कातिर हिंसा, विकृति र आपराधिक क्रियाकलापतर्फ धकेल्न पनि सक्छ । त्यसबाहेक हरेक सञ्चारमाध्यमको राजनीतिक र आर्थिक उद्देश्य हुन्छ । ती राजनीतिक र आर्थिक उद्देश्य हासिल गर्न यहाँ विचारधारात्मक काम पनि हुन्छ । यी सबै उद्देश्य प्राप्तिका लागि सञ्चारमाध्यम प्रयोग गरिने भएकाले सञ्चारमाध्यम निष्पक्ष हुन पाउँदैनन् । त्यसकारण आमसञ्चारका माध्यममा कसको पकड छ र कुन उद्देश्यका खातिर सञ्चालन भएको छ भन्ने विषयले धेरै हदसम्म यसको प्रवृत्ति र परिणाम निर्धारण हुन्छ ।
आमसञ्चारले समाज र संसारलाई बुझ्ने सन्दर्भमा एउटा सीमितता र पक्षधरता निर्माण गरिदिन्छ । मान्छे त्यसैगरी बुझ्छन् जसरी उसलाई बुझ्न बाध्य पारिन्छ । अर्थात् जनताका धारणालाई विकृत र सीमित बनाउन पनि सञ्चारमाध्यमका साधन उपयोग गरिएका छन् । यो प्रवृत्ति विश्वव्यापी छ । यति हुँदाहुँदै पनि आममान्छेलाई संस्थापन भन्दा फरक विचार प्रवाह गर्ने र पुरातन चेतनाबाट प्रगतिशील चेतनातर्फ अभिप्रेरित गर्ने प्रगतिशील प्रयत्न विश्वव्यापीरुपमै नभएका होइनन्, तथापि साधन स्रोत र राजनीतिमा पुँजीवादी हाबी भएको वर्तमान विश्वमा यो कोसिस कमजोर छ ।
कुनै पनि सञ्चारसाधनको प्रवृत्ति त्यसको स्वामित्वसँग जोडिएको हुन्छ । समाचार र विचारको सम्प्रेषणमा मालिकको नियन्त्रण हुने हुनाले उद्देश्यरहित पत्रकारिता हुँदै हुँदैन । व्यापक एजेण्डासहितको पत्रकारिता अझै सीमित नै छ । पत्रकारले त्यति नै पस्कन्छन् जति शासकवर्ग र मिडिया हाउसलाई आपत्ति हुँदैन । सामान्यतया ५० प्रतिशत भन्दा धेरै पत्रकार मध्यमवर्ग र निम्न मध्यमवर्गबाट आएका छन् । पुँजीवादी प्रजातन्त्र र नवउदारवादीहरुको रेखदेखमा निर्धारण गरिएका पाठ्यक्रमबाट दीक्षित भएका त्यस्ता पत्रकार श्रमजीवीवर्गका पक्षमा निर्धक्क उभिने सम्भावना अलि कम हुने खतरा एकातिर छँदैछ, त्यसबाहेक मिडिया मालिकको उद्देश्यलाई बेवास्ता गरेर उनीहरु आफ्नो जागिर धरापमा पार्न पनि चाहदैँनन् । फेरि पनि आमसञ्चारका क्षेत्रमा श्रमजीवी पत्रकारको संख्या ठूलो छ । उनीहरु रिपोर्टिङ गर्न, समाचार बनाउन र प्रसारण गर्न स्वतन्त्र त देखिन्छन् । तर उनीहरुको त्यो स्वतन्त्रता त्यहाँ आएर रोकिन्छ, जहाँबाट मिडिया मालिकको स्वार्थ सुरु हुन्छ ।
खासगरी सामाजिक, आर्थिक र राजनीतिक मुद्दा निर्धारण र त्यसमा आधारित विषयबस्तुको निर्माण र प्रसारणमा नै मालिकले पत्रकारलाई नियन्त्रण गरिरहेका हुन्छन, अथवा पँुजीपतिवर्ग र शासकवर्गको अहित नहुने गरी सीमित बनाइएको हुन्छ । खास उद्देश्यसहितको समाचार र विचार सम्प्रेषण गरिन्छ । उद्देश्य र पूर्वाग्रहबाट निर्मित समाचार र विचार स्वतन्त्र नहुने भएकाले आममानिस भ्रममा पर्नु स्वाभाविकै हो, अथवा आममानिसको धारणा त्यसैगरी विकसित गराउन खोजिन्छ, जसरी पूँजीपतिवर्ग चाहन्छन् ।
केही मान्छे व्यावसायिक पत्रकारिताका कुरा गर्छन् र उनीहरुको दाबी छ, त्यस्तो प्रकारको व्यावसायिक पत्रकारिता निष्पक्ष र स्वतन्त्र हुन्छ । वास्तवमा सञ्चारक्षेत्र उद्योग हो, बौद्धिक उद्योग । उद्योगमा मालिक हुन्छ, कामदार हुन्छ । समाचार, विचार र दृष्टिकोण निर्माण र प्रसारणको सन्दर्भमा मालिकको नियन्त्रण हुन्छ भन्ने सत्यता स्थापित भइसकेपछि निष्पक्ष र स्वतन्त्र भन्ने दाबी आफैँमा खण्डन हुँदैन र ? यथास्थतिलाई कायम राख्न र पुँजीवादीको व्यापक आलोचना रोक्न सञ्चारमाध्यमका विषयवस्तुमै मालिकले हस्तक्षेप गर्ने भएपछि पत्रकारिता पेशा पनि स्वतन्त्र हुन सक्दैन । स्वतन्त्रताको हल्ला गर्दै विचारधारात्मक काममा सञ्चारमाध्यमलाई लगाइएकै छ । त्यसकारण भन्नसकिन्छ, सञ्चारक्षेत्रको विशाल अखडामा पनि वर्गसंघर्ष चलिरहेकै हुन्छ ।
पुँजीवादी सञ्चारमाध्यमले कसरी विचारधारात्मक काम गर्छ ?
१) खानदानी र धनी मान्छेको दैनिक जीवनयापन, बोलीचाली र उठबसलाई गौरवीकरण गर्दै विभिन्न तरिकाले प्रस्तुत गरिन्छ ।
२) पौराणिक कथाका पात्रको तथाकथित प्रतिभाको प्रशंसा सम्प्रेषण गर्छ ।
३) श्रमजीवी वर्गीय क्रान्तिकारी विचारलाई अतिवादी, खतरनाक र उटपट्याङ कामको संज्ञा दिँदै त्यस्ता गतिविधि निस्तेज गर्ने विचार प्रवाह गर्छ । त्यसबाहेक पुरातन विचारलाई प्रोत्साहित गर्छ ।
४) श्रमजीवी वर्गको एकताको विरोध गर्छ । शासकवर्गको आलोचनालाई प्रोत्साहित गर्दैन ।
५) महत्वपूर्ण राजनीतिक मुद्दामा आमजनताको आलोचनात्मक चेतलाई अल्मल्याउन मनोरन्जनात्मक सामग्रीको उत्पादनमा विशेष जोड दिन्छ ।
सामान्यतया सधैँभरी आमजनता राजनीतिक र आर्थिक मामिलामा चनाखो हुँदैनन् । उनीहरुको यो शून्यतामा प्रहार गर्न समकालीन पुँजीवाद अत्यन्त सिपालु छ । जनतालाई पुँजीवादी मूल्यमान्यता र पुँजीवादी आर्थिक, सामाजिक र राजनीतिक प्रणालीलाई अन्तिम सत्य ठान्न र यस्तो प्रकारको धारणामा विश्वस्त तुल्याउन सोही अनुकुलको सञ्चार विषयबस्तु प्रसारण गरिन्छ । जनताको निष्कृयताको फाइदा उठाउदै पुँजीवादी सञ्चारमाध्यम आफ्ना विचार र दृष्टिकोण आमजनतालाई लाद्न सदा तयार रहन्छन् । निष्कृय रहेका जनता सजिलै यसबाट प्रभावित हुनु त्यति अस्वाभाविक पनि होइन । तसर्थ, भ्रमित आमजनतालाई सही ढंगले सुसूचित गर्न समानान्तर सूचना प्रणाली आजको आवश्यकता हो । जसको अपेक्षा केबल समाजवादीहरुसँग नै गर्न सकिन्छ ।
मार्क्सवादीहरू समाजका असमानता तथा राजनीतिक र आर्थिक मुद्दालाई आमसञ्चारले महत्वपूर्ण स्थान दिनुपर्ने दृष्टिकोण राख्दछन । वृहद् सामाजिक रुपान्तरणकोमुद्दाभित्रबाट नै सम्प्रेषणका विषयबस्तु निर्धारण गरिनुपर्ने मार्क्सवादीको मत हो । मार्क्सवादीको आलोचनात्मक चेतले पुरातन मूल्यमान्यताबाट स्वतन्त्र समाजको कल्पना गर्दछ । त्यस्तो प्रकारको समाज निर्माणमा आमसञ्चारले भूमिका निर्वाह गर्नुपर्ने हो । तर यस अखडामा अझै पुँजीवादी नै प्रभावी भएका कारण समाजवादी विचारको सहज प्रवाहमा बाधा पुगिरहेको हुन्छ ।
माक्र्सवादीहरु श्रमजीवी जनताका सामाजिक, आर्थिक, राजनीतिक र सामाजिक असमानताका सवालमा आमसञ्चारका माध्यमले पर्याप्त महत्व दिनुपर्ने दृष्टिकोण राख्दछन् । वृहत्तर सामाजिक परिवर्तनका लागि मुद्दा र समाधान छनौटका सन्दर्भमा माक्र्सवादलेविषयबस्तु प्रदान गर्दछ । विषयवस्तुमा केन्द्रित रहेर निर्माण गरिने समाचार र विचार र यसको सम्प्रेषणले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने हो । अन्यथा पुँजीवादीले आफ्नो विचारधारा समाजमा लाद्ने माध्यमकारुपमा यसको प्रयोग हुनसक्छ । त्यसकारण भनिएको हो, आमसञ्चारमा पनि वर्गसंघर्ष हुन्छ । यो वर्गसंघर्षले फरक विचारको अध्ययनलाई मदत पुर्याउँछ ।
आलोचनात्मक राजनीतिक र अर्थशास्त्रीहरु भन्छन्, मिडियाको नियन्त्रण र स्वामित्व तथा विषयबस्तुमा मालिकको नियन्त्रण बेवास्ता गरिने विषय होइन । किनकी सामाजिक यथास्थिति कायम राख्न मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । तर पुँजीवादीहरु यो मान्न तयार छैनन् । उनीहरु बोल्ने-लेख्ने स्वतन्त्रतालाई पुँजीवादी मिडियाले प्रोत्साहन गरिरहेको बताउँछन् । उनीहरु स्वतन्त्रताका नाममा छाडा र अश्लील सामग्रीसमेत प्रसारण गर्न हिच्किचाउँदैनन् । किनकी उनीहरुलाई थाहा छ, मान्छेको ध्यान सामाजिक न्याय र अन्यायको विषयवस्तुतर्फ मोडियो भने पुँजीवादी लुटको साम्राज्य निरन्तर कायम राख्न सकिँदैन । त्यसका लागि भद्दा मनोरञ्जन मान्छेलाई अल्मल्याउने एउटा उपयुक्त साधन हो ।
आमसञ्चारले सम्प्रेषणका लागि निर्माण गर्ने विषयबस्तुएकप्रकारको उत्पादन नै हो । पुँजीवादी समाजमा यसको स्वामित्व मालिकवर्गसँग नै हुन्छ । जहाँ मालिक हुन्छ, त्यहाँ कामदार हुन्छ । मालिक र कामदार भएको संस्थामा पुँजी हुन्छ, श्रम हुन्छ र नाफा हुन्छ र शोषण पनि हुन्छ । मिडिया हाउस समाजसेवाका लागि खोलिएका होइन । नाफा र आर्जन यसको उद्देश्य हो । श्रमको खरिद बिक्री हुने ठाउँमा वर्ग दृष्टिकोण र संघर्ष पनि हुन्छ । त्यसकारण श्रमजीवी पत्रकारले आफ्नो वर्ग दृष्टिकोण अनुरुप त्यहाँ संघर्ष गर्न जरुरी हुन्छ । त्यस्तो प्रकारको संघर्ष सेवा सुविधामा मात्र केन्द्रित होइन, समाचार र विचारको विषयबस्तु प्रसारणमा समेत देखिनु पर्दछ ।
यस सम्बन्धमा शास्त्रीय मार्क्सवादी भन्छन्, सामान्यतया आमसञ्चारले पूँजीपतिवर्गको विश्व दृष्टिकोणलाई फैलाउँछ र वैकल्पिक विचारलाई इन्कार र कम आँक्छ । त्यतिमात्र होइन, यसले श्रमजीवी वर्गमा भ्रमसमेत फैलाउने काम गर्छ । त्यसबाहेक यसले शासकवर्गको मूल्यमान्यतालाई एक ढिक्का बनाउदै मूल्यमान्यताको विविधिकरणलाई अस्वीकार गर्छ । माक्र्सवादी आमसञ्चारलाई एउटा विचारधारात्मक शक्ति त स्वीकार्छन्, तर यसको आम प्रकृतिसँग भने असहमति राख्छन् ।
पुँजीपतिको सांस्कृतिक प्रभुत्व ( cultural hegemony) को प्रभाव आमसञ्चारमा छ भन्ने नव माक्र्सवादीहरुको धारणा हो । उनीहरु मालिकको सिधै प्रभाव भन्दा पनि सांस्कृतिक प्रभुत्वबाट आमसञ्चार धेरै प्रभावित छ भन्ने मत राख्दछन् । यसका सन्दर्भमा दार्शनिकAntonio Gramsky भन्नुहुन्छ, it is necessary to establish ideological hegemony in order to maintain the continuity of capitalism यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने विचारधारात्मक कामले निर्माण हुने सांस्कृतिक प्रभुत्वबाट पुँजीवादी सञ्चारमाध्यम स्वचालित छ । र, पुँजीवादको निरन्तरताका लागि विचारको प्रभुत्व कायम राख्न उनीहरु निरन्तर काम गरिरहन्छन् । अर्को शब्दमा भन्ने हो भने आमसञ्चारको सीमिततामा आर्थिक कारण भन्दा पनि सांस्कृतिक र विचारधारात्मक कारण बढी महत्वपूर्ण छ ।
शासकवर्ग र पुँजीपति शैक्षिक संस्था र सञ्चारमाध्यम कब्जा गरेर जायज फरक विचार हटाउँछन् र त्यसको ठाउँमा थाहा नपाउने प्रकारले पुँजीवादी प्रचार सामग्री लाद्छन, जसलाई सत्ताले अनदेखा गर्ने मात्र होइन, अनियन्त्रित छुट दिन्छ । उदाहरणका लागि अमेरिका र उसको सञ्चारप्रणालीलाई उल्लेख गर्न सकिन्छ । यसका सम्बन्धमा सञ्चारसम्बन्धी सोधकर्ता र विद्वान Donald Lazare sf अनुसार asocialist views are excluded from american public discourse and capitalism is portrayed as an economic system that is simply reeducated by definition with political democracy, freedom.and patriotism.
नेपालकै सन्दर्भमा पनि ठूला मिडिया हाउस विचारधारात्मकरुपमा निर्देशित छन् । उनीहरुले सम्प्रेषण गर्ने विषयबस्तुमा पुँजीवादी विचारको गन्ध पाइन्छ । सामान्य अवस्थामा स्वतन्त्र र निष्पक्षताको नाटक गरे पनि खासखास बेलामा उनीहरु वास्तविक चरित्रमा देखा पर्दछन् । खासगरी यस्ता उदाहरण आमनिर्वाचनका बेला धेरै प्रकट हुन्छ । उनीहरु श्रमजीवीवर्गकाउम्मेदवारहरुविरुद्ध जनमत निर्माण गर्न कम्मर कसेर लागेको पाइन्छ । सामान्य अवस्थामा ठूला मिडियाहरु एकआपसमा व्यावसायिक प्रतिष्पर्धा गरिरहे पनि खास बेलामा उनीहरु एक ठाउँमा उभिन्छन । उनीहरुलाई यसो गर्न विचारधाराले निर्देशित गरिहेको हुन्छ । त्यसकारण भन्न सकिन्छ, आमसञ्चारको अखडा पनि विचारधारात्मक लडाइँको एउटा क्षेत्र हो ।
आजको दुनियाँमा आमसञ्चार समाचार र विचारको क्षेत्रमा मात्र सीमित रहन सक्दैन । त्यसबाहेका यो विचारधारात्मक लडाइँको मैदान मात्र होइन, व्यापारको क्षेत्र पनि हो । व्यापारको श्रीवृद्धिमा सञ्चारको महत्वपूर्ण भूमिका हुन्छ ।
पुँजीवाद बेसिभन्दा बेसी सामान उत्पादन गरेर मुनाफा आर्जन गर्न चाहन्छ । त्यसका लागि ऊ मानिसले धेरै सामान उपभोग गरुन् भन्ने पक्षमा हुन्छ । त्यसकारण उसले आमसञ्चारको प्रयोग गर्दै जनतालाई सामान र सेवाको अधिकतम उपभोगका लागि प्रोत्साहित गर्छ । आमसञ्चारले विज्ञापनको माध्यमद्वारा मान्छेलाई आवश्यकता भन्दा धेरै सामान र सेवा किन्ने वातावरण सिर्जना गरेर विश्वव्यापीरुपमा नै एउटा विशाल उपभोक्तावादी संस्कृतिको निर्माण गरेको छ । पँुजीवाद सगरमाथाको फेदीमा चिसो कोकोकोला लिएर पुग्छ र त्यसको उपभोगलाई सञ्चारमाध्यमद्वारा गौरवीकरण गरिन्छ । जति सामानको उपभोग, त्यति नै उत्पादन, जति उत्पादन, त्यति नै मुनाफा, जति मुनाफा त्यति नै शोषण अर्थात पुँजीवादको अमरता । यो चक्रमा आमसञ्चार पनि एउटा हिस्सेदार हो ।
पुँजीवादले आर्थिक वृद्धि खोज्ने नै नाफाका लागि हो । ऊ यसका लागि अधिक उत्पादन गर्न खोज्छ । अधिक उत्पादनलाई बजारमा बेच्न मान्छेको उपभोग गर्ने संस्कृतिमा नै प्रहार गर्नुपर्छ अर्थात् उपभोक्ता संस्कृति निर्माण गर्नुपर्छ । हामी सबैलाई थाहा छ, अधिक उपभोग, अधिक प्रकृतिको दोहन । मान्छेलाई चाहिने भन्दा सामान उत्पादन गर्दा हुने प्रकृतिको व्यापक दोहनले आज सिंगो पृथ्वी र प्राणी जगतको अस्तित्व खतरामा छ । कार्बनको अति उत्सर्जन, ओजनतहको खराबी र त्यसबाट पृथ्वीमा बढदो तापक्रम र यसबाट हुने समुन्द्र सतहको आयतन वृद्धि तथा वनजंगलको विनाश जस्ता विषयले मानवजातिकै अस्तित्व खतरामा परिरहेको संकेत देखिदैछ । पुँजीवाद नाफाका लागि विश्वसंकट निम्त्याउन उदत छ । यस आपराधिक काममा पुँजीवादी सञ्चारमाध्यम बराबर हिस्सेदार छन् ।
सामान्यतया सञ्चारक्षेत्रलाई लोकतन्त्रको पहरेदार भनिन्छ । स्वतन्त्र सञ्चार लोकतन्त्रको मानक पनि हो । त्यसैले यसलाई राज्यको चौथो अंग भनिएको हो । तर के सञ्चारमाध्यमले यो भूमिका निर्वाह गरेका छन् ? उनीहरु समाचार र विचारको स्वतन्त्रतापूर्वक प्रवाह गर्दछन कि राजनीतिक विचार र पक्षधरताको सम्प्रेषण गर्दछन ? यसबारे पर्याप्त छलफल त भएकै छन् । कतिपय निष्कर्ष पनि प्रकाशित छन् । तर यो पर्याप्त छैन । नयाँ शिराबाट सञ्चारगृह र पत्रकारिताबारे सोच्न जरुरी छ । पुँजीवादको पोल्टामा पालिएको पत्रकारिता र सञ्चारगृहका सम्बन्धमा श्रमजीवीवर्ग र यसका प्रतिनिधि प्रष्ट धारणाका साथ आउनुपर्छ ।
समाजमा प्रयोग भइरहेका सबै प्रकारका सञ्चारसाधन व्यापार र विचार सम्प्रेषण गर्ने माध्यम बनिरहेको यो दुनियाँमा समाजवादीले पनि प्रतिस्पर्धा गर्नुको कुनै विकल्प छैन । आमजनतालाई सही सूचना र विचार दिन समानान्तर सञ्चारगृह स्थापना गर्दै पुँजीवादी सञ्चारसाधनको भ्रमपूर्ण अभियानको भण्डाफोर गर्दै अगाडि बढ्नु पर्दछ । समाजवादीले राजनीति र आर्थिक प्रबन्धको विकल्प दिएजस्तै सञ्चार संस्कृतिको पनि विकल्प दिनु पर्दछ । त्यस्तो विकल्प प्रगतिशील सञ्चार संस्कृति नै हो ।
( अर्याल नेकपा (एकीकृतसमाजवादी) का केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख हुन्)