लुम्बिनी । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ ( समाजवादी ) लुम्बिनी प्रदेशले देशभर भइरहेका लैंगिक हिंसाका घटनामा ध्यानाकर्षण गराउँदै सरकारलाई संवेदनशिल रुपमा प्रस्तुत हुन आग्रह गरेको छ ।
अनेमसंघ समाजवादी लुम्बिनी प्रदेशको बुधबार बुटवलमा बसेको तेस्रो बैठकले सामाजिक अत्याचार, महिला हिंसाका घटनाहरु बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्ने गरी सरकारलाई ठोस कार्यक्रम ल्याउन र सरकारलाई यस्ता मुद्दामा संवेदनशिल हुन आग्रह गरेको हो ।
अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र लक्ष्मी गैरै, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एंव लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेको विशेष उपस्थितमा बसेको बैठकले संगठन निर्माणको गतिलाई चुस्त रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्तिक मसान्तभित्र अनेमसंघ समाजवादीलाई अद्यावधि गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अनेमसंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष एंव राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले विद्रोहको औचित्य पुष्टि हुने गरी काम गर्न आग्रह गर्नुभयो ।
यस्तै पार्टीका पोलिटब्युरो सदस्य एंव प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले संविधान, समावेशिता र व्यवस्थाको रक्षाका लागि पार्टीले विद्रोहको बाटो लिएको बताउँदै समाजमा अझै पनि विभेदहरु कायमै रहेकाले अनेमसंघ समाजवादीले अग्रपंक्तिमा गएर त्यसका विरुद्ध लाग्नु पर्नेमा जोड दिनुभयो । बैठकमा अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, प्रदेश अध्यक्ष उमा काफ्ले, उपाध्यक्ष लक्ष्मी भुसाल, सचिव गीता अन्जान केसीले बोल्दै अनेमसंघ समाजवादीलाई महिलाहरुको सशक्त संगठनका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकले आउँदै गरेको हरितालिका तीजलाई आ आफ्नो जिल्लामा मनाउन समेत आग्रह गर्ने निर्णय गरेको सचिव गिता अन्जान केसीले जानकारी दिनुभयो ।