यो पुँजीवादी लोकतन्त्रले शोषण अन्त्य गर्न सक्दैन, एक वर्गले अर्को वर्गलाई गर्ने अन्याय र अत्याचार अन्त्य गर्न सक्दैन। यसले जनतालाई समानताको हक दिन सक्दैन। यसले नेपाली समाजमा विद्यमान जातीय, धार्मिक र सांस्कृतिक विभेद अन्त्य गर्न पनि सक्दैन। यसले भष्टाचार्र अन्त्य गर्न सक्दैन । यसले साम्राज्यवाद र प्रभुत्ववादबाट देशलाई स्वतन्त्र र मुक्त बनाउन पनि सक्दैन। यसले पारदर्शी ढङ्गले विकास निर्माण पनि गर्न सक्दैन । यसले केही गर्छ तर शोषणका अधिकारलाई सुरक्षित गर्छ। यसले पुँजीपति वर्गलाई शोषण र भ्रष्टाचार गरेर जति पनि सम्पत्ति केन्द्रिकरण गर्ने अधिकार दिन्छ। यसले मुठ्ठीभरका पुँजीपति र धनाढ्य कुबेरका हातमा सारा सम्पत्ति केन्द्रीकरण गर्न दिन्छ र व्यापक जनतालाई गरिबीको रेखामुनि खसाल्छ।
१. आज भन्दा ठीक ७४ वर्षअघि क.पुष्पलालको अगुवाई र नेतृत्वमा क.नरबहादुर कर्मचार्य, क. निरञ्जनगोविन्द बैद्य, क.नारायण बिलास, क. मोतीदेवी श्रेष्ठलगायत पाँच कमरेडले हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक स्थापना गर्नु भएको थियो । यो नेपाली समाजमा विकसित भइरहेको वर्गसंघर्षको अनिवार्य परिणाम थियो । जब माक्र्सवाद लेनिनवादको वैज्ञानिक प्रकाश नेपालको श्रमिक वर्गले चलाउँदै आएको सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवाद तथा प्रतिकृयावादविरुद्धको संघर्षको प्रवाहसँग एकाकार बन्न पुग्यो । तब नै हाम्रो देशमा पनि कम्युनिष्ट पार्टी स्थापना भयो । कम्युनिष्ट पार्टी स्थापना नेपालको राजनीतिक घटना प्रवाहमा एउटा दूरगामी ऐतिहासिक घटना थियो । यो नेपाली समाजमा विकसित भएको एउटा वैचारिक, राजनीतिक, सैद्धान्तिक, दार्शनिक र सांस्कृतिक क्रान्तिको द्योतक पनि थियो । त्यसभन्दा अघिसम्म हामी सबै नेपाली स्वयम् नेपाली समाजको उत्पत्ति, विकास, वर्तमान अवस्था र भावी भविष्यबारे प्रायः अनविज्ञ र दिशाविहीन नै थियौँ । तर माक्र्सवाद–लेनिनवादको वैज्ञानिक प्रकाश र कम्युनिष्ट पार्टी स्थापनाले हामी नेपाली श्रमिक र आमजनताको आँखा खोलिदियो । हामीले समग्र समाजलाई, हाम्रो इतिहास, वर्तमान र भविष्यलाई, हाम्रो वरिपरिको वातावरणलाई र शासक वर्गको जहानिँया तानाशाहीसमेतलाई हेर्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने र संश्लेषण गर्ने एउटा दिव्य वैज्ञानिक दृष्टिकोण प्राप्त गर्यो ।
ठीक त्यहीबेलादेखि नेपालमा संगठितरूपमा कम्युनिष्ट आन्दोलन सुरूवात भयो । नेपाली जनताले सञ्चालन गर्दैै आएको सामन्तवाद, साम्राज्यवाद र निरकुंश राणाशासनविरोधी संघर्षले नयाँ जनवादी आन्दोलन वा क्रान्तिको स्वरूप ग्रहण गर्यो । ठीक त्यही विन्दुदेखि नै नेपालको श्रमिक वर्ग सामाजिक विकास क्रममा विकसित भएको ‘वर्ग आफैँमा’बाट नेपाली क्रान्तिको ‘वर्ग सचेत नेता’ वर्गका रूपमा विकसित भयो । त्यसैले कम्युनिष्ट पार्टी स्थापना अन्य सबै देशका जनताका निम्तिजस्तै हाम्रो देशका जनताका निम्ति पनि एउटा दूरगामी महत्वको गौरवपूर्ण घटना बन्यो । त्यसबेलादेखि नेपाली श्रमिक वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टीले देशी र विदेशी प्रतिकृयावादका विभिन्न प्रतिनिधि शासक गुटविरूद्ध वीरतापूर्ण ढङ्ले संघर्ष गर्दै सबै वर्ग, तह र समुदायका नेपाली जनतालाई मूलतः सफलतापूर्वक नेतृत्व गर्दै आएको छ र यो ७४ वर्षको अवधिमा महत्वपूर्ण सफलता पनि प्राप्त गर्दै आएको छ ।
२. कुनै पनि राजनीतिक पार्टीका आआफ्नै उद्देश्य हुन्छन् । पुँजीवादी पार्टीका पनि उनीहरूको वर्ग चरित्रअनुरूप नै पुँजीवादी वर्ग र पुँजीवादी व्यवस्थाको हित गर्ने विशेष उद्देश्य हुन्छन् । पुँजीवादी पार्टीका नेता नौरङ्गी प्रकारका कला भर्न सिपालु पनि हुन्छन्् र ती कलाका आधारमा उनीहरू आफ्नो स्थापना उद्देश्यलाई विभिन्न रङ्ग भरेर प्रस्तुत पनि गर्छन् । तर उनीहरूको अन्तिम उद्देश्य पुँजीवादको रक्षा, श्रमजीवी जनतामाथि निर्ममतापूर्वक शोषण र मुलुकको श्रीसम्पत्तिमाथि ब्रम्हलुट मच्चाउँदै आफ्नो वर्गीय अधिनायकत्व सञ्चालन गर्नु नै हो । तर श्रमजीवी वर्गको पार्टी कम्युनिष्ट पार्टीले आफ्ना स्थापना उद्देश्यलाई (founding mission) रङ्गिविरङ्गी बनाएर प्रस्तुत गर्नुपर्ने आवश्यकता नै पर्दैन । श्रमजीवी वर्गको पार्टीले आफ्ना राजनीतिक ध्येय र उद्देश्य कहिल्यै लुकाउँदैन । पुँजीवादी पार्टी ‘जनता पार्टी,’ ‘समाजवादी पार्टी,’ ‘प्रगतिशील पार्टी,’ ‘स्वतन्त्र पार्टी,’ ‘जनमुक्ति पार्टी,’ र ‘नयाँ जनवादी पार्टी’ जस्ता नाम राख्छन्् । यी जनताका आँखामा छारो हाल्न उनीहरूले राखेका रङ्गिविरङ्गी नाम मात्र हुन् । कहिलेकहिँ वर्गीय रूपले असचेत जनता त्यस्तै नामबाट पनि झुक्किने गर्छन् । तर श्रमजीवी जनताको पार्टी- कम्युनिष्ट पार्टी कहिल्यै इन्द्रेणी कुरा गर्दैन र इन्द्रेणी नामाकरण पनि गर्दैन । कम्युनिष्ट पार्टीको नाम नै प्रष्ट छ, ऊ समग्र समाजलाई वैज्ञानिक साम्यवादसम्म पु¥याउन चाहन्छ ।
माक्र्स र एंगेल्सका पालातिर कम्युनिष्ट पार्टीका नाम ‘समाजवादी पार्टी,’ ‘सामाजिक जनवादी पार्टी,’ ‘श्रमिक पार्टी’ र ‘कम्युनिष्ट पार्टी’जस्ता विभिन्न नामकरण गरिएका पार्टी थिए । तिनीहरू पहिलो र दोस्रो अन्तर्राष्ट्रियका घटकहरू पनि थिए । लेनिनले नेतृत्व गर्नुभएको पार्टीको नाम पनि त्यसबेला ‘रूसी सामाजिक जनवादी लेबर पार्टी’ थियो । तर रुसमा महान अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर सोभियत संघ स्थापनापछि भने लेनिनले अब अन्तर्राष्ट्रियको नाम नै ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय’ राख्ने र आमरूपमा सबै श्रमजीवी जनताका पार्टीले आफ्नो अन्तिम उद्देश्यसमेत अंकित गर्ने उद्देश्यले ‘कम्युनिष्ट पार्टी’ नाम राख्ने प्रस्ताव गर्नुभयो । त्यसपछि सोभियत संघका साथै विश्वकै सबैजसो देशका श्रमजीवी वर्गका पार्टीले आफूलाई कम्युनिष्ट पार्टीका रूपमा संगठित गर्न थाले । एकाधले श्रमिक पार्टी पनि नाम राखे तर त्यसपछिको कालखण्डमा विश्वव्यापीरूपमा प्रत्येक देशका श्रमजीवी वर्गीय पार्टीले आफूलाई आआफ्नो देशको कम्युनिष्ट पार्टी नै भनेर नामकरण गदैँ आएका छन् । ठीक यही विश्वव्यापी ऐतिहासिक प्रकृयाको उपज होः हाम्रो गौरवपूर्ण पार्टी नेपाल कम्युनिष्ट पार्टी पनि । त्यसैले हाम्रो पनि उद्देश्य बिल्कुल खुलस्त छ । यो पार्टी नेपाली समाज र जनतालाई वैज्ञानिक समाजवाद र साम्यवादसम्म मार्गदर्शन गर्ने पार्टी हो । कमरेडहरू ! हामी सबै कम्युनिष्ट क्रान्तिकारी त्यो महान दीर्घयात्राका सहयात्री हौँ । यो मानव मुक्तिको बाटो हो । यो सम्पूर्ण मानव जातिलाई साम्राज्यवाद, पुँजीवाद र सबै प्रकारका प्रतिकृयावादी, जनविरोधी, शासन, शोषण, अन्याय र अत्याचारबाट मुक्ति दिलाउने बाटो पनि हो । यो कति गौरवपूर्ण बाटो छ ! हामी सबै कम्युनिष्ट क्रान्तिकारीहरू यो गौरवपूर्ण बाटोमा हिँडिरहेका छौँ र आफ्नो स्थापना लक्ष्य ( founding mission ) पूरा गर्न दृढ प्रतिज्ञाका साथ अघि बढिरहेका छौँ ।
३. यो गौरवपूर्ण यात्राका हामी सबै सहयात्रीले कहिल्यै सकभर सपनामा पनि बिर्सन नहुने कुरा के हो भने हाम्रो स्थापना लक्ष्य । त्यसो भए हाम्रो पार्टीका स्थापना उद्देश्यहरू के थिए त ? हामीले ती उद्देश्य (Mission) लाई समग्र र सूत्रवद्ध रूपमा बुभ्mनुपर्छ । ती उद्देश्य निम्नबमोजिम थिए ।
१. सामन्तवादलाई नेपाली समाजबाट सम्पूर्ण रूपले उन्मूलन गर्ने
२. दलाल नोकरशाही पुँजीवादलाई पनि सम्पूर्ण रूपले उन्मूलन गर्ने
३. नयाँ जनवाद स्थापना गर्ने
४. सामाज्यवाद, प्रभुत्ववाद, उपनिवेशवाद, नवउपनिवेशवादबाट नेपाल राष्ट्रलाई स्वतन्त्र र मुक्त बनाउने
५.जनवादबाट अघि बढेर वैज्ञानिक समाजवाद स्थापना गर्ने र समाजवादबाट सबै प्रकारका वर्गीय शोषण, उत्पीडन र सबै प्रकारका सामाजिक भेदभावसमेत उन्मूलन गरेर वैज्ञानिक साम्यवादमा पुग्ने ।
कमरेडहरू ! यी हाम्रा सबैले बुझ्ने भाषामा अघि सरिएका हाम्रा स्थापना लक्ष्य हुन् । चाहे नेपालमा निरंकुश राणाशासन रहेको अवस्थामा होस्, चाहे निरकुंश राजतन्त्र रहेको अवस्थामा, चाहे निर्दलीय निरंकुश पञ्चायती व्यवस्था रहेको पालामा होस्, चाहे ज्ञानेन्द्रको तानाशाही शासन रहेका अवस्थामा, चाहे आजको संघीय लोकतान्त्रिक गणतन्त्र नामको पुँजीवादी संसदीय लोकतन्त्र रहेको अवस्थामा होस्, हामीले हाम्रा लक्ष्यलाई सबैका सामु छर्लङ्ग हुनेगरी अघि सारेका छौँ । नेपाली श्रमिक वर्ग र शोषण उत्पीडनमा रहेका सम्पूर्ण वर्ग, जाति, जनजाति, दलित र अल्पसंख्यक जनतालाई अझ प्रष्टरूपले बताउन र बुझाउन चाहन्छौँ । हाम्रो गौरवमय पार्टीका यी ५ स्थापना लक्ष्य हुन् । ती लक्ष्य प्राप्त नगरी हामीले विश्राम गर्न सम्भव छैन । ती सबै उद्देश्य हाम्रो एउटै पिँढी ( generation ) ले मात्र पूरा नगर्न सक्छ । त्यसका निम्ति हामीले अनेकौँ पिँढीसम्म संघर्ष गर्नुपर्ने हुन्छ । तर हाम्रो संघर्ष लगातार अघि बढिरहन्छ र बढाउँदै लैजानुपर्छ । यो हाम्रो मात्र यात्रा होइन, सिंगो मानवसमाजको यात्रा पनि हो । यो विश्वव्यापीरूपमा अघि बढ्दै छ । यो करोडौँ मात्र होइन यो अरबौँ जनताको यात्रा हो । यो यात्रालाई साम्रज्यवादले रोक्न सक्दैन, प्रभुत्ववादले पनि रोक्न सक्दैन र युद्धले पनि रोक्न सक्दैन । तपाईं हामीलाई थाहा छ, पहिलो र दोस्रो विश्वयुद्ध जस्ता विनासका चक्रले पनि यो यात्रा रोक्न सकेन । यो यात्रा आजका एटमबम, नेपाम बम, अन्तरमहाद्विपीय बालिस्टिक क्षेप्यास्त्र र अत्याधुनिक ट्यांकहरु तथा खतरनाक मिसायलले पनि रोक्न सक्दैन । यहाँसम्म कि आजको सुपरसोनिक मिसाइलले पनि यो माहायात्रा रोक्न सक्दैन । कमरेड माओत्सेतुङले भनेजस्तै यी सबै अत्याधुनिक खतरनाक र विध्वसंकारी हतियार मानव मुक्तिको महायात्राका सामु कागजी बाघबाहेक केही होइनन् । जनता जति शक्तिशाली यो निलो धर्तीमा अर्को कुनै हुन सक्दैन । आजसम्मका सम्पूर्ण परिवर्तन र अग्रगतिका बाहक जनता नै हुन् । आजका सबै सभ्यता, श्रृंखलाका निर्माता जनता नै हुन् । माथिका सबै हतियार निर्माण गर्ने प्रविधि बनाउने वैज्ञानिक पनि जनता नै हुन् । प्रतिकृयावादीले ती प्रविधिलाई, विज्ञानका अनुपम उपलब्धीलाई आफ्नो निजीस्वार्थका निम्ति प्रयोग गरिरहेका छन् र जनता राष्ट्र र मानवसभ्यतालाई विध्वंस गर्ने हतियार बनाइरहेका छन् । यो लेख लेखिरहँदा २०२२ को मात्र विश्वको सैनिक बजेट २.२४ ट्रिलियन डलर पुगिसकेको छ । यो रकम आजको तेस्रो विश्वका जनता र मुलुकले मात्र पाउने हो भने उनीहरूको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, उद्योगधन्दाको स्तर कति राम्रो बनाउन सकिन्थ्यो । हाम्रो देशलाई पनि पश्चिममा साम्राज्यवादी भूराजनीतिक प्रतिस्पर्धाको थलो बनाउन चाहन्छन् । एमसिसी सम्झौता, स्टेट पार्टनरसीप प्रोग्रामका साथ साथै अमेरिकी मन्त्री र अमेरिकी सेनाका एकपछि अर्को टुकडीको नेपाल भ्रमण त्यही उद्देश्यतिर लक्षित छन् । त्यति मात्र होइन, उनीहरू यहाँ आएर सोझै तिब्बती शरणार्थी क्याम्प जाने गरेका छन् । उनीहरु तिब्बती ‘शरणार्थी’ हरूलाई ‘परिचय पत्र’ दिलाउन चाहन्छन् । कथित शरणार्थीका नाउँमा नेपालबाट चीनविरोधी क्रियाकलाप गराउन चाहन्छन् र नेपाललाई आफ्नो सैनिक विश्वरणनीतिको ‘चौकी’ बनाउन चाहन्छन् । नेपालका शासकहरूले होसियारी अपनाउन सकेनन भने नेपाल अर्को युक्रेन बन्न बेर छैन । हामीले यी सम्पूर्ण घटनाक्रमलाई समेत ध्यानमा राखेर हाम्रो पार्टीको स्थापना लक्ष्यलाई साकार पार्ने ऐतिहासिक काममा लाग्नुपर्छ ।
४. अहिलेसम्मको यो ७४ वर्षको यात्रामा हामीले हाम्रो पार्टीको स्थापना लक्ष्यका केही महत्वपूर्ण पक्षलाई सम्पन्न गरिसकेका छौँ । हाम्रो पहिलो उद्देश्य थियोः सामन्तवादलाई नेपाली समाजबाट सम्पूर्णरूपले उल्मूलन गर्ने । लामो संघर्षपछि हामीले यो लक्ष्य सफलतापूर्वक पूरा गरेका छौँ । नेपालमा सामन्तवादलाई उन्मूलन गर्ने प्रकृया अंशअंश गर्दै अघि बढ्दै आयो । प्रथमतः हामीले सन १९५० मा जहाँनिया राणाशासन अन्त्य गर्यो । दोस्रो, त्यसपछि मुलुकको वित्तीयप्रणालीमा आएको नयाँ विकास र आमजनतामा बढ्दै गएको जागरणक्रममा सैयौँ वर्षदेखि जारी जागिरदारी प्रथा पनि त्यहीक्रममा उन्मूलन भयो । तेस्रो, किसानहरूको बढ्दै गएको जागरण र ठूल्ठूला किसान आन्दोलन उठ्दै गएको पृष्ठभूमिमा राणाशासनले लामो समयदेखि जारी राखेको ‘विर्ता प्रथा’ पनि २०१६ (१९५९) मा उन्मूलन गरियो । चौथो, जनताको बढ्दो विरोध र असन्तोषलाई ध्यानमा राखेर राजा महेन्द्रले २००१ (१९६४) मा भूमिसुधार लागु गरे । त्यसले जमिनको हदबन्दी तोकिदियो र मोहियानी हक पनि प्रदान गर्यो । त्यसले असीमित जमिन्दारी प्रथा पनि अन्त्य गर्यो । पाँचौँ, नेपाली समाजमा सामन्तवादको अझै अर्को रूप थियो । त्यो हो राजारजौटा प्रथा । देशका विभिन्न ठाँउमा साना-छोटा रजौटा थिए । ती रजौटामा राजा थिए । उनीहरूले आफ्नै राज्यबाट निश्चित सहुलियत लिने काम गर्दथे । जनताबाट करलगायत विभिन्न सहुलियत लिने गर्दथे । महेन्द्रका पालामा राजा रजौटा प्रथा पनि उन्मूलन गरियो ।
छैठौँ, त्यही सिलसिलामा २०४६ (१९९०) को परिवर्तनपछि मुलुकलाई पुँजीवादीकरण गर्ने प्रकृया धेरै तीब्र बन्यो । सहरमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि ज्यालादारी श्रम शोषण गर्ने पुँजीवादी पदति व्यापक बन्दै गयो । त्यसले अर्धसामन्तवादलाई पनि अझै धेरै विघटित गर्दै लग्यो ।
सातौँ, यसरी आर्थिक आधारमा सामन्तवाद क्रमिकरूपले कमजोर हुँदै गइरहेको थियो । पुँजीवादी उत्पादन सम्बन्ध विस्तृत हुँदै गइरहेको थियो । त्यसले गर्दा आर्थिक आधारमा फैलिरहेको पुँजीवाद र अधिसंरचनामा रहेको राजतन्त्रबीचको अन्तरविरोध चर्को बनिरहेको थियो । ठीक त्यहीबेला राजा ज्ञानेन्द्रले जब १९ माघको घटना गरे, तब तानाशाही राजतन्त्रविरूद्ध आमजनताको असन्तोष, विरोध र आक्रोश विष्फोटक बन्यो । त्यो अन्तरविरोध अघि बढेर जनक्रान्तिका रूपमा विष्फोटित हुनपुग्यो । फलस्वरुपः नेपाली समाजवाट आर्थिक आधार र अधिसंरचना दुवै तहबाट सामन्तवादलाई हामीले सफलतापूर्वक उन्मूलन ग¥यौँ । यसरी हामीले हाम्रो महान पार्टी नेपाल कम्युनिष्ट पार्टीले अघि सारेको स्थापना उद्देश्य मध्ये एउटा पूरा भयो । यो नेपालको कम्युनिष्ट आन्दोलनको एउटा ऐतिहासिक उपलब्धी हो । नेपाली समाजले यसरी सामन्तवादबाट सदाका निम्ति मुक्ति प्राप्त गरेर आफूलाई पुँजीवादको चरणमा उठाएको छ ।
५. त्यसका साथै हाम्रो मुलुकमा हामीले जतिबेला नयाँ जनवादी क्रान्ति थालनी गरेका थियौँ, त्यतिबेला हामीले सुरुमा निरंकुश जहानिँया राणाशासनविरूद्ध संघर्ष ग¥यौँ । त्यो सामन्ती निरकुंशतावादविरूद्धको संघर्ष थियो । त्यो संघर्ष छोटो समयमा समाप्त भयो । तर त्यसपछि फेरि राणाशासनको ठाउँ राजतन्त्रले लियो । हामीले २००७-२०१७ सम्म राजतन्त्रविरूद्ध संघर्ष गर्नुप¥यो । त्यतिबेला हाम्रो पार्टी भर्खरै विकास गर्दै थियो । तर राजतन्त्रविरूद्ध संघर्ष गर्ने पर्याप्त क्रान्तिकारी शक्ति विकास भइसकेको थिएन । त्यस्तो अवस्थामा तत्कालीन राजा महेन्द्रले २०१७ सालको घटना घटाए । त्यसले हामीले राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाविरूद्ध जनताको लोकतन्त्रका निम्ति संघर्ष अघि बढाउनु प¥यो । पञ्चायती व्यवस्था एउटा निंरकुश र निर्दलीय व्यवस्था थियो । त्यसले जनताका मौलिक हकलाई हरप्रकारले दबाउने काम गरेको थियो । नयाँ जनवादको झण्डा उचालेर अघि बढ्ने जनलडाकुलाई पञ्चायतले एक पछि अर्को दमन र हत्या ग¥यो । सुखानी हत्याकाण्ड, छितान्ङ हत्याकाण्ड, पिस्कर हत्याकाण्ड, इभाङ हत्याकाण्ड, भिमान हत्याकाण्ड, दाङ हत्याकाण्ड त्यसबेला राजा र पञ्चले गरेका केही हत्याकाण्ड हुन् ।
यी सम्पूर्ण हत्याकाण्डका बाबजुद नेपाली कम्युनिष्ट आन्दोलन ३० को दशकमा आएपछि पुनर्गठन, एकता र एकीकरणको मार्गमा तीब्ररूपले अघि बढ्दै गयो । ४० को दशकमा पुगेपछि नेपाली जनवादी क्रान्तिका कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, रणनीति र कार्यनीतिहरू, क्रान्तिको बाटो तथा संगठनात्मक सिद्धान्तको समग्र श्रृंखला व्यवस्थित भयो । त्यसले गर्दा कम्युनिष्ट एकता पनि फराकिलो बन्दै गयो । अझ अघि बढेर प्रधान शत्रुविरूद्ध संयुक्त संघर्ष अघि बढाउन संयुक्त वाममोर्चा गठन भयो । त्यति मात्र होइन, निरंकुशता र निर्दलीयताविरुद्ध सबै शक्तिहरूबीच कार्यगत एकता भयो र संयुक्त जनआन्दोलनको लहर सिर्जना गरियो । परिणामस्वरूप ०४६ सालको परिवर्तन भयो । यसरी सामन्ती निरंकुशताको आधारका रूपमा रहेको पञ्चायती शासन पनि समाप्त गरियो ।
त्यसपछि मुलुकमा पुँजीवादी बहुदलीय जनवाद स्थापना भयो । तर राजतन्त्रले आफूलाई संविधानबमोजिम संवैधानिक राजतन्त्रको बाटोमा हिँडाउन सकेन । अर्कातिर नेकपा (माओवादी) पार्टीले सशस्त्र संघर्ष सुरु ग¥यो । त्यसबीचमा बहुमत प्राप्त कांग्रेसको सरकारले जनताका हितमा केही गर्न सकेन । बरु उल्टो उदारीकरण र निजीकरणका नाउँमा देशको राष्ट्रिय उद्योगधन्दा र अर्थतन्त्र तहसनहस पार्दै लग्यो । त्यहीबीचमा माओवादीको सशस्त्र संघर्ष फैलिँदै गयो । त्यसले देशको विकासप्रकृया करिब रोकियो । देश चौतर्फीरूपले संकटतिर धसिँदै गयो ।
यसैबीच तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघका घटना घटाए । सबै पार्टीमाथि प्रतिबन्ध लगाए, प्रेसलाई प्रतिबन्ध लगाए, सञ्चारका साधन बन्द गरिए, रेडियो, एफएम र टेलिभिजनमा कडा सेन्सरसीप लगाइयो र अधिकांश पार्टीका नेतालाई गिरफ्तार गरियो । यो लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिन थियो । ठीक त्यही दिनबाट हामीले राजतन्त्रविरूद्ध पूर्ण प्रजातन्त्र (गणतन्त्र) को नारा दिएर संयुक्त संघर्ष आह्वान गर्यो । राजतन्त्रविरूद्ध सात पार्टीको ऐतिहासिक राजनीतिक मोर्चा खडा गर्यो र संयुक्त आन्दोलनको ज्वारभाटा सिर्जना गर्यो । त्यो आन्दोलन हरेक दिन फैलिँदै र व्यापक बन्दै गयो । आखिर नेकपा (माओवादी) ले समेत संयुक्त आन्दोलनमा आउने निर्णय ग¥यो । त्यो अर्को महत्वपूर्ण प्रगतिशील निर्णय थियो । त्यसलगत्तै पछि १२ बुँदे सहमति बन्यो । त्यसले जनताको राजतन्त्रविरोधी संघर्षलाई सातवटै प्रदेशमा विस्तृत र तीब्र बनाइदियो । आखिर त्यो संघर्षले नै जनक्रान्तिको रूप लियो र २०६२-२०६३ को ऐतिहासिक परिवर्तन भयो । यो नेपालमा भएको पुँजीवादी जनवादी क्रान्ति हो । नयाँ जनवादी क्रान्ति भनेको पनि पुँजीवादी जनवादी क्रान्ति नै हो । तर यो हाम्रो देशको विशिष्ट स्थितिमा श्रमिक वर्ग र पुँजीपति वर्ग दुवैको सहभागितामा क्रान्ति सम्पन्न भयो र हामी हाम्रो देशको ठोस स्थितिअनुरूपको बाटोबाट पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने विन्दुमा आइपुग्यौँ । यसरी हामीले क्रान्तिको पहिलो चरण पुँजीवादी जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरेर पार्टीको स्थापना लक्ष्यमध्ये न्युनतम लक्ष्य पूरा गरेका छौँ ।
६. हामीले अहिलेसम्मको संघर्ष र रूपान्तरणक्रममा सामन्तवादलाई उन्मूलन गर्ने र पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने दुईवटा लक्ष्यलाई सफलतापूर्वक पूरा गरेका छौँ । जहाँसम्म साम्राज्यवाद, प्रभुत्वबाट, उपनिवेशवाद बाट नेपाल राष्ट्रलाई स्वतन्त्र र मुक्त बनाउने सवाल छ, त्यसका निम्ति संघर्ष जारी छ । जनवादी क्रान्तिकालमा हामी मुलुकलाई अर्धउपनिवेश भनेर विश्लेषण गर्ने गर्दथ्यौँ । अहिले हामी हाम्रो मुलुकलाई स्वतन्त्र, सार्वभौम र क्षेत्रीय अखण्डतायुक्त मुलुक भन्ने गछौँ । तर साम्राज्यवाद, प्रभुत्ववाद र नवउपनिवेशवादविरूद्ध संघर्ष जारी छ र जारी राख्नुपर्छ ।
उनीहरू अहिले पनि नेपालमा राजनीतिकरूपले हस्तक्षेप गर्ने, आफ्ना लबी तयार पार्ने, ती लबीमार्फत सरकार आफ्नो हितअनुरुप चल्न दबाब दिने र सुक्ष्म व्यवस्थापन गर्ने प्रयत्न गरिरहेका छन् । त्यसरी नै तिनीहरू आर्थिकरूपले नेपाललाई सहयोग गरेको देखाउने, हतियार दिने, तिनीहरूको पार्टपुर्जा आफूसँग किन्न बाध्य पार्ने काम गर्छन् र नेपाली सेनालाई समेत आफ्नो स्वार्थअनुसार चलाउन खोज्ने प्रयत्न गरिरहेका छन् । तिनीहरू एसपिपी र एमसिसीजस्ता सम्झौता गराउने र नेपाली सेनालाई इन्डो-प्यासिफिक कमाण्डमातहत बनाउने प्रयत्नमा समेत लागिरहेका छन् । त्यसरी नै उनीहरू आर्थिकरूपले पनि व्यापक रूपले घुसपेठ गरिरहेका छन् ।
उनीहरू नेपाललाई सहयोगका नाममा आफ्ना लबी बलियो बनाउने काम गरिरहेका छन् । हामी देखिरहेका छौँ, ‘नागरिकसमाज सुदृढ गर्ने,’ ‘मानवअधिकार सुदृढ गर्ने,’ र ‘मिडियालाई बलियो बनाउने’ नाममा करोडौँ र अरबौँ रुपैयाँ यी क्षेत्रका आफ्ना दलाललाई पोषण गर्ने काममा खर्च गरिरहेका छन् र उनीहरूमार्फत नेपालमा कम्युनिष्टविरोधी प्रचार र चीनविरोधी तत्वलाई उकास्ने काम गरिरहेका छन् । त्यसरी सृजना गरिएका दलालमार्फत उनीहरू कहिले ‘चीनले नेपालको सिमानामा अतिक्रमण ग¥यो’ भन्ने र कहिले ‘चीनमा मुस्लिमलाई दमन गरिएको छ’ भनेर नेपालमा २-४ जना जम्मा गरेर चीनविरोधी प्रर्दशनको काम गर्दै आएका छन् । यसरी उनीहरू नेपाल र चीनबीच असमझदारी बढाउँन र त्यसबाट फाइदा उठाउने आफ्नै कलुषित उद्देश्य पनि पूरा गर्न खोज्छन् । त्यति मात्र होइन, साम्राज्यवादी र प्रभुत्ववादी नेपालमा सांस्कृतिक अतिक्रमण पनि गरिरहेका छन् । एकातिर पश्चिमा साम्राज्यवादी नेपालमा क्रिश्चियनिज्म फैलाउन टाउको टेकेर लागेका छन् । केही समयअघि अमेरिकाको विदेश मन्त्रालयले एउटा ‘धार्मिक स्वतन्त्रता’सम्बन्धी प्रतिवेदन प्रकाशित गरेर ‘नेपालमा क्रिश्चियनलाई भेदभाव गरेको’ आरोप लगाउँदै नेपालमा धार्मिक द्वन्द्व चर्काउने प्रयास गर्न पुगे । त्यसरी नै छिमेकी देशका कथित हिन्दूवादी ‘नेपाललाई हिन्दूराज्य बनाउने’ घोर आपत्तिजनक नारा उराल्दै उनीहरूका नेपाली गुमास्ताहरुलाई विभिन्न ढङ्गले प्रयोग गरिरहेका छन् ।
स्वाभाविकरूपले हामीले जनवादी क्रान्तिकालदेखि नै सामाज्यवादी र प्रभुत्ववादी शक्तिले नेपालविरूद्ध सुरु गरेको राजनीतिक, आर्थिक, सैनिक, सांस्कृतिक र अन्य सबै हस्तक्षेप, दबाब र नियन्त्रणविरूद्धको संघर्षलाई दृढतापूर्वक जारी राख्नुपर्छ । उनीहरूले गरिरहेका नयाँ हर्कतहरूको विरोध र भण्डाफोर गर्नुपर्छ र नेपाली जनताको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डताको संघर्ष हरमूल्यमा जारी राख्नुपर्छ । जबसम्म यस्ता हरकत अन्त्य हुँदैन्न, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ ।
७. त्यसरी नै हामीहरू नयाँ जनवादी क्रान्तिको थालनीदेखि नै दलाल नोकरशाही पुँजीवादविरूद्ध पनि निरन्तर संघर्ष गर्दै आएका छौँ । त्यसैले नेपाली समाजमा राष्ट्रिय पुँजीवाद विकास र विस्तारलाई सुरुदेखि रोक्ने र अवरोध खडा गर्ने कार्य गर्दै आएको छ । जब मुलुक एकीकृत भयो, त्यसबेलादेखि नै नेपाली समाजमा राष्ट्रिय पुँजीवादको विकास अर्थात राष्ट्रिय उद्योगधन्दाको विकासका आधार तयार भएका थिए र त्यसका अंकुरण पलाइरहेका थिए । तर सामन्तवादका साथ साथै उपनिवेशवादसमेतको बोझ र बबधा थपिएकाले राष्ट्रिय पुँजीवादको विकास लामो समयसम्म हुन पाएन । आखिर दोस्रो विश्वयुद्धको पूर्वघडीतिर आएर मात्र नेपालमा दलाल–नोकरशाही पुँजीपतिको नेतृत्वमा आधुनिक उद्योगधन्दाको विकासको सामान्य थालनी भयो । २००७ सालको परिवर्तनपछि त्यसले केही गति प्राप्त ग¥यो । तर त्यो सामान्तवादको सहयोगी र साम्राज्यवादको प्रतिनिधि मात्र भएर लामो समयसम्म रह्यो । पञ्चायतकालभर दलाल-नोकरशाही पुँजीवादको भूमिका त्यतिकैमा सीमित भयो ।
२०४६ सालको परिवर्तनपछि दलाल नोकरशाही पुँजीवादको प्रभाव निकै ठूलो मात्रामा विस्तार भयो । त्यसले अर्थतन्त्रका विभिन्न क्षेत्र, व्यापारिक क्षेत्र र प्रशासनलाई व्यापकरूपले आफ्नो प्रभावमा पार्दै लग्यो । यो कालमा राष्ट्रिय पुँजीको पनि एकहदसम्म विकास हुँदै गयो । अर्थतन्त्रमा पुँजीवादी उत्पादन सम्बन्ध देशव्यापीरुपमा विस्तार गर्दै गयो । सामन्तवाद जति खुम्चिँदै गयो, त्यति नै अर्थतन्त्रमा दलाल पुँजीवाद विस्तार हुँदै गयो ।
आखिर २०५० को दशकमा पुगेपछि सामन्तवाद अर्थतन्त्रमा धेरै कमजोर हुँदै गयो । माओवादी जनयुद्धले ग्रामीण क्षेत्रका सामन्तवादलाई अझ धेरै कमजोर बनाइदियो । तर त्यसको विस्थापनमा राष्ट्रिय पुँजीवाद विकास हुन सकेन । बरु दलाल पुँजीवाद हाबी हुँदै गयो । दलाल पुँजीवाद सुरुमा सामन्तवादको मूलतः सहयोगी भएर विकसित हुँदै आएको भए पनि सामन्तवाद र त्यसको अधिसंरचनासँग दलाल पुँजीवादको पनि अन्र्तरविरोध छँदै थियो । त्यो आफ्नै गतिले विकसित भइरहेको थियो ।
जब ज्ञानेन्द्र शाहले १९ माघको घटना घटाए, तब समस्त वामपन्थी क्रान्तिकारी शक्ति, लोकतान्त्रिक शक्ति, देशभक्त शक्ति, ज्ञानेन्द्र तानाशाहीविरूद्ध पूर्ण प्रजातन्त्र(गणतन्त्र) को नारा लिएर संयुक्त संघर्षमा उत्रिए । त्यसबेला स्वयम् दलाल, नोकरशाही पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य शक्ति पनि राजतन्त्रविरूद्ध संघर्षको मैदानमा उत्रिए । परिणामस्वरुप २०६२/६३ को पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । सामन्तवाद र त्यसको अधिसंरचनासमेत अन्त्य भयो र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भयो । यो नेपालको पुँजीवादी जनवादी क्रान्ति हो ।
यो क्रान्तिमा श्रमजीवी वर्ग र पुँजीपति वर्ग दुवै संयुक्तरूपले सहभागी भए र दुवैले क्रान्तिलाई नेतृत्व गरे । त्यसले गर्दा क्रान्तिका फलहरुमा श्रमिक वर्गले आमजनताको प्रतिनिधित्व गर्दै नियन्त्रण गर्न र समाजलाई सरासर समाजवादी रूपान्तरणतिर लान सम्भव भएन । हामीले क्रान्तिपछिको संक्रमणकालमा सम्झौताको बाटो हिँड्न पर्यो । जब संविधान बनाउने र शान्तिप्रकृयालाई मूलभूतरूपले टुङग्याउने काम भयो । तब संक्रमणकाल पनि सकियो । हामीले पुँजीवादी जनवादी क्रान्तिका उपलब्धी संस्थागत गर्ने र संविधानमा निश्चित हदसम्म समाजवादी पक्षलाई पनि समावेश गर्ने काम अवश्य गर्यो । तर मुलुकमा पुँजीवादी जनवादी क्रान्तिपछि पुँजीवादी संसदीय लोकतन्त्र स्थापना भयो र समग्र सामाजिक-आर्थिक जीवनमा दलाल पूँजीवाद हाबी हुने स्थिति तयार भयो । यसरी वर्तमान नेपाली समाजको राजनीति, प्रशासन, अर्थतन्त्र, व्यापार र विनिमय तथा वित्तीय क्षेत्रमा दलाल पुँजीवाद हाबी भएको स्थिति आजको वास्तविकता हो । स्वाभाविकरुपले दलाल पुँजीवाद आज समाजवादी क्रान्तिको तारो बन्न पुगेको छ । यो दलाल पुँजीवादलाई नेपाली समाजवादी क्रान्ति र रुपान्तरणले मात्र उन्मूलन गर्नसक्छ । पार्टी स्थापनाको यो लक्ष्य पूरा गर्न बाँकी नै छ ।
८. यसरी अहिलेसम्मको सामाजिक-आर्थिक रुपान्तरण महायात्रामा अघि बढ्नेक्रममा हामीले नेपाली क्रान्तिको पहिलो चरण पुँजीवादी जनवादी क्रान्तिको चरण पार गरेका छौँ । यो चरण पार गर्दा हामीले हाम्रो देशका विशिष्ठ स्थितिअनुरुपको विशिष्ठ नेपाली बाटोबाट पार गरेका छौँ । यसअर्थमा हामीले पार्टी स्थापनाका ध्येय–उद्देश्यमध्ये नेपाली क्रान्तिको न्युनतम लक्ष्य पूरा गरेका छौँ । यो एउटा ऐतिहासिक उपलब्धी हो । तर जुन विन्दुमा हामीले पुँजीवादी जनवादी क्रान्तिको प्रकृया टुङग्याएका छौँ, ठीक त्यही विन्दुदेखि देशमा समाजवादी क्रान्ति र रुपान्तरणको उच्चस्तरको ऐतिहासिक क्रान्तिकारी प्रकृया सुरुवात भएको छ । यो नेपाली क्रान्तिको सामान्य नियम हो । यस नियम देख्न नसक्नु अज्ञानताको कुरा हो वा माक्र्सवादी ऐतिहासिक भौतिकवादी परिवर्तनको नियम अस्वीकार गर्नुजस्तै हो । नेपालका हर वर्गसचेत कम्युनिष्टले यो सच्चाई वा नियम गहिरो गरी बुझ्नु पर्छ र गौरवशाली नेपाल र नेपाली जनतालाई वैज्ञानिक समाजवादको दिशामा अघि बढाउन संकल्पवद्ध भएर अघि बढनु पर्छ । यतिबेला नेपालका सबै क्रान्तिकारी कम्युनिष्टको यो पहिलो र प्राथमिक महत्वको कर्तव्य हो ।
२०६२/६३ को क्रान्तिले जुन सामाजिक-आर्थिक ढाँचाको स्थापना गरेको छ, त्यो पुँजीवादी समाजिक आर्थिक ढाँचा हो । त्यो क्रान्तिले जुन लोकतन्त्र स्थापना गरेको छ, त्यो पँुजीवादी लोकतन्त्र हो । विश्वभर र हाम्रो देशमा पनि विकसित तथा स्थापित भएका संसदीय लोकतन्त्र सबै पुँजीवादी लोकतन्त्र हुन् । हामी नेपालका कम्युनिष्ट आफैँसमेत लागेर स्थापना भएको आजको ‘सुधारिएको संसदीय लोकतन्त्र’ पनि पुँजीवादी लोकतन्त्र नै हो । हामी माक्र्सवादीले वर्गीय समाजमा उत्पन्न हुने र विकास गर्ने सबै चिन्तन, विचार, दर्शन, व्यवस्था, तन्त्र, लोकतन्त्र, पार्टी, संगठन सबैको वर्ग चरित्र हुन्छ भन्ने कुरा भुल्नु हुँदैन । आज हामीले स्थापना गरेको लोकतन्त्र तपाईं हामीले ‘सुधारिएको संसदीय व्यवस्था,’ ‘जनताको संसदीय व्यवस्था,’ ‘बहुदलीय लोकतन्त्र,’ ‘बहुदलीय जनवाद’ वा ‘जनताको बहुदलीय जनवाद’ वा ‘सम्पूर्ण लोकतन्त्र’लगायतका नाम दिएर भने पनि हुन्छ । ती नामहरु जतिसुकै रङ्गिचङ्गी र सुन्दर राख्न खोजे पनि आजको लोकतन्त्र भनेको पुँजीवादी लोकतन्त्र हो नै । यसको वर्गचरित्र पुँजीवादी हो । यो अन्तिम विश्लेषणमा पुँजीपति वर्गको लोकतन्त्र हो ।
यो पुँजीवादी लोकतन्त्रले शोषण अन्त्य गर्न सक्दैन, एक वर्गले अर्को वर्गलाई गर्ने अन्याय र अत्याचार अन्त्य गर्न सक्दैन । यसले जनतालाई समानताको हक दिन सक्दैन । यसले नेपाली समाजमा विद्यमान जातीय, धार्मिक र सांस्कृतिक विभेद अन्त्य गर्न पनि सक्दैन । यसले भष्टाचार्र अन्त्य गर्न सक्दैन । यसले साम्राज्यवाद र प्रभुत्ववादबाट देशलाई स्वतन्त्र र मुक्त बनाउन पनि सक्दैन । यसले पारदर्शी ढङ्गले विकास निर्माण पनि गर्न सक्दैन । यसले केही गर्छ तर शोषणका अधिकारलाई सुरक्षित गर्छ । यसले पुँजीपति वर्गलाई शोषण र भ्रष्टाचार गरेर जति पनि सम्पत्ति केन्द्रिकरण गर्ने अधिकार दिन्छ । यसले मुठ्ठीभरका पुँजीपति र धनाढ्य कुबेरका हातमा सारा सम्पत्ति केन्द्रीकरण गर्न दिन्छ र व्यापक जनतालाई गरिबीको रेखामुनि खसाल्छ । यसले भयानकढङ्गले आम्दानीको खाडल बढाउँदै लैजान्छ । त्यसैले मुलुकमा पुँजीवादी व्यवस्था स्थापना भएको छोटो अवधिमा मुलुकमा चौतर्फी संकट बढ्दै गएका छन् । ती संकट अझ गहिरिँदै जान्छन् र समाजवादी क्रान्तिका निम्ति बस्तुगत आधार झन गहिरो बन्दै जान्छ । यो समाज विकास र क्रान्तिको विकासको पनि नियम नै हो ।
पुँँजीवादी लोकतन्त्रले आवधिक निर्वाचन गराउछ । सत्ता परिवर्तन भइरहेको पनि देखाउँछ । जनताको निर्वाचनबाट सरकार बनेको पनि देखाउँछ । तर प्रत्येक निर्वाचनमा प्रथमतः पैसाको मात्र महत्व हुन्छ, जोसँग पैसा छ, उसैले चुनाव जित्छ । दोस्रो, पैसावालाले व्यापकरुपले झुट प्रचार गर्न सक्छ । तत्कालीन प्रचारले जनताको दिमागमा भ्रम हाल्ने काम गर्छ र सेतोलाई कालो तथा कालोलाई सेतो परिणाम निकाल्ने बनाउँछ । तेस्रो, पैसाकै बलमा पुँजीवादी शक्तिले मसल प्रयोग गर्छ । विभिन्न प्रकारका गुण्डागर्दी गराउँछ र प्रभाव एउटाको भए पनि परिणाम अर्कैको बनाइदिन्छ । चौथो, पैसाकै बलले त्यसले मतदातालाई गुप्तरुपले खरिदबिक्री गराउँछ । जनताको गरिबीबाट फाइदा उठाउँछ । पाँचौँ, पैसाकै बलले त्यसले कर्मचारी र सुरक्षा संयन्त्र पनि किन्छ र परिणामको दृष्टिले आकाशलाई पाताल र पाताललाई आकाश बनाइ दिन्छ । यसरी पुँजीवादी लोकतन्त्रमा पुँजीले सबै कुराको निणर्य गर्छ । त्यसैले यो पुँजीवादी लोकतन्त्र सारः पुँजीवादी अघिनायकत्वबाहेक केही पनि होइन । यस्ता कुराको व्यापक भण्डाफोर नगरी र त्यस्ता प्रवृत्तिविरुद्ध जनतालाई गोलबद्ध नगरी समाजवादी क्रान्तिकारीले चुनाव जित्न पनि कठिन हुन्छ । त्यसैले हाम्रो पार्टीको स्थापना उद्देश्यमा हामीले जनवादबाट अघि बढेर समाजवाद र साम्यवादमा पुग्ने कुरा घोषित गरेका छौँ । पुँजीवादी लोकतन्त्र अन्तिम गन्तव्य होइन । त्यो हाम्रो न्युनतम गन्तव्य चैँ हो । त्यो कुरा हामीले प्राप्त गरिसक्यौँ । यो न्युनतम लक्ष्य प्राप्त नगरी अधिकतम लक्ष्यमा पुग्न सकिँदैन थियो । हाम्रो जस्तो देशको क्रान्तिमा पुँजीवादी लोकतन्त्र भनेको समाजवादमा पुग्ने अनिवार्य सिँढी हो । यो पुँजीवादी लोकतन्त्रमा नटेकी हामी समाजवादमा पुग्न सक्दैनौँ । त्यसैले हामीले पुँजीवादी लोकतन्त्रलाई अधिकतमरुपमा क्रान्तिकारी ढङ्गले उपयोग गर्दै अघि बढ्नुपर्छ ।
के यो लोकतन्त्रले हामीलाई केही पनि दिएको छैन ? होइन, यो लोकतन्त्रले आमजनातालाई बोल्ने, लेख्ने, प्रकाशन गर्ने, सभा गर्ने, संगठन बनाउने, विचारका आधारमा संगठित हुने, आलोचना गर्ने, पार्टी खोल्ने, निर्वाचनमा भाग लिने, बहुमत ल्याए सरकार बनाउने, गठबन्धन गरेर पनि बहुमत देखाएर सरकार बनाउने, संसदमा बहुमतका आधारमा कानुन बनाउने अधिकार दिएको छ । यी पुँजीवादी अधिकारलाई समाजवादी क्रान्तिकारीले भरपुर उपयोग गर्नुपर्छ । ती अधिकारको प्रयोग गरेर नै हामीले माक्र्सवाद-लेनिनवादको वैज्ञानिक मार्गदर्शनमा श्रमजीवी जनताको अग्रदूत कम्युनिष्ट पार्टी निर्माण तीब्र बनाउनुपर्छ । सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पार्टीलाई वर्गआधारित, जनआधारित र देशव्यापी बनाउनुपर्छ । पार्टीका वरिपरी वर्गीय संगठनको व्यापक राष्ट्रव्यापी सञ्जाल बनाउनु पर्छ । समाजको प्रधान अन्तरविरोध र प्रधान प्रतिद्वन्द्वीलाई ठीक ढङ्गले ठम्याउन हरबखत कठोर प्रयत्न गर्नुपर्छ । जहिलेसुकै पनि पार्टीले आफ्ना प्रचार, संगठन र संघर्षका कामलाई निशानामाथि केन्द्रित गरेर अघि बढाउनुपर्छ । पार्टीको नेतृत्वमा सबै वर्ग र तहका जाति र जनजातिका जनताको व्यापक वर्गीय संयुक्त मोर्चा निर्माणलाई प्राथमिकता दिएर अघि बढाउनुपर्छ । खासबेलामा प्रधान प्रतिद्वन्द्वीविरुद्ध वा प्रधाननिशानाविरुद्ध विभिन्न प्रकारका राजनीतिक गठबन्धन, कार्यगत एकता वा राजनीतिक संयुक्त मोर्चा पनि बनाउन सकिन्छ । ताकि प्रधान प्रतिद्वन्द्वीविरुद्ध सबै शक्ति गोलबद्ध गर्न सकियोस् । यस्तो नीतिगत र वैचारिक राजनीतिक मोर्चावादीका साथमा प्रधान प्रतिद्वन्द्वीविरुद्ध विभिन्न वर्ग, तह, समुदाय र क्षेत्रका जनताका बहुआयामिक संघर्षलाई जोडदाररुपले अघि बढाउनु पर्छ । यसरी जनताका शोषण, उत्पीडन र विभेदविरोधी संघर्ष, भ्रष्टचार, बेथिती र कुशासनविरोधी संघर्ष र राष्ट्रिय उत्पीडन तथा हस्तक्षेपविरोधी संघर्षलाई योजनावद्धरुपले अघि बढाउनु पर्छ । ती संर्घषलाई संसदभित्र र बाहिरबाट तथा माथि र तलबाट कुशल संयोजनका साथ अघि बढाउनु पर्छ ।
तब मात्र नेपाली जनताको क्रान्तिकारी चेतना, संगठन र शक्ति राष्ट्रव्यापीरुपमा विकास हुँदै जान्छ । हामी स्थानीय र राष्ट्रिय जनप्रतिनिधि संस्थामा जनताको दखल बढाउँदै लैजान सक्छौँ । त्यो नवीन चेतना, संगठन र संघर्षले मुलुकमा समाजवादी क्रान्ति र रुपान्तरणका निम्ति बस्तुगत र आत्मागत शक्ति निर्माण हुँदै जान्छ । तब नै हाम्रो यो प्रिय र सुन्दर मुलुक नेपाल एउटा सभ्य, सुसंस्कृत, उज्यालो, लोकतान्त्रिक र समृद्ध समाजवादी नेपालमा विकसित र रुपान्तरित हुनेछ र हामीहरु अनन्त विकास र रुपान्तरणको मार्गबाट अघि बढ्दै वैज्ञानिक साम्यवादको दिशामा अघि बढ्ने छौँ ।
कमरेडहरु ! यी हाम्रा पार्टी स्थापनाका दूरर्गामी ऐतिहासिक लक्ष्य हुन् । यी पाँच वटा लक्ष्य प्राप्त गर्ने हाम्रो क्रान्तिकारी महायात्रा अहिले ७५ वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म हामीले सामन्तवादलाई उन्मूलन गर्ने र पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने दुईवटा ऐतिहासिक लक्ष्य प्राप्त गरिसकेका छौँ । साम्राज्यवाद र प्रभुत्ववादका हस्तक्षेप र घुसपैठको विरोध र भण्डाफोर गर्दै, दलाल पुँजीवादविरुद्ध मुख्य संघर्ष केन्द्रित गर्ने र समाजवाद तथा साम्यवादको दिशातिर समाजलाई अघि बढाउने हाम्रो गौरवपूर्ण ऐतिहासिक संघर्ष जारी छ । यो ऐतिहासिक संघर्षलाई हरप्रकारले तीब्र र व्यापक बनाउँदै अघि बढौँ । त्यसका लागि हामीले माक्र्सवाद-लेनिनवादको वैज्ञानिक मार्गदर्शनमा हाम्रो देशको ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्नुपर्छ । समाजवादी क्रान्तिका सही वैचारिक–राजनीतिक कार्यदिशा, नीति र सिद्धान्त अघि सार्न सक्नुपर्छ । तिनीहरुको आधारमा पार्टीका प्रचार, संगठन र संघर्षलाई प्रधान अन्तरविरोध र प्रधाननिशानामा केन्द्रित गरेर अघि बढाउन सक्नुपर्छ । जनता र राष्ट्रलाई हर घडी र घटनामा सही मार्गदर्शन गर्न सक्नुपर्छ। सकेसम्म सबै वामपन्थी र मित्रशक्तिलाई एकताबद्ध पार्नुपर्छ । तब मुलुकमा जनताको क्रान्तिकारी संघर्षको उच्च लहर पैदा हुनु अनिवार्य हुन्छ। त्यही लहरले मुलुकमा अजंगका उलटपलट र हेरफेर ल्याउने छ। क्रान्तिकारी संघर्षको बाटो जतिसुकै उबड-खाबड र बाङ्गो-टिङ्गो भए पनि जनताको विजय सुनिश्चित छ। समाजवादी क्रान्तिको विजय सुनिश्चित छ। समाजवादी नेपालको स्थापना अनिवार्य छ।
२०८० साउन ७
साभार: समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय प्रकाशन ‘समाजवादी प्रेस’ बाट।