काठमाडौं चैत्र ११
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न आम कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
एकीकृत समाजवादीको पार्टी निकट एकीकृत टेड युनियन महासङ्घ नेपाल (आइसिटियु) घोषणा सभा तथा सम्मान समारोहलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले भन्नुभयो, ‘सरकारमा सहभागी पार्टीहरूबीच निर्वाचनमा गठबन्धन भयो भने सङ्गठनमा सामेल हुने यदि गठबन्धन भएन भने हामी एक्लै चुनाव लड्दा पनि पहिलो पार्टी हुने गरी अगाडि बढ्नुपर्छ ।’
नेपालले जनताको हितका निम्ति काम गर्नसमेत कार्यकर्तालाई निर्देशन दिनुभयो । एमालेसँगको लडाइँ व्यक्तिगत स्वार्थको लडाइँ नभएर विचार र परिवर्तनकारी र यथास्थिति बीचको लडाइँ भएको बताउनु भयो ।
आफ्नो पार्टीले कलम चिन्ह लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जित हासिल गरिसकेको स्मरण गराउँदै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्नका लागि आफूहरुले वाम लोकतान्त्रिक शक्तिहरुसँग मिलेर जाने विषयमा छलफल चलाई रहेको दोहोर्याउनु भयो ।
‘हामीले विजयको सुरुवात पनि गर्यौँ । राष्ट्रियसभाको चुनावमा पहिलो पटक हामीले हाम्रो उम्मेदवारलाई जितायौं । कलम चिन्हको जितको सुरुवात गरेर अगाडि बढेका छौं ।
त्यसो हुनाले कसैकसैलाई लाग्ला सूर्य चिन्ह नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर । अप्ठ्यारो होइन हाम्रो जितको सुरुवात भइसकेको छ । कलम चिन्हले जित्न थालिसकेको छ अध्यक्ष नेपालको भनाई थियो ।