लेखनाथ सिकारु
काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको छानविन गर्ने भए आफूबाट छानबिन सुरु गर्न आग्रह गर्नु भएको छ।
युवा संघ नेपाललले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता खनालले सर्प कान्ड भनेर आफूलाई बदनाम गर्न खोजिएको भन्दै त्यसको उचित छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भयो ।
‘सर्पदंशबाट बचाउन भनेर चलेको परियोजनामा आप्नो कुनै संलग्नता भेटियो, एक पैसा मात्रै दुरूपयोग भएको छ भने म अहिले नै हतकडी लगाउन तयार छु,’ उहाँले भन्नुुभयो ।
देशमा भ्रष्टाचार निवारण गर्ने हो भने झलनाथ खनालबाट छानबिन सुरू गर्नुस्।’ भन्दै २०७० सालमा चुनाव प्रचारका क्रममा सर्लाहीमा सर्पले डसेर मृत्यु भएको बालकको घरमा पुगेको र त्यही पीडाबाट विक्षिप्त भएर पार्टीकै नेताहरूले भेनम उत्पादन गर्ने परियोजना अघि बढाएको प्रष्टीकरण दिंदै आफ्नो नाम राख्न स्वीकृति दिएको तर आफ्नो अन्य कुनै सलग्नता नरहेको उहाँले प्रष्ट्याउनु भयो । ६० वर्षे राजनीतिक जीवनमा आफूले आपराधिक सोच नपालेको बताउनु भयो ।
उहाँले निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको अवमूल्यन गरेको भन्दै ‘अघिल्लो पटक राष्ट्रपतिले त्यसै रोकिएदिएर छलफल हुन पाएन। यसपटक राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुभयो,’ त्यस उपर उचित छलफल र परामर्श नै हुन पाएन ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाउने अधिकार सभामुखमा निहित भएको भन्दै अहिले गलत बाटो प्रयोग गरी विधेयक आएको र जुन संविधान विपरीत भएको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री खनालले टिकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आम माफी दिनु गलत भएको बताउनु भयो ।