पोखरा । नेकपा एकीकृत समाजवादी निकट मोर्चा संगठनले पोखरामा विरोध र्याली प्रदर्शन गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका दोषीहरूलाई कारवाही हुनुपर्ने तथा अन्य भ्रष्टाचारका काण्डहरूमा मुछिएकालाई पनि कारवाहीको दायरामा ल्याउन दवाव दिदै बुधबार पोखराको सिर्जनाचोकबाट निस्केको र्याली पृथ्वीचोकमा गई कोण सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर, मिलेर फालौँ भ्रष्टाचारको जालो सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो, मानव बेचविखन बन्द गर, नियम कानून सरावर ठूला साना वरावर, ३ नेताको चोचोमोचो बन्द गर लगायतका नारा लगाएका थिए ।
कोणसभामा बोल्दै अनेरास्वीयूका स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणका नाइकेलाई गिरफ्तार गरी अनुसन्धानको दायरामा ल्याउन माग गर्नु भयो । भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई उम्काउने षड्यन्त्र भइरहेको भन्दै यदि त्यसो गरिएमा युवा विद्यार्थीहरूले सडकमा राँको बाल्ने उनले चेतावनी दिए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने मानव तस्करहरूलाई नेपाली जनताले कुनै पनि हालतमा नछाड्ने बताउनु भयो । विरोध सभामा बोल्दै युवा संघका केन्द्रिय सदस्य कपिल पौडेलले पूर्व प्रधानमन्त्रीहरूको सेटिङमा नक्कली भुटानी शरणार्थी प्रकरण रचिएको आरोप लगाउदै मानव तस्करीमा संलग्न जो सुकै होऊन् उनिहरु माथि कारवाही गर्नुपर्ने भन्दै यदि सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कारवाही गरेन भने युवा विद्यार्थीहरूको विरोध प्रर्दशनले सडक भरिने पौडेलले बताउनु भयो ।
नक्कली भुटानी शरणार्थी प्रकरण सहित अन्य भ्रष्टाचारका काण्डहरूको पनि छानविन गरी दोषी माथि कारवाही गर्नुपर्ने धारणा उहाँको थियो । विरोध सभाका अर्का वक्ता अखिल नेपाल महिला संघ समाजवादीका कास्की जिल्ला ईञ्चार्ज शर्मिला पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई बचाउन चलखेल गरिएको बताउँदै अन्य पार्टीहरु जस्तो आफूहरू भ्रष्टाचारीलाई बचाउन सती नजाने बताउनु भयो ।
उहाँले आफ्नो पार्टीका कोही भ्रष्टाचारी भएमा प्रहरीकहाँ आफुहरुले नै लगेर बुझाइदिने भन्दै आफ्नो पार्टी भ्रष्टाचारको विरुद्धमा निरन्तर लड्ने भन्दै अव कुनै पनि भ्रष्टाचार काण्डका दोषीहरु उम्कन नसक्ने उहाँको भनाई थियो । कार्यक्रमका अर्का वक्ता अनेरास्वीयूका गण्डकी प्रदेश अध्यक्ष ठाकुर पराजुलीले भ्रष्टाचारी हरूलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने भन्दै भ्रष्टाचारीको कुनै पार्टी नहुने हुनाले जो सुकै पार्टीको भएपनि कारवाही हुनुपर्ने बताउनु भयो । भ्रष्टाचारीलाई विद्यार्थीहरूले खबरदारी गरिरहेको समेत पराजुलीले बताउनु भयो ।
विरोध र्याली तथा सभामा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यहरु तुल बहादुर गुरुङ, शारदा प्रसाद सुवेदी, स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष रामजी शर्मा, पोलिटव्यूरोसदस्यहरु प्रेम नारायण पौडले, प्रतापलाल श्रेष्ठ, केन्द्रिय सदस्यहरू कृष्ण नेपाली, रत्ना गुरुङ लगायत गण्डकी प्रदेश कमिटीका सदस्यहरू, कास्की जिल्ला कमिटी , पोखरा महानगर समितिकासदस्यहरू तथा मोर्चा संगठनका विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।