बुटवल। नेकपा ( एकीकृत समाजवादी ) का महासचिव घनश्याम भुसालले मुलुकको अस्थिरताको जननी बेरोजगारी, भ्रष्टाचार मूल कारण रहेको बताउनु भएको छ ।
उहाँले विगत ७० बर्षयता राजनीतिक रुपमा अस्थिरता निम्तिनुमा मुलुकमा रहेको बेरोजगारी समस्या हल गर्न नसक्नु र देशमा सुशासन कायम गर्न नसक्दा मौलाएको भ्रष्टाचार नै कारक तत्व रहेको बताउनु भयो ।
नेकपा ( एकीकृत समाजवादी ) रूपन्देहीले आइतबार बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महासचिव भुसालले एकपछि अर्को सरकार बन्ने परिपाटीको अन्त्य अबको आवश्यकता भएको बताउनु भयो । उहाँले अब सरकारले भ्रष्टाचारको फाइल क्रमश खोल्दै जानुपर्ने बताउनु भयो ।
‘भ्रष्टाचारका फाइल खुल्दै जादा धुव्रिकरण पनि बढ्दै जानेछ, विदेशी शक्तिहरूको पनि चलखेल हुनसक्छ’ उहाँले भन्नुभयो । अब समाजवादी मोर्चा बनाएर वामपन्थी धु्रवीकरणको दिशामा मुलुकलाई अगाडि बढाउनुपर्ने बताउनु भयो । मुलुक इतिहासकै ठूलो उकुसमुकुसमा रहेकाले त्यसबाट मुक्ति दिलाउनका लागि वैचारिक पार्टीहरू जनताको बिचमा पुग्नु पर्नेमा उहाँको जोड छ । महासचिव भुसालले अबको २ वर्षभित्र वामपन्थी शक्तिलाई विकल्पका रुपमा ल्याउनका लागि एकीकृत समाजवादीले नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयो ।
उहाँले बेरोजगारले युवाहरूमा अभाव र छटपटी पैदा गरेको र भ्रष्टाचारले नेताहरू प्रति वितृष्णा पैदा गरेकाले नयाँ दलहरूको उदय भएको बताउनु भयो । ‘बेरोजगारी र भ्रष्टाचारकै कारण केही नयाँ दलहरुको उदय भएको छ’ भुसालले भने –‘तर तिनबाट मुलुकको यो समस्या अन्त्य हुनेवाला छैन ।’
उहाँले भन्नुभयो –‘अब यसका लागि हामी सच्चिएर जनताको बिचमा जानुपर्छ ।’ नेपाली काँग्रेस र नेकपा एमालेले अब देशको राजनीतिक, आर्थिक समाजिक सुधारका लागि काम गर्न नसक्ने बताउँदै मुलुकको वर्तमान अवस्थामा वैचारिक हिसाबले एकीकृत समाजवादी नै सही ठाउँमा रहेको बताउनु भयो ।
राष्ट्रिय पूँजीको विकास गरि समाजवादी व्यवस्था निर्माणमा पुग्ने सैद्धान्तिक र वैचारिक दृष्टिकोण आफूहरूले मात्रै राखेको बताउँदै कार्यकर्तालाई नागरिकका गास, बास र कपासका एजेन्डा लिएर जनताको बिचमा जान आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेमा केपी ओली प्रवृत्ति नै विचार, सिद्धान्त र संगठन हुँदा विद्रोह गर्नुपरेको भन्दै ‘विद्रोह कठिन काम हो, त्यसैले गाउँ गाउँमा पुगेर समाजवादी कार्यक्रम बताउनुहोस्’ उहाँले भन्नुभयो । भेलामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, अर्का केन्द्रीय सदस्य बाबुलाल यादव, जिल्ला अध्यक्ष अविराम विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।