रमा न्यौपाने
काठमाडौं । प्रथम मदन आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा फुटसल फाइभ समूह प्रथम भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा भएको प्रतियोगितामा रोयनएफसी समूह दोस्रो र कुर्दनएफसी समूह तेस्रो भएका छन् ।
पहिलो दोस्रो र तेस्रो समूहले क्रमशः तीन लाख, रु दुई लाख र एक लाखसहित शिल्ड, ट्रफी कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदान गर्नुभयो । जेठ ३ गतेदेखि ८ गते सम्म भएको प्रतियोगितामा ८० टिमको सहभागिता रहेको भए पनि ५८ टिमले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले खेलकुदका माध्यमबाट देशको पहिचानलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सकिने बताउँदै त्यसका लागि युवा वर्गले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।
अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा पनि युवालाई अगाडि बढाउने नीति आफ्नो पार्टीले अवलम्बन गरेको बताउनु भयो । उहाँले यस खाले अतिरिक्त क्रियाकलापले युवाहरूमा जोस जागर थपिनुका साथै उर्जा प्रदान भएको भन्दै देश विकासमा युवा शक्ति अपरिहार्य रहेको बताउनु भयो ।
पार्टीका गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री एवं माननीय सांसद राजिव ( दिपकमनाङ्गे ) गुरुङ, ले देशमा छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरी कम्युनिष्ट सिद्धान्तलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारी र कुशल सङ्गठनको स्मृतिमा गरिएको प्रतियोगितालाई सबै जिल्लामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य एवं युवा सङ्घ इन्चार्ज दिलु पन्तले नेपाली राजनीतिमा देखापरेको भ्रष्टाचार, अपराधिकरण लगायत विकृति अन्त्यका लागि युवाशक्ति आदर्श र निष्ठापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पिपुल्स भोलेन्टियर प्रमुख शिव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समापन समारोहमा कार्यक्रममा नेताहरू होम बुढाथोकी, हस्त शाही, चुनु केसी, एल पि श्रेष्ठ , रमेश बाबु श्रेष्ठ , युवा संघ उपाध्यक्ष नितेश पौडेल , युवा संघका नेताहरू फुर्वा तामाङ ,तिर्थलाल श्रेष्ठ ,रोसन थापा, समीप त्रिपाठी, लगायतको उपस्थित थियो ।