काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको बताउनु भएको छ ।
संसदीय समिति अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार भएको बैठकमा उहाँले उक्त विमानस्थलको कामलाई अगाडि बढाउन सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरेको भन्दै अर्थमन्त्री डा. महतप्रति असन्तुष्टि पोख्नुभएको हो ।
अध्यक्ष नेपालले यसलाई अघि बढाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्दै मुलुकको गेम चेन्जर प्रोग्रामको रुपमा रहेको उक्त विमानस्थललाई अघि बढाउन संसदीय समितिहरुलाई पनि विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
, ‘पर्यटनसँग पनि जोडिएको, नागरिक उडड्यनसँग पनि जोडिएको र मलाई पनि सधैंभरि त्यसले घच्घच्याइरहेको त्यो निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शंका र डर लाग्न थालेको छ ।’ उहाँले भन्नुभयो ।
आफूले धेरैचोटि कोसिस गर्दा पनि सुनुवाइ नभएको भन्दै ‘अहिलेको भन्दा पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्याश गरौं भनें । यो समितिले पनि त्यहाँको अध्ययन गरेर अनेकौं खालको बाधा, अवरोधहरुलाई पन्छाएर बल्लबल्ल निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो’, , ‘त्यसलाई उच्च प्राथमिकता दिइयोस् । राष्ट्रिय बजेटमा पनि, सरकारको नीति तथा कार्यक्रममा पनि र यो समितिको काममा पनि ध्यान दिइयोस् भनेर त्यसलाई समावेश गरियोस् भनेर म विशेष जोड दिन चाहन्छु ।
हाम्रा अर्थमन्त्रीजीले पेश गरेको कुरामा अनेक कुराहरु चर्चा गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई प्राथमिकताका साथ नाम उल्लेख गरेर अगाडि सारिएको छैन । अब यो महत्व नबुझेर हो कि महत्व बुझाउन तथ्य, तथ्यांक, प्रमाण, विश्लेषण समेत पेश गर्नुपर्ने हो कि ? थाहा भएन ।’
अध्यक्ष नेपालले ठूला शक्ति राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने बताउनु भयो ।