काभ्रेपलान्चोक ।नेकपा ( एकीकृत समाजवादी ) काभ्रेले आज भ्रष्टाचार विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप देशैभरी प्रदर्शन भइरहेको बेला नेकपा ( एकीकृत समाजवादी ) काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको छ।
आज बैशाख २८ गते दिनको ४ बजे नेकपा एकीकृत समाजवादी निकट मोर्चा संगठनको तर्फबाट विरोध स्वरुप ध्यानाकर्षण पत्र बुझाइएको हो । ध्यानाकर्षण पत्रमा ‘जनवर्गीय मोर्चा सङ्गठनहरूको संयुक्त ऐक्यबद्धता रहेको थियो ।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा विभिन्न मोर्चा संगठन प्रमुखहरूकोसामूहिक सहभागी रहेको थियो ।
उक्त कार्यक्रममा युवा संघ नेपाल, अनेमसंघ समाजवादी ,अनेरास्ववियू , दलित मुक्ति संगठन, अखिल नेपाल किसान महासंघ ,खेलकुद महासंघका ,पेशागत महासंघ,आदिवासी जनजाति महासंघका अध्यक्ष , उपाध्यक्ष लगायत नेताहरुकोसहभागीता थियो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका तर्फबाट प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले ध्यानाकर्षण पत्र बुझ्नु भएको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैधानिक कार्यमा संलग्न गिरोहलाई सहयोग पुर्याएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरुसहित करिब एक दर्जनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमारगुरूङ, रामशरण केसी र गोविन्द चौधरीसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव रायमाझी भने पक्राउ पुर्जी जारी भए लगत्तै सम्पर्कविहीन अवस्थामा छन् ।