काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचार र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाहीको माग गर्दै देशव्यापी खबरदारी अभियान सुरु गरेको छ।
बिहीबार काठमाडौंको माइतीघर मण्डला सहित देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार धर्ना दिएर खबरदारी गरेको हो । मोर्चा संगठनको आह्वानमा ‘नक्कली शरणार्थी काण्डका सबै अपराधीलाई कारबाही गर’ भन्ने मुख्य नारासहित देशव्यापी रूपमा खबरदारी गरेको स्थायी समिति सदस्य एवं किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले जानकारी दिनुभयो ।

देशव्यापी रूपमा भ्रष्टाचारविरुद्ध खबरदारी अभियान सुरु गरेको भन्दै नेता बाँस्कोटाले धर्नामा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । सरकारलाई खुट्टा नकमाउन पनि उनीहरूले सुझाव दिएका छन्। उनीहरूले नक्कली शरणार्थीका साथै अन्य प्रकरणमा पनि छानबिन गर्न माग गरेका छन्।
सुर्खेत र धनगढीमा प्रदर्शन
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषी अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दै नेकपा ( एकीकृत समाजवादी ) ले सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीमा समेत प्रदर्शन गरेको छ ।
पार्टीको मोर्चा सङ्गठनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले यस प्रकरणमा कुनै पनि राजनैतिक दबाबका कारण पछि हट्न नहुने जनाएका छन् । वीरेन्द्र नगरमा प्रदर्शन पछिको कोण सभामा बोल्दै नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीका कर्णाली प्रदेशका अध्यक्ष खड्क केसीले राजनीतिलाई आधार बनाएर हुने विभिन्न खालका भ्रष्टाचारले समग्र मुलुकको बदनाम हुने भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

कोण सभामा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य कृष्ण शिवप्रसाद उपाध्याय, कुलदिप भट्ट, सुर्खेत जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल आदिवासी जनजाति महासंघ समाजवादीका केन्द्रिय सचिव बिरबहादुर रावत, प्रदेश कमिटी सदस्य बसन्तकुमार विश्वकर्मा, अनेमसंघ सुर्खेतका अध्यक्ष धना शाही, युवा संघ नेपालका प्रदेश कमिटी उपाध्यक्ष ध्रुव थापा लगायत मोर्चा सङ्गठनका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो । यता कैलालीको धनगढीमा नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी ) कैलालीले भ्रष्टाचार विरुद्ध जुलुस प्रर्दशनी गरेको छ ।

धनगढीको एल एन चोकबाट शुरु भएको प्रर्दशन जिल्ला प्रशासन कैलालीको गेटमा नारावाजी गर्दै कोणसभामा परिणत भएको थियो । कोण सभामा पार्टी जिल्ला अध्यक्ष विमल जोशीले सरकारले भ्रष्टाचार विरुद्धको अभियानमा चालेको कदमलाई स्वागत गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका जोसुकै लाई कानूनी दायरामा ल्याउन माग गर्नुभयो ।