काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आज भ्रष्टाचार विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप देशैभरी प्रदर्शन गर्न लागिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालला तुलाधरले बताउनु भयो ।
आज बैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ कार्यक्रममा ‘जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष हार्दिक अनुरोध गर्दछौ ।’ उहाँले भन्नु भएको छ ।
हिजो माइतीघर मण्डलामा पार्टीको मोर्चा संगठनको तर्फबाट प्रदर्शन भएको पार्टीका उपमहासचिव तथा मोर्चा फाँट प्रमुख डा.विजय पौडेलले बताउनु भयो । देशमा विद्यमान भ्रष्टाचार लगायत नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन र कारबाही प्रक्रिया टुंग्याउन दबाब दिने उद्देश्यले कार्यक्रमहरू भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा मोर्चा संगठन प्रमुख पौडेल सहित पार्टीका उपाध्यक्ष तथा अनेमसंघ समाजवादीकी अध्यक्ष जयन्ती राई ,दलित मुक्ति सङ्गठनका अध्यक्ष गणेश विके, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम वाँस्कोटा,अनेरास्ववियूका अध्यक्ष सुुदेश पराजुली ,जनसांस्कृतिक महासंघका महासचिव ॠसीअधिकारी,खेलकुदमहासंघका विनोद मैनाली,युवा संघ नेपालका कृष्ण विक लगायत नेताहरुले देशमा विद्यमान भ्ष्टाचारकासमावालमा खेल्नुपर्ने भूमिकाको बारेमा बोल्नु भएको थियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैधानिक कार्यमा संलग्न गिरोहलाई सहयोग पुर्याएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरुसहित करिब एक दर्जनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, खाणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, रामशरण केसी र गोविन्द चौधरीसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव रायमाझी भने पक्राउ पुर्जी जारी भए लगत्तै सम्पर्कविहीन अवस्थामा छन् ।