काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणका सबै दोषीमाथि कारबाही हुनुपर्ने जनाएको छ ।
बुधबार केन्द्रीय सचिवालयको ६० औं बैठकपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालद्वारा एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणले आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र देशघाती भएको जनाएको छ ।
विज्ञप्तिमा भनेको छ, ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि सरकारले कारबाहीको प्रक्रिया शुरु गरेको छ । अहिले त्यस काण्डका एकपछि अर्को रहस्य सतहमा आउँदै छन् । उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारीहरु यसको घेरामा पर्दै गएका छन् । घटनाको प्रकृतिले यो आर्थिक अनियमिता मात्रै नभएर मानव तस्करी र देशघाती समेत हो भन्ने छर्लङ्ग छ ।’
विज्ञप्तिमा भनिएको छ शक्ति आडमा कुनैपनि बहानामा दबाब वा प्रभावबाट अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नदिन र सबै दोषीमाथि कार्यवाही गर्न समेत एकीकृत समाजवादीले सरकारसँग माग गरेको छ । ‘कुनैपनि शक्तिले कुनैपनि बहाना पार्ने, कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस् र सबै दोषीमाथि कार्यवाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ ।
दबाइएका अन्य घटनाहरूमा पनि यसैगरी छानबिन अगाडि बढाउन हाम्रो पार्टी माग गर्छ ।’ साथै, एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न माथि अनुसन्धान र कार्यवाही प्रक्रियालाई सतर्कतापूर्वक हेर्न र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पार्टी पंक्ति र जनसंगठनहरुलाईआह्वान समेत रहेको छ ।
नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय सचिवालयको ६० औँ बैठक पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको थियो ।