काठमाडौं । कृषि तथा पशुपक्षी मन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएको छ । अखिल नेपाल किसान महासङ्घको ७३ औं स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका डा. भुसालले देशले राजनैतिक रुपमा फड्को मारे पनि आर्थिक र सामाजिक रुपमा उल्लेख्य प्रगति नभएको भन्दै कृषि क्षेत्र राज्यका हरेक अङ्गबाट अपहेलित भएको बताउनु भयो ।
उहाँले कृषि क्षेत्रमा यान्त्रिकीकरण आवश्यक भएको भन्दै जसले कम श्रमबाट उत्पादकत्व बृध्दि गरी कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्र आम समस्याले जेलिएको क्षेत्र रहेको भन्दै डा. भुसालले उपेक्षामा रहेको कृषि क्षेत्रको प्रवर्द्धनका लागि कृषि क्षेत्रका सरोकारवालाहरूको साझा प्रतिवद्धता सहित कृषि क्षेत्रमार्फत उत्पादकत्व र उत्पादन वृध्दि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कृषि जन्य उत्पादनको वजार व्यवस्थापनको समस्या भएको , ठूलो हिस्सा जमिन बाँझो रहेको ,वन्यजन्तुले कृषकलाई दुख दिएको लगायत यावत खाले समस्या रहेको बताउनु भयो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहनु भएका नेता भुसालले कृषक महासँघले उठाउँदै आएको खाद्य सम्प्रभुता सम्बन्धी नियमावली बन्ने अन्तिम चरणमा भएको पनि बताउनु भयो ।
मन्त्री भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको भन्दै उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउदै त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने बताउनु भयो ।
कूल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा आठ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको जानकारी दिँदै उहाँले किसानलाई सहयोग गरी यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।
मन्त्री भुसालले किसानमाथि हुने शोषण अन्त्य गर्न अखिल नेपाल किसान सङ्घको स्थापना गरिएको भन्दै उनीहरुलाई मल, बीउ विजन, सिँचाइ, बजारीकरण, यान्त्रिकरण तथा पूर्वाधारको विकास गर्नुपर्ने बताउनु भयो ।
किसान आन्दोलनका नेता भैरव रेग्मीले किसान अधिकार सुनिश्चित गर्न आफूहरुले राखेको ६२ सुत्रीय माग पूरा गर्नुपर्नेमा जोड दिँदै किसानलाई सम्पन्न बनाउन राजनीतिक दलसँग आबद्ध किसान एकीकृत रुपमा अगाडि बढनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अखिल नेपाल किसान महाँसंघका अध्यक्ष बलराम बाँस्कोटाले देशको विकास र जनताको समृद्धिका लागि कृषि क्षेत्रको विकास गर्नुपर्ने विचार व्यक्त गर्दै सरकारले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।