काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार नेकपा ( एकीकृत समाजवादी ) द्वारा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनु भयो ।
‘सही विचार र नीतिका आधारमा कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ अहिले हामी त्यही प्रक्रियामा छौँ । जनवादी केन्द्रीयताको सिद्धान्त विरुद्धरहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौँ ।’भन्दै प्रधानमन्त्री दाहालले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनमा नयाँ धुव्रिकरणका प्रक्रिया अगाडि बढ्ने बताउनु भयो ।
, ‘कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अंगीकार गर्यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देख्यौँ र आफ्नै आँखा अगाडि पनि देख्यौँ ।’ उहाँले भन्नुभयो ।
“राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविका , सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरू एक हुन जरुरी भएको भन्दै लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरू एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
अहिले राष्ट्रको आवश्यकता, राष्ट्रियता, जनतन्त्र जनजीविका , विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गर्नेहरू सबै एउटा मोर्चामा आबद्ध भएर एउटा सन्देह दिऔँ ।’ उहाँले भन्नुभयो ।