काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजनीतिक परिवर्तन भएपनि मुलुक परिवर्तन हुन नसकेको बताउनु भयो ।
नेकपा स्थापना दिवस तथा वाम एकताको सम्भावनाबारे आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले लामो राजनीतिक परिवर्तनपछि पनि सांस्कृतिक, आर्थिक एवम् शिक्षा, स्वास्थ्य, कृषि लगायतका सबैजसो क्षेत्रमा कुनै पनि परिवर्तन हुन नसकेको भन्दै ठूलो राजनीतिक परिवर्तनपछि पनि मुलुक जस्ताको तस्तै रहेको बताउनुभएको छ।
कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुर्याउन नसक्ने बताउनु भएको छ । उहाँले ’ कम्युनिस्टहरूले गलत विचार र दृष्टिकोण समयमै चिन्न सक्नुपर्ने भन्दै रुसको तत्कालीन सोभियत कम्युनिस्ट सत्ता गलत विचार र दृष्टिकोणले गर्दा ढलेको खनालले बताउनु भयो ।
‘अहिले भएका वर्गहरूमा कुनचाहिँ शत्रु हो ? कुनचाहिँ मित्र हो ? यसलाई छुट्याउन सकेनौँ भने कोसँग सङ्घर्ष गर्ने कहाँ जाने केही टुङ्गो हुँदैन’ खनालले भन्नुभयो , ‘त्यसैले कम्युनिस्टले वर्ग शत्रु को हो भन्ने छर्लङ्ग छुट्याउनुपर्छ ।हामीलाई मार्क्सवादले सिकाएको यहीँ हो । यदि हामीले यो छुट्याउन सकेनौँ शत्रुसँग साँठगाँठ वा एकता गर्न पुग्दा उँभो होइन उँधो लाग्छौँ ।
“न बजेट, न आधार, न ग्राउण्ड छ। आकाशतिर हेरेर भुँइका काम गर्न मिल्छ र ? शिक्षा, स्वास्थ्यमा क्रान्तिको कुरा, न गरिबी उन्मूलन। त्यत्रो ठूलो परिवर्तनपछि पनि मुलुक जस्ताको तस्तै छ। अनि जनता रिसाउनु परेन त। उहाँले आर्थिक स्थिति भयावह सङ्कटमा रहेको भन्नुहुँदै राजस्वले कर्मचारीलाई तलब दिने स्थितिमा समेत अभाव रहेको बताउनुभयो। निश्चित धर्मका नाममा पछिल्ला वर्षमा ठूलो लगानी भइरहेको र राष्ट्रियता सङ्कटमा परेको उहाँको भनाइ छ।
“हरेक पाँच वर्षमा भयानक परिवर्तन भइरहेको छ। निश्चित धर्मका नाममा कत्रो लगानी भएछ यो देशमा। राष्ट्रियताको सङ्कट छ। विदेशी सैनिक आएर महिना-महिनामा नेपाली सेनालाई प्रशिक्षण दिन्छन्। नेतृत्वले यसलाई कति गम्भीर रूपमा लिइरहेको छ। नेपाली सेनाले देश त बचाइ राखेको छ”, उहाँले भन्नुभयो।
उहाँले वैचारिक, सैद्धान्तिक आधारमा वामपन्थी पार्टीबीचमा पार्टी एकताको ढोका सधैँ खुला रहेको पनि प्रस्ट्याउनु भयो। उहाँले भन्नुभयो, “जसरी २०७५ जेठ ३ गते दुई पार्टीको ठाउँको एकता बालुवाटारमा पुग्ने स्वार्थको एकता थियो। अब, साँच्चिकै एकतामा बदल्ने प्रयास गर्नुपर्छ।
पार्टी विघटनको घोषण भयो। सारा पार्टी कमिटी विखण्डन गर्नुपर्ने के जरुरत थियो ? मतभिन्नता हुने बित्तिकै आग्रह, पूर्वाग्रहका आधारमा। साझा आधार छन्, मिल्न पनि तयार छन्। जो कसैसँग पनि जुनसुकै बेला पनि ढोका खुला हुन्छ, अरू कसैले गर्छ भने त्यो सङ्कीर्ण हो।”