काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरूबीच एउटै पार्टी हुने बताउनु भयो ।
अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताउनु भयो ।
अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरूको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरूलाई एकतावद्ध हुन पनि आग्रह गर्नुभयो ।
कम्युनिष्ट पार्टी सानोसानो समूहमा विभाजित भएर सानोसानो पसल थापेर शक्ति विभाजित गरेर त्यसको फाइदा दक्षिणपन्थी शक्तिहरूले उठाइरहेको भन्दै उहाँले जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका पनि छन्। विश्वास गरेका पनि छन्। त्यही पत्याएका कारणले हामीले पटक पटक मुलुकको नेतृत्व गर्ने अवसर पनि पाएका छौं। हामीले आज समाजमा समस्या नै समस्या देखिराखेका छौं। हामी समाजवादी मोर्चा बनाएर, जनताका सामु घोषणा गरेर हामी प्रस्तुत हुन गइरहेका छौं। उहाँले भन्नु भयो ।
अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिष्ट शक्ति मात्रै भएकाले उनीहरूबीच एकताबद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।
अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि पनि कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको उल्लेख गर्दै नेकपा मसाल, नेकपा संयुक्त लगायतका साना बाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गर्नु भयो ।
सबै कम्युनिष्ट पार्टीहरू एक ठाउँमा उभिन सक्यो भने, एउटै शक्तिको रुपमा उभिन सक्यो भने, यी पाँच वटा औँलाहरू मुठ्ठीको रुपमा आउन सक्ने हो भने यो देशको राजनीतिमा, देशको परिवर्तनको अभियानमा अपरिहार्य रुपमा नेतृत्वदायी भूमिकामा उभिन सक्दछ ।’
मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूलाई अनुशरण गरेर अघि बढनु पर्ने प्रण गर्नुपर्ने बताउनु भयो ।
शासन प्रणालीमा विकृति र विसंगति देखिरहेका छौं । भ्रष्टिकरणको प्रवृत्ति देखिरहेका छौं । गरिवी , अभाव र अनेकौ किसिमका यातनाले पीडित भएका जनताको क्रन्दन सुनिरहेका छौं त्यसको समाधानमा हामी नै लाग्नु पर्ने भन्दै आम नेता कार्यकर्तालाई हरेस नखाई अघि वढ्न सुझाव दिनु भयो ।