भैरहवा ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले मुलुकका हरेक परिवर्तनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । उहाँले आउँदा दिनमा पनि मुलुकको विकास, समृद्धि, संविधानको रक्षा र जनजीविकाका विषयमा पत्रकारहरुले संवेदनशील भएर कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।
समाजवादी प्रेस संगठन नेपाल, लुम्बिनी प्रदेश कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुखसमेत रहनु भएका श्रेष्ठले समाजलाई कता डोर्याउने भन्ने कुरा संचारकर्मीको कलममा निर्भर हुने हुँदा संयमित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । संविधानको रक्षा गर्दै मुलुकलाई अग्रगमनतर्फ बढाउनु अहिलेको आवश्यकता रहेको उहाँले प्रष्ट्याउनु भयो ।
‘केपी ओलीले संसद् विघटन गरे र संविधानमाथि प्रहार गरे, यसका विरुद्ध सबै लागे’, उहाँले भन्नुभयो, ‘संविधानविपरीत भएको ओलीको कदम सर्वोच्च अदालतले सच्यायो । फेरि पनि संविधानमाथि प्रहार हुनसक्छ, सबै सचेत रहनुपर्छ ।’ उहाँले २५ वर्षमा ओलीले अत्यधिक सम्पत्ति जोडेको जनाउँदै मुलुकमा भएका ठूला भ्रष्टाचारका काण्ड खोतल्नु पर्ने जनाउनु भयो ।
अध्यक्ष श्रेष्ठले ओलीकै निर्देशनमा एमाले नेता एवं तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस डिलिङ गरेको जनाउँदै हिजो चप्पल पड्काउने एमाले नेताहरु धमाधम करोडपतिको सूचीमा सूचिकृत भएको आरोप लगाउँदै उहाँले यति, ओम्नी, ७० करोड काण्ड, बालुवाटार काण्ड ओली प्रधानमन्त्री हुँदा भएका ठूला भ्रष्टाचारको काण्ड भएको बताउनु भयो । , ‘बालुवाटारको जमिनसमेत नछाड्नेहरुले मुलुकको विकास र समृद्धिको कुरा गर्नु ठीक होइन् ।’ भन्दै उहाँले ओली कम्युनिष्टका नाममा ध्वंसकारी भएको बताउनु भयो । ‘दुई तिहाइको कम्युनिष्ट सरकार ढाले, संसद माथि प्रहार गरे’, उहाँले भन्नुभयो ,ओलीको गलत नीतिका कारण पार्टी विभाजन भएको र नेकपा एकीकृत समाजवादी गठन भएको हो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जनताको विद्यमान समस्याको हल गर्ने गरि बिचारको राजनीति गर्नु पर्नेम जोड दिनुभयो । ‘विचारको राजनीति पछिल्लो समय डगमगाउँदै गएको छ, यदि विचारको राजनीति गरिँदैन भने राजनीतिक दल हुनुको औचित्य पनि हुँदैन ।’ उहाँले पत्रकारिता जगत् चनाखो हुँदा मुलुकमा भएका धेरै गलत काम सच्चिएको जनाउँदै अब पनि सही ढंगबाट खोज र मिसन पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरेले संचारकर्मीले सबैलाई समान रुपले हेर्न सक्नुपर्ने बताउनु भयो । ‘धेरै पत्रकारहरुले राजनीतिक आस्थाका आधारमा समाचार सम्प्रेषण गर्ने गरेको मैले पाएकी छु’, उहाँले भन्नुभयो , ‘समाचारमा कसैलाई बाहेक गर्नुहुँदैन । मुलुकको परिवर्तन र यसको संस्थागतमा पत्रकारहरुको भूमिका अहम् छ । यसैले समान ढंगबाट अबको पत्रकारिता अघि बढ्नुपर्छ ।’ उहाँले छोटो समयमा नै समाजवादीले मुलुकलाई दिशा निर्देश गर्न सक्ने पार्टी बनेको जनाउँदै आगामी दिनमा अझै सशक्त पार्टी बनेर मुलुकको विकास र समृद्धिका लागि काम गर्ने जनाउनु भयो ।
समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले संगठन अहिले सानो देखिए पनि संगठनको बिस्तार गर्दै जाने र आगामी दिनमा संगठनको गुणात्मक रुपमा बिकास हुने बताउनु भयो । ‘हामीले छोटो समयमा नै संगठनलाई बलियो र दरिलो बनाएका छौं, अब सबै साथीहरुलाई क्रियाशील बनाएर अझै मजबुत संगठन बनाउँछौं’, उहाँले भन्नुुभयो । प्रेस चौतारीमा आस्था राख्ने धेरै पत्रकारहरु अझै पनि समाजवादी प्रेस संगठनमा आबद्ध हुन खोजीरहेको जनाउँदै सबै पत्रकारहरुलाई संगठनमा गोलबद्ध गरिने बताउनु भयो ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीयय सदस्य बाबुलाल यादव, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, नेपाल प्रेस युनियन, रुपन्देही अध्यक्ष रेखा भुसाल, होटल एसोसियसन अफ नेपालका केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लवका निवर्तमान अध्यक्ष नरेश केसी लगायतले बोल्दै पत्रकारहरुले पेसागत धर्मलाई ख्याल गरी समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए ।
मुलुकको वर्तमान अवस्थालाई ध्यानमा दिएर पत्रकारितामार्फत् सरकारलाई झकझकाउन आग्रह गरेका थिए । समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हृदयराम भुसालको अध्यक्ष, संगठनमा प्रदेश उपाध्यक्ष शंकरप्रसाद पाण्डेको स्वागत र कोषाध्यक्ष प्रकाश न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।