काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिनुभएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दिगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सहितको रोजगारी र आर्थिक समृद्धिका लागि नयाँ वर्ष २०८० उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नु भएको छ ।
मुलुकको राष्ट्रियता र जनहितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्नेमा उनले जोड दिनुभएको छ ।
‘राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलका बीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्छ,’ अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ।
सामाजिक न्याय, समानता, समावेशी र सहभागिता मूलक प्रतिनिधित्वका लागि अद्यावधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व उल्लेख गर्दै सन्देशमा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणका माध्यमबाट जनताको हितमा काम गर्नुपर्ने बताउनु भयो ।
आफ्नो पार्टीले कम्युनिष्ट आन्दोलनमा मूलधारको नेतृत्व गर्दै जनताको समृद्धिको चाहनालाई पूरा गर्न पार्टी क्रियाशील रहेको अध्यक्ष नेपालले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
नेपालले नयाँ वर्षको सन्दर्भमा देश- विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नु भएको छ ।