काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधव कुमार नेपालले शिक्षकहरू समाज र सिंगो व्यवस्था परिवर्तनका संवाहक भएको बताउनु भएको छ ।
मंगलबार काठमाडौंमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले शिक्षकले असल कुराको परिपालना गराउन, खोज र अनुसन्धानका लागि पथ प्रदर्शकको भूमिका निर्वाह गर्नु पने बताउनु भयो ।
शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान पुर्याउन सुझाव दिँदै अध्यक्ष नेपालले , अधिकारको विषय उठे पनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको भन्दै त्यस तर्फ सजग र सतर्क हुन आग्रह गर्नु भयो ।
उहाँले शिक्षकहरूले नेपाली कम्युनिष्ट आन्दोलनमा विगत र वर्तमानमा खेलेको भूमिकाको प्रशंसा गर्दै शिक्षकहरूको हातमा सिंगो समाज जनता बालकालिका र युवाहरूको भविष्य जोडिएको भन्दै समाजका मूल्य मान्यतालाई कसरी र कता लैजाने भन्ने विषय प्राज्ञिक क्षेत्रसँग जोडिएका पक्षहरूसँग भएको बताउनु भयो ।
राज्यले प्राविधिक व्यवसायीक र सीपमूलक शिक्षा प्रणालीको व्यवस्था गर्नुपर्ने भन्दै समाजमा विद्यमान छुवाछुत भेदभाव हेला हिंसा जस्ता कुरीति कुसंस्कार जन्य समस्याहरू समाधानको लागि शिक्षकहरुको अहम भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने भन्दै शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन राज्यले विशेष लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले कुनैपनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने भन्दै सबै बालबालिकाले कम्तिमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । ‘शिक्षालाई अत्याधिक महत्व दिएर यसलाई अगाडी बढाउनका लागि शिक्षकहरुको मर्यादालाई, शिक्षकको जिवनस्तरलाई राम्रो बनाउनका लागि राज्यले विशेष लगानी पनि गर्नुपर्छ’, उहाँले भन्नु भयो ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गगठनका अध्यक्ष भिम बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरिदेव यादवले गर्नु भएको थियो ।