काठमाडौं । नेकपा एकीकृत समाजवादी अन्तर्गतको सामाजिक सांस्कृतिक अध्ययन मञ्चको सचिवालय बैठक तथा विचार गोष्ठी सम्पन्न भएको छ ।
पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको सामाजिक सांस्कृतिक अध्ययन मञ्चले पदाधिकारीहरूलाई बुधबार भौतिकवाद र आध्यात्मवाद सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो । कार्यक्रममा सांस्कृतिक फाँटका नेता तथा पदाधिकारीहरूलाई अनुशासन सम्बन्धी प्रशिक्षण दिइएको मञ्चका प्रमुख डा. वालचन्द्र मिश्रले बताउनु भयो ।
प्रशिक्षणमा दर्शनशास्त्री गोपीरमण उपाध्यायले भौतिकवाद के हो ? आध्यात्मवाद के हो ? भौतिकवाद र माक्सवादलाई कसरी समायोजन गरेर अगाडि लान सकिन्छ ? समाजमा आध्यात्मवादले कसरी जरो गाडेको छ ? जस्ता विषयमा विस्तृत व्याख्या गर्दै प्रशिक्षण गर्नुभयो । उपाध्यायले ५ प को अवधारणा सुनाउँदै पुर्पुरो, पुर्नजन्म , प्रलोभ, परमेश्वर र परम्पराले समाजलाई अन्धविश्वास तर्फ डोर्याएको बताउनुभयो ।
प्रशिक्षणमा जनसांस्कृतिक महासङ्घका अध्यक्ष कृपाराम धमलाले पार्टीलाई उच्च स्थानमा पुर्याउन र अनुशासनमा डोर्याउन जनसांस्कृतिक महासङ्घको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले पार्टीमा पद भन्दा पनि क्षमता प्रमुख हुने धारणा व्यक्त गर्नुभयो ।
प्रशिक्षणमा भाषा आयोगमा सदस्य नियुक्त हुनुभएका डा. पुष्करराज भट्ट र नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ नियुक्त हुनुभएका ईश्वर बुढाथोकीलाई सामाजिक, सांस्कृतिक अध्ययन मञ्चद्वारा सम्मान गरिएको थियो ।
नेकपा ( एकीकृत समाजवादी ) ले सञ्चालन गरेको संगठन सुदृढिकरण अभियान अन्तर्गत राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको सामाजिक सांस्कृतिक अध्ययन मञ्चले नेपालको सचिवालय बैठक तथा विचार गोष्ठी सम्पन्न भएको हो ।