काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गनुभएको छ ।
राष्ट्रियसभाको मङ्गलबारको बैठकमा समय लिएर बोल्दै मन्त्री भुसालले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित भएको बताउनु भयो ।
‘मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ, तर मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल हुनुपर्छ’, उहाँले भन्नुभयो , ‘आवश्यक मलको ७५ प्रतिशत बढीको टेन्डर भइसकेको छ, केही आउने क्रममा छ । यो हाम्रो हातमा मात्रै छैन, विदेशको यातायात व्यवस्थाले कति सहयोग गर्छ भन्ने कुरामा निर्भर गर्छ ।’
आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकाले आफूले सांसदसँग सुझाव मागेको बताउनुभयो । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयको नेतृत्व आफूले गरेको भन्दै उहाँले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रमा देखिएका समस्यामा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘लामो समयदेखि समयमै मल आपूर्ति नहुने समस्या समाधान कसरी गर्न सकिएला ? ठूलो प्रश्न खडा भएको छ’, उहाँले भन्नुभयो , ‘मल अभावमा कृषियोग्य जमिन अहिले बाँझो छ, त्यसलाई पुनः खेतीयोग्य जमिनमा परिणत गर्नुपर्छ ।’ उहाँले कृषिजन्य उत्पादनलाई बजारसँग जोड्नु आवश्यक रहेको बताउनु भयो ।
मन्त्री भुसालले कृषिलाई उत्पादनमा आधारित उद्योगको निर्माण कसरी गर्ने, कृषिलाई कसरी आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्ने भन्ने विषय ज्वलन्त उठेको बताउनु भयो । उहाँले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सांसदको सुझाव आफूले चाहेको र प्राप्त सुझावका आधारमा मात्रै आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।