झापा । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिक आन्दोलनमा निर्णायक भूमिका आफूहरूले खेलेको बताउनु भएको छ ।
शुक्रबार नेकपा एकीकृत समाजवादी झापाले आयोजना गरेको २ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाली राजनीतिको कोर्ष परिवर्तनमा आफूहरूको भूमिका उल्लेख्य रहेको बताउनु भयो । उहाँले संविधान र प्राप्त उपलव्धिको रक्षाको लागि पनि आफूहरूले निर्णायक भूमिका खेलेको बताउनु भयो ।
अध्यक्ष नेपालले मुलुकको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याउनु भयो। “देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ”, भन्दै अध्यक्ष नेपालले “त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।” भन्नुभयो ।
मुलुकको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको चर्चा गर्दै उहाँले नेता-कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिनुभयो । पुराना पुस्ताबाट अब युवापुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै युवापुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई सुझाव दिनुभयो ।
पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष घनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिने कार्यतालिका छ । शनिबार वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज पौडेलले प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिनुभयो ।