मनोज भुसाल
फिनल्यान्ड । फिनिश कम्युनिष्ट पार्टीका पूर्व महासचिव तथा पोलिटब्युरो सदस्य हेएक्कीकेतोहार्यु र नेकपा ( एकीकृत समाजवादी ) का स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद साहबीचफिनल्यान्डको राजधानी हेलसिन्कीमा भेटवार्ता भएको छ। शनिबार भएको भेट करिब १ घण्टा १५ मिनेट लामो भएको बताईएको छ ।
उक्त भेटमा प्रवासी नेपाली एकता मञ्च फिनल्यान्डका अध्यक्ष मनोज भुसाल र सचिव कृष्ण चौहानको पनि उपस्थिति रहेको थियो । छलफलमा फिनिश कम्युनिष्ट पार्टी र नेकपा ( एकीकृत समाजवादी ) बिच पार्टी संरचना र सङ्गठन निर्माणको विषयमा अनुभव आदान प्रदान , पुँजीवादी विश्व व्यवस्थामा देखिएको समस्या, विश्वव्यापी कम्युनिष्ट आन्दोलनका चुनौतीहरू र त्यसले लिनुपर्ने आगामी दिशा जस्ता विषयहरुमा छलफल भएको बताईएको छ ।
यस्तै उत्तरी युरोपमा नेटोको विस्तार र विश्वशान्तिमा त्यसले पार्न सक्ने दूरगामी असर, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभूत सेवाको विकास र विस्तारमा फिनल्यान्डको अनुभव आदान प्रदान ,युरोपियन वामपन्थी आन्दोलनमा नवउदारवादी प्रभाव, नेपाली वामपन्थी आन्दोलनको उतारचढाव, नेपाली कम्युनिष्ट पार्टीहरू र तिनले नेतृत्व गरेका सरकारमा नवउदारवादी पुँजीवादी प्रभाव, युरोपमा रहेको वामपन्थी पार्टीहरूको फोरमको अनुभव र ग्लोबल कम्युनिष्ट नेटवर्कको आवश्यकता बारे चर्चा, फिनल्याण्डमा रहेका प्रवासी नेपाली र तीनका पक्षमा फिनिस कम्युनिष्ट पार्टीले गर्न सक्ने सहयोगका बारे छलफल भएको बताईएको छ ।
फिनिश कम्युनिष्ट पार्टी र नेकपा ( एकीकृत समाजवादी ) बिच दिगो सम्बन्ध स्थापित गर्ने, भविष्यमा उच्चस्तरीय राजनीतिक भेटघाटको प्रयत्न गर्ने, र दुबै पार्टीको महाधिवेशन हुँदा एक अर्काका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न अधिकतम प्रयास गर्ने सहमति भएको बताईएको छ ।