झलनाथ खनाल
यतिबेला हाम्रो पार्टीका भारेमा पार्टीभित्र र बाहिर विभिन्न प्रकारका भ्रमपूर्ण प्रचारवाजीहरु चलिरहेका छन् । हाम्रो पार्टी भित्रै पनि विभिन्न खाले चिन्तन प्रवृत्तिहरूले टाउको उठाइरहेका छन् ।
पहिलो खाले चिन्तन देखिन्छ ः अब हाम्रो पार्टी चल्दैन, यो राष्ट्रिय पार्टी पनि बनेन । त्यसैले यो पार्टी अघि बढ्न सक्दैन भन्ने चिन्तन । यो पलायनवादी र विसर्जनवादी चिन्तन हो । यदि हामी अहिले पार्टी जसरी चलिरहेको छ । त्यसरी नै चलिरहने हो भने यो पार्टी अझ बढी खुम्चिदै जान्छ र अन्त्यमा चल्न नसक्ने अवस्थामा पुग्छ । विगत डेढ वर्षको यात्राले त्यतैतिर संकेत गरेको छ । दोस्रो खाले चिन्तन देखिन्छ अब अलग ढंगले पार्टी चल्न नसक्ने हुनाले हामीले कि एमालेमा फर्किनुपर्छ कि माओवादी पार्टीमा विलय हुनुपर्छ ।
यो पनि अन्तिम विश्लेषणमा पलायनवादी र विसर्जनवादी चिन्तन नै हो । यो पार्टीले खाइरहेको धक्काबाट उत्पन्न निम्न पूँजीवादी हतासाबाट सिर्जित चिन्तनहरू हुन्। हामीले यस्ता गलत चिन्तनहरूको दृढतापूर्वक खण्डन गर्नुपर्छ । अहिले हाम्रो पार्टीको व्यापक पंक्ति नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने पक्षमा छ । देश र प्रवासमा रहेका पार्टी कार्यकर्ताहरूको पङ्क्ति हामीले विगतको संमिक्षा गर्दै पार्टीलाई व्यापक रुपले पुनर्गठित गरेर अघि बढाउनुपर्छ भन्ने पक्षमा छ । यो चिन्तन हाम्रो पार्टी पंक्तिमा रहेको मुख्य प्रवृत्ति हो ।
वर्तमान अवस्थामा समाजवादको स्पष्ट लक्ष्य लिएर अघि बढ्ने पार्टी हाम्रो पार्टी नै हो । यो पार्टीलाई वैचारिक र संगठनात्मक दुबै हिसाबले पुनर्गठित गर्दै नयाँ आट, हिम्मत र ठोस योजनाका साथ अघि बढ्नुको विकल्प छैन ।
यसका लागि हामीले निम्न कामहरु गर्दै अघि बढ्नुपर्छ ।
१.पार्टीको पुनर्गठनको काल देखि अहिलेसम्म अनुभवहरुको समग्र समीक्षा गरौ । आफ्ना गल्ती र कमजोरीहरूको निर्मम ढंगले उजागर गरौँ । हामीले गरेका सहि र गलत कुरालाई पहिचान गरौं ।
२. हामी के कारणले राष्ट्रिय पार्टी सम्म पनि बन्न सकेनौ?त्यसका वैचारिक राजनीतिक र सांगठनिक कारणहरु के हुन? तिनीहरूलाई पत्ता लगाउँ र त्यस्ता गल्ती कमजोरीहरु फेरि कहिल्यै नदोहोरिने संकल्प गरौं । त्यसका लागि त्यहि एजेण्डामा छलफल गर्न विशेष बैठक आयोजना गरौं ।
३. वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाली समाजका क्रान्ति र रूपान्तरणका निम्ति हाम्रो कार्यदिशा,नीति, सिद्धान्त र लक्ष्यका बारेमा धारणाहरु दस्ताबेजीय.रुपमा प्रष्ट पारौ
४. त्यहि कार्यदिशाका आधारमा पार्टीलाई वैचारिक र संगठनात्मक रुपले व्यापक पुनर्गठन गरौं र पार्टीलाई उद्देश्यमूलक ढंगले सक्रिय र गतिशील बनाऔ ।
५. पार्टी केन्द्रीय कमिटी ,प्रदेश कमिटी ,जिल्ला कमिटी ,पालिका कमिटीहरु, वडा कमिटी सम्मलाई व्यापक पुनर्गठन गरौ । छरिता,साना र कामकाजी कमिटीहरु निर्माण गरौ ।
६. पार्टीको कमिटी भित्र रहेका तर काम गर्न नसक्ने वा नचाहनेलाई उपयुक्त व्यवस्थापन गरौं ।
७. पार्टीमा माथिदेखि तलसम्म एक पद एक व्यक्ति प्रणाली कडाइका साथ लागू गरौँ र सबैलाई ठोस जिम्मेवारी मा केन्द्रित बनाऔ ।
८. पार्टीका कार्यशैलीमा व्यापक सुधार गरौं । क्रान्तिकारी कार्यशैलीलाई नयाँ स्तरबाट पुर्नस्थापित गरौ ।
९. पार्टीलाई आधारभूत वर्गका बीच लैजाऔँ र स्थापित गरौँ । भूमिहीन, गरिब, किसान, मध्यम किसान, श्रमिक वर्ग र निम्न पुँजीपति वर्ग तथा बुद्धिजीवीहरू बीच पार्टी कामलाई व्यापक रुपले केन्द्रीत गरौ । वर्ग आधारित पार्टी निर्माण गर्ने काममा सचेत रुपले लागौं ।
१०. सबै तहका पार्टी कमिटीका सम्मेलनहरू गरौ । सबै नेता र कमिटीलाई जनअनुमोदित भएर अघि बढ्ने वातावरण बनाऔँ । आजको यो एक हक प्रणाली, टीके प्रणाली र कृपा प्रणालीलाई अन्त गरौं ।
११. पार्टीको प्रचार कार्यलाई सबै मिडिया मार्फत व्यापक र प्रभावकारी बनाऔ । पार्टी मुखपत्र “समाजवाद लाई नियमित रुपमा प्रकाशित गरौं ।
१२. नेपाली कम्युनिष्ट आन्दोलनमा यतिबेला व्याप्त भइरहेको सत्ताबाद,कुर्सीबाद, पदवाद, पलायनवाद,लाभबाद, सम्झौतावाद, चाकडीबाद र कृपाबादका प्रबृतिहरुका विरुद्ध पार्टीव्यापी रुपमा वैचारिक संघर्ष र रुपान्तरणको अभियान सञ्चालन गरौं र पाटी पङ्क्तिलाई क्रान्तिकारी चेतना र दृष्ट्रिकोणले माथि उठाऔ ।
१३. नेपाली कम्युनिष्ट आन्दोलनमा यतिबेला हावी भइरहेको दक्षिणपन्थी औसरवादको विरुद्ध वैचारिक ‐सैद्धान्तिक खण्डन र आलोचनाको देशव्यापी आधी सिर्जना गरौ र सबै कम्युनिष्ट कार्यकर्ताहरुलाई दक्षिणपन्थी औसरवादको भ्रमबाट मुक्त पारौ ।दक्षिणपन्थी औसरबाद विरुद्धका एकपछि अर्को पुस्तिका र ग्रन्थहरु तयार पारौं र पार्टी पंक्तिलाई व्यापक प्रशिक्षण गरौं । पार्टीको विकास र विस्तारका निम्ति वैचारिक संघर्ष मुख्य कडी हो भन्ने कुरालाई सधै मनमा राखौँ ।
१४. पार्टीका सबै बर्गीय संगठनहरुलाई सक्रिय गतिशील र जीवन्त बनाऔ ।
१५. सवै वर्गीय संगठनहरुलाई निश्चित अवधिभित्र राष्ट्रिय सम्मेलनहरु सम्पन्न गर्ने र संगठनलाई संस्थागत रुपले अघि बढाउने वातावरण निर्माण गरौ ।
१६. युवा विद्यार्थीहरुको परिचालन गर्ने सिनियर र योग्य कमरेडहरूलाई जिम्मेबारी दिऔ र जिम्मेवारीपूर्वक संचालन गरौं ।
१७. पार्टीभित्र योजनाबद्ध रूपले प्रशिक्षणको अभियान तलैसम्म सञ्चालन गर्ने योजना बनाऔ।
१८. पार्टीको नेतृत्वमा वर्गीय संयुक्त मोर्चालाई व्यापक बनाएर अघि बढौं ।
२९. पार्टीभित्र हाम्रो लक्ष्य र कार्यक्रमका बारेमा जबज र समाजवादका बारेमा नै निकै भ्रमहरु रहेका छन् त्यसबारेमा पार्टीभित्र योजनाबद्ध रूपले बहस छलफलको आयोजना गरौ र सिद्धान्तिक प्रष्टता कायम गरौ ।
२०. नेपाली विशेषताको समाजबादको बारेमा हाम्रो धारणा प्रष्ट पारौ ।
२१ पार्टी कार्यकर्ताका निम्ति स्तर अनुसारको पाठ्यक्रम तयार गरौं र त्यसका आधारमा प्रशिक्षणको अभियान चलाऔ ।
२२.बहुआयमिक क्षेत्रबाट वर्गसंघर्षको विकास गर्नुपर्छ । राष्ट्रियताको सवाल, शोषण उत्पीडन विरोधी संघर्ष, महिला हिंसा बिरुद्धको संघषर्, विभेदका विरुद्धको संघर्ष, अन्धविश्वास बोक्सी डायनी विरुद्धको संघर्ष, आस्था परिबर्तन.विरुद्धको अभियान, वातावरणको रक्षाका निम्ति अभियान, किसानका हितहकका संघर्षहरु, किसानलाई मल,बिउ,बित्त प्रविधि बैज्ञानिक सेबा,बजार सेवा उपलब्ध गराउने संघर्षहरू अघि बढाऔ ।
२३. विभिन्न क्षेत्र क्षेत्रमा प्रचार अभियानहरु संचालित गरौँ र व्यापक जनता बीचमा पार्टीलाई पुराऔ ।
२४. हामीले हाम्रा प्रचार र संघर्षहरmलाई संसद भित्र र बाहिरबाट अझ संशक्त रmपले अघि बढाउनुपर्छ । संसदबाट जनता, राष्ट्र र देशका आवाजलाई जोडदार रुपले उठाउनु पर्छ । क्रान्तिकारी संसदबादको कार्यनीतिलाई संसदीय दलले दृढता र कुशलतापूर्बक लागु गर्नुपर्छ तब मात्र समाजबाद प्राप्तिका निम्तिको जनमत बनाउन सकिन्छ र पार्टीलाई पनि बलियो बनाउदै लान सकिन्छ ।
२५.यसरी हाम्रा आफ्नै कमजोरीहरुले गर्दा पार्टी पङ्क्तिमा सिर्जना भएका विभिन्न प्रकारका पलायनवादी चिन्तनहरु र प्रबृतिहरूको हामीले खण्डन गर्नुपर्छ । क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा पार्टीपंक्तिको चेतनालाई उन्नत धरातलमा उठाउनुपर्छ । सिंगो पार्टी पंक्तिलाई उद्देश्यमूलक ढंगले क्रियाशील र गतिशील बनाउनुपर्छ । पार्टी सदस्यता विस्तारको अभियान चलाउनुपर्छ । पार्टी कार्यकर्ता र कमिटीहरुको काम गर्ने गुणस्तरलाई उन्नत बनाउन पर्छ । संसद भित्र र बाहिरका कामहरुलाई कुशलतापूर्वक संचालन गदै देश र प्रवासबाट समेत पार्टीलाई सशक्त रुपले पुनर्गठन,विस्तार र सुदृढिकरणको बाटोमा अघि बढाउनुपर्छ । आजको चुनौतीपूर्ण घडीमा हामीले हिड्नुपर्ने बाटो यही हो ।
( शनिबार इटहरीमा पार्टीको मोर्चा संगठनद्वारा आयोजित एकदिने प्रशिक्षण तथा प्रदेश इन्चार्ज तथा अध्यक्ष, मोर्चा संगठनमा आबद्ध सबै तहका इन्चार्जहरुको सहभागिता रहेको भेलालाई सम्बोधनका क्रममा सम्मानित नेता खनालले राख्नु भएको मन्तब्य )