काठमाडौं । अखिल नेपाल महिला संघ ( समाजवादी ) को चौथो बैठक सम्पन्न भएको छ । सोमबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न बैठकले नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) को माघ २१-२२, मा ललितपुरमा सम्पन्न केन्द्रिय कमिटीको बैठकको निर्णय र यस अघि २०७९ पौष २४ गते पार्टी केन्द्रीय कमिटीबाट जारी असनि-३ बमोजिम जनसङ्गठनको पुनर्गठन गर्नु पर्ने जिम्मेवारी समेतलाई ध्यानमा राखी विभिन्न कार्ययोजना तयार गरेको छ ।
बैठकले संगठन निर्माणको लागि अखिल नेपाल महिला संघ ( समाजवादी ) ले महत्वपूर्ण उपलब्धि हासिल गरेको समीक्षा गर्दै संगठनको नियमित बैठक गर्ने, सङ्गठित नेता-कार्यकर्तालाई प्रशिक्षित गर्ने, महिला माथि समाजमा विद्यमान हिंसा र भेदभावको अन्त्यका लागि महिलाहरूलाई जागरुक बनाउने, सदस्यता प्रदान गर्ने,नविकरण गर्ने, संगठनको सदस्यता र कमिटीहरूको तथ्याङ्क अद्यावधिक गर्ने र संगठन परिचालनको कामलाई विशेष महत्वका साथ अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भएको समीक्षा गरेको छ ।
जस अनुसार आगामी ०८० ज्येष्ठ महिनामा अखिल नेपाल महिला संघ ( समाजवादी ) को राष्ट्रिय सम्मेलन आयोजना गर्ने ,०७९ चैत्र महिनामा अखिल नेपाल महिला संघ ( समाजवादी ) को प्रदेश सम्मेलनहरू आयोजना गर्ने ,०८० फागुन अखिल नेपाल महिला संघ ( समाजवादी ) को जिल्ला सम्मेलनहरू आयोजना गर्ने ,०७९ फागुन १५ गते सम्ममा अखिल नेपाल महिला संघ ( समाजवादी ) को गाउँ तथा नगर सम्मेलन आयोजना गर्ने निर्णय गरेको अनेमसंघ समाजवादीकी उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सावित्रा भुसालले बताउनु भयो ।
बैठकले अखिल नेपाल महिला संघ ( समाजवादी ) को सदस्यता वितरण कार्यलाई प्रभावकारी बनाउने र सोको तथ्याङ्क अद्यावधिक गर्ने , संगठनका सबै तहका समितिहरूले सम्मेलन अवधि सम्ममा अनिवार्य रूपले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, सबै समितिहरू र विभागहरूले आफ्ना सबै पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी र दायित्व तोक्ने र प्रत्येक महिना सम्बन्धित समितिमा बुझाउने व्यवस्था गर्ने, जन प्रतिनिधिहरूको लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने , महिला हिंसा भएका घटनामा जिल्ला तहको उपस्थिति हुने र पीडित पक्षमा लागेर आवश्यक सहयोग गर्ने , केन्द्रिय विभागहरूलाई पूर्णता दिने र बैठक राख्ने अखिल नेपाल महिला संघ (समाजवादी) को मुखपत्र र आगामी वर्षको लागि क्यालेण्डर प्रकाशन गर्ने जस्ता निर्णयहरु गरेको भुसालले बताउनु भयो ।
कार्यक्रममा संघकी कोषाध्यक्ष डा. सीता ढुङ्गानाले संगठनको आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सावित्रा भुसालले संघको आगामी कार्ययोजना पार्टीका केन्द्रीय सदस्य तथा अनेमसंघका सचिव गरीमा साहले समाजवादी महिला सम्मेलन सम्बन्धी अवधारणा र अध्यक्ष जयन्ती राईले संगठनको प्रतिवेदन पेश गर्नु भएको थियो ।
अखिल नेपाल महिला संघ ( समाजवादी ) की अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि पार्टीका अध्यक्ष माधव कुमार नेपाल सहित विशेष अतिथिहरु उपाध्यक्ष तथा पूर्व मुख्य मन्त्री राजेन्द्र पाण्डे
मोर्चा प्रमुख डा. विजय पौडेल , मोर्चा सह ईन्चार्ज भविश्वर पराजुली पार्टीका स्थायी कमिटी सदस्य कल्याणी खड्का , सचिव गरिमा साह महिला फाट सह ईन्चार्चहरु अनेमसंघ(समाजवादी )को केन्द्रीय पदाधिकारीहरु सहितसंघ तथा प्रदेश सभा माननीयहरुको उपस्थिति रहेको थियो ।
अनेमसंघका महासचिव रमा आले मगरले संचालन गर्नुभएको कार्यक्रममा संघ तथा प्रदेश माननीयहरुलाई सम्मान समेत गरीएको थियो ।