बुटवल चैत्र २
आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय निवार्चनमा अर्घाखाँची जिल्लामा ५ दलीय गठबन्धन कायमै रहने भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी स्थानीयसंगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।
केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर प्रतिगामी कदम चालेको निष्कर्ष सहित गठबन्धनबाटै चुनावमा जाने तयारी भएको हो । चुनावमा ५ दलीय गठबन्धनलाई निरन्तरता दिने वा नदिनेमा केन्द्रीय नेताहरुबीच मतभेद देखिएपनि जिल्लाका नेताहरुले भने एक भएर जाने निर्णय गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले फेरि पनि एमालेले प्रतिगामी कदम चाल्ने खतरा रहेकाले त्यसलाई रोक्न गठबन्धन कायम राख्ने निर्णय भएको बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसम्म सत्ता गठबन्धनमा आवद्ध पांच दलबीच तालमेल हुने सहमति भएको बताए ।
एमालेले अन्य दललाई मानमर्दन गरेर दम्भ र अहंकार प्रदर्शन गरेकाले सत्ता गठबन्धनलाई चुनावसम्म कायम गर्नुपरेको श्रेष्ठले बताए । माओवादी केन्द्रकी छमकुमारी खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता र तानशाहीको बिरुद्धमा चुनावी तालमेल गर्ने सहमति भएको बताइन् ।
गठबन्धन गरेर चुनावमा जाँदा सबै दलको समानुपातिक प्रतिनिधित्व हुने नेताहरुको भनाइ छ ।