काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक संकट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताले देशको अर्थतन्त्र गम्भीर संकट तर्फउन्मुख भइरहेको र जनतालाई बाँच्न समेत धौधौ भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।
एकीकृत समाजवादीले जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ । मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको एकीकृत समाजवादीको निष्कर्ष छ। यस्तै, विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिएको छ ।
एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिवाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरेको छ ।
यसैगरी सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख गरेको छ ।